२९ पुस २०८०, आइतबार
काठमाडौँ ॥ भरतपुरमा चलेको दुईदिने सातौँ राष्ट्रिय चेपाङ भेलाले चेपाङ बसोबास क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ ।
संरक्षित क्षेत्रमा चिउरी र चमेरोबिचको परम्परागत सांस्कृतिक सम्बन्ध बचाउन पनि माग गरिएको छ । “चेपाङ, चिउरी र चमेरोबिचको परम्परागत सांस्कृतिक सम्बन्धलाई स्थापित गर्न चेपाङ, चिउरी र चमेरो पकेट क्षेत्रमा कोरिडोरको व्यवस्था गरियोस्,” घोषणा पत्रमा उल्लेख छ ।
घोषणापत्रमा चेपाङ बाहुल्य रहेको क्षेत्रलाई राष्ट्रियकरण गरिएको, चेपाङको भूमिलाई राष्ट्रियकरण गरिएको, चेपाङ बसोबास गरेको क्षेत्रमा जथाभावी ढुङ्गा खानीको अनुमति दिएर चेपाङको घरबास उठाउने कार्य भइरहेको बिषयलाई पनि उठान गरिएको छ ।
चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको पर्व न्वागी (छोनाम) भदौ २२ लाई राष्ट्रिय पर्वका रूपमा घोषणा गर्न भेलाले माग पनि गरेको छ ।
नेपालको संविधान अनुसार कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकारको सुनिश्चित, पहिचानको संरक्षण, आरक्षण कोटाको व्यवस्था, चेपाङ बालबालिकालाई १२ कक्षासम्म निःशुल्क छात्रवाससहितको अध्यापनमा पनि घोषणापत्रमा जोड दिइएको छ ।
www.khabardainik.com
Discussion about this post