साउन ६, २०८१ आइतबार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकबाट १८८ अर्थात् दुईतिहाइ सांसदको विश्वासको मत पाएका छन् र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा भने १ मत परेको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा २७५ सदस्यमध्ये २६३ जना सांसद उपस्थित थिए र प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी पेश गरेको प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए।
नेकपा एमालेका अध्यक्ष ओलीलाई १८८ मत पुर्याउन नेपाली कांग्रेस, एमाले,अशोक राई नेतृत्वको जसपा, जसपा नेपाल, जनमत र लोसपालगायतले विश्वासको मत दिए। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।
यसैगरी आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति पनि बाचन गरेर संसदलाई जानकारी गराएका थिए ।
उनले सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व आफूले गर्ने र त्यसपछि २०८४ मंसिरको आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको बताए।
Discussion about this post