६ फागुन २०८०, आइतबार
खजुरा । बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने अध्ययनरत दुई विद्यार्थी मिलेर अटोचार्ज विद्युतीय मोटरसाइकल बनाएका छन् ।
विद्यालयका शिक्षक कर्णबहादुर बस्नेतले जानकारी दिए अनुसार १७ वर्षीयद्वय ऋतिक खड्का र अरुण रानामगर मिलेर अटोचार्ज हुने विद्युतीय बाइक निर्माण गरेको जानकारी दिए ।
पाँच दिनसम्मको कडा मिहिनेतपछि मोटरसाइकल तयार भएको अरुणले बताए। उक्त प्रोजेक्टको लागि स्कुलले २० हजार रुपियाँको आर्थिक बन्दोबस्त गरेपछि उनीहरुको प्रोजेक्ट सफल भएको कुरा पनि बताए ।
उनीहरुले अटोचार्ज विद्युतीय मोटरसाइकलमा लागि साइकलका दुई वटा पाङ्ग्रा, कार्टुनको कभर, लिथियम, मोटर र कन्ट्रोल बक्स प्रयोग गरिएको बताए साथै दुई वटा १२ भोल्टेजका ब्याट्री, कभर, डिजाइन कलर आफूहरुले नै निर्माण गरेको जानकारी दिए ।
एकपटक विद्युत् चार्ज गरेपछि ८ किलोमिटरसम्म गुड्न सक्ने क्षमता भएको उक्त मोटरसाइकलमा सोलार प्लेटसमेत जडान गरिएको छ । घाम लागेको समयमा सोलारको प्लेटबाट अटोमेटिक ब्याट्री चार्ज हुने उनीहरुको दाबी छ ।
सानैदेखि पढ्नमा तेज ऋतिक र अरुणले ११ औं अभिभावक दिवसको अवसरमा उक्त बाइक बनाएर प्रदर्शनी गरेका थिए र सो प्रोजेक्ट पछि गुरुहरु, साथीहरु र अविभावकको हौसला पाएको उनीहरुको भनाई छ ।
www.khabardainik.com
Discussion about this post