पुस ६, २०८० शनिवार
नेपाली खेलकुदको संस्थागत विकास सुरु भएको करिब आठ दशक पुग्न लाग्दा पहिलो पटक खेलकुद बीमालेख जारी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा यो सम्भव भएको हो ।
राखेप सदस्यसचिव टंकलाल घिसिङले २०७८ सालमा मंसिर १४ गते पदाभार सम्हालेकै दिन खेलकुद बीमालेखको सुरुवात गर्ने घोषणा गरेका थिए।
विश्वभर धेरै राष्ट्रमा खेलाडीहरूको मनोबल बढाउने मद्दत गर्ने खेलकुद बीमालेख भए पनि नेपालमा भने यसको सुरुवात हुन सकेको थिएन। त्यसकारण कयौँ खेलाडी घाइते भएपछि आफ्नो खेल करियर बिट मार्न बाध्य हुँदै आएका घटना पनि नेपाली खेलकुदमा छन्।
खेल्ने क्रममा हुने चोटपटकदेखि ठूला दुर्घटनासमेतको जोखिम न्यूनीकरणका लागि बीमासम्बन्धी नीति आवश्यक हुन्छ। खेलाडी तथा खेलकर्मीहरुको पूर्णरूपमा सुरक्षा गर्ने उद्देश्यका साथ खेलकुद बीमालेख जारी भएको छ। राखेप सदस्य सचिव घिसिङले बीमालेखले खेलाडीहरूमा आत्माविश्वासका साथ खेल्नसक्ने वातावरण बढाउने धारणा राखे।
बीमालेखको खेलहरूको वर्गीकरण मुख्य तीन प्रकारमा गरेको छः
न्यून जोखिमः टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडिविल्डिङ र स्क्वास
सामान्य जोखिमः ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथ्लेटिक्स, फेन्सिङ, जुडो, जिम्न्यास्टिक, ह्यान्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती साइक्लिङ
जोखिमयुक्तः मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्स, र्याफ्टिङ एन्ड क्यानोई, क्वालाइविङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउन्टेन रनिङ, आइस हक्की एण्ड अल्पाइन स्पोर्ट्स वाटर स्पोर्टस, रग्बी, प्याराग्लाइडिङ र फुटबल
साथै दुर्घटनाका कारण तत्काल वा १८३ दिनभित्र निधन भएमा क्षतिपूर्तिको व्यवस्था पनि गरिएको छ।
राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा पनि बीमालेखअन्तर्गत समावेश हुने राखेप सदस्यसचिव घिसिङको भनाइ छ। राखेपले घटना भएको ३० दिनभित्र जानकारी गराउने पर्ने बीमालेखमा उल्लेख रहेको जनाएको छ।
www.khabardainik.com
Discussion about this post