सोमबार, १५ पुस २०८१
काठमाडौँ। अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । जर्जियामा अवस्थित आफ्नै घरमा उनको निधन भएको हो ।
उनि मेलेनोमासहित अन्य स्वास्थ्य समस्याले ग्रसित थिए र प्यालिएटिभ केयरमा एक वर्ष भन्दा बढी लामो समयको संघर्षपछि उनको निधन भएको हो । कार्टरकी श्रीमती रोजालिनको मृत्यु पनि जम्मा ८ महिना मात्र भएको थियो ।
सन् १९६२ मा जर्जियामा राज्य सिनेटरको रूपमा कर्टरले राजनीतिमा पाइला हालेर १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए ।
ह्वाइट हाउस छाडेपछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवद्र्धन गतिविधिहरूमा समर्पित गरे । सन् १९८२ मा, आफ्नी पत्नीसँग उनले कार्टर सेन्टर स्थापना गरे । कार्टर सेन्टर, मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । जुन कार्यले उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलाएको थियो ।
नेपाल र नेपालीप्रति कार्टरको बिशेष लगाव थियो। उनको कार्टर फाउन्डेसनले २००४ मै नेपालमा कार्टर सेन्टर स्थापना गरी अनवरत रूपमा काम गर्दैआएको छ। यसले नेपाललाई सशस्त्र द्वन्दबाट बाहिर ल्याइ शान्ति स्थापना गर्न र लोकतन्त्र मजबुत बनाउन अहम् योगदान गरेको थियो । फाउन्डेसनले नेपालमा सन् २००८ र सन् २०१३ का भएका संविधानको सभाको चुनावको पर्यवेक्षण गरेको थियो। सन् २०१३ को चुनाव पर्यवेक्षण गर्न राष्ट्रपति कार्टर आफैं नेपाल पुगेका थिए। त्यतिबेला कार्टर फाउण्डेसनले चुनावी पर्यवेक्षणका लागि ३१ देशका ६६ पर्यवेक्षक पठाएको थियो। उनीहरूले ३१ जिल्लाका ३३६ मतदान केन्द्रमा पर्यवेक्षण गरेका थिए।
यसैगरी हृयाबिट्याट फर हृयूम्यानिटि अन्तर्गत कार्टर सेन्टरले नेपालामा घरबार बिहिनहरूलाई थुप्रै घर बनाएर बसोबास गराएका थिए।
पटक पटक नेपाल भ्रमण गरेर नेपालमा शान्तिबहाली र लोकतन्त्रलाई मजबुत गर्न योगदान दिएका कार्टर नेपाल र नेपालीका सच्चा हितैसी हुन्। यसैगरी नेपालमा कार्टर हस्पिस केयरद्वारा पनि उनले मानवताको सेवा गरेका छन्।
Source :www.khabardainik.com
Discussion about this post