पुस १, २०८० आइतबार
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ ।
निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो ।
भरतपुर महानगरपालिका–६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार केन्द्रमा बाघ देखाउन लागिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सकेसम्म सन् २०२४ जनवरी १ तारिखबाट नै पर्यटकका लागि बाघ देखाउने तयारी गरिएको छ । बन्दै गरेको खोर र मचान सम्पन्न गर्न दुई चार दिन ढिलो भए पनि पुस महिनाभित्र नै बाघ देखाउने तयारी छ ।
गणेशप्रसाद तिवारी अनुसार “अब यहाँ आउने पर्यटकलाई बाघ हेर्न धेरै दिन कुर्नुपर्दैन ।” निकुञ्जले रु ५० लाखमा बाघका लागि पक्की खोर बनाउँदै छ । भरतपुर महानगरपालिकाले अर्को रु ५० लाख थप गरेर सडक र दुई मचान घर बनाउँदै छ । बीस हजारी ताल व्यवस्थापन बोर्डले टिकट काटेर बाघ देखाउने व्यवस्थापन हेर्दैछ । टिकटकबाट उठेको पैसाले बाघको पालनपोषण गरिने छ ।
मुख्यतया भारत, नेपाल र बङ्गलादेशको रैथाने बाघको उपप्रजाति हो पाटे बाघ । यो बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छ। घांसेमैदान देखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमी आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओशीला दलदलहरूमा समेत बाघले आफ्नो वासस्थान बनाएको हुन्छ ।
www.khabardainik.com
Discussion about this post