मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति,आन्तरिक तथा बाह्य आर्थिक एवं वित्तीय अवस्था तथा समिष्टगत आर्थिक परिदृष्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रमासिक समीक्षा गरिएको जनाएको छ।
राष्ट्र बैंकले गत साउनमा सार्वजनिक मौद्रिक नीतिका कार्यदिशालाई नै निरन्तरता दिएको जनाएको छ । ‘विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ,’ समीक्षा प्रतिवेदनमा भनिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमै यथावत राखिएको समेत जनाएको छ । त्यस्तै ब्याजदर करिडोरअन्तर्गतको तल्लोसीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ ।
त्यसैगरी राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा भएको वृद्धिलगायतका कारण २०८१ असोजमा कायम विदेशी विनिमय सञ्चितिले १४.६ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली बढेकाले संख्या वृद्धि भई विप्रेषण आप्रवाहमा समेत वृद्धि हुने अनुमानका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि विदेशी विनिमय सञ्चिति सुविधाजनक रहने राष्ट्र बैंकको अनुमान छ ।
मौद्रिक नीतिको प्रतिक्षामा रहेका लगानीकर्ताको भने यस मौद्रिक नीति प्रति मिश्रित धारणा रह्यो। नीतिमा कूनै नराम्रो र बजारलाई असर पुर्याउने कूनै नकारात्मक नीति नआएकोले बजार आफ्नो गतिमा अगाडी बढ्ने कुरामा लगानीकर्ता ढुक्क रहेको देखियो।
Discussion about this post