१८ मंसिर, २०८० ॥ सोमवार
काठमाण्डौ l प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताएका छन्।
संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मोक्तमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएपछि दिएको प्रतिक्रियामा उनले सो सम्मेलन नेपालको हितमा रहेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले मङ्सिर १४ गते अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका काम कारबाही, कठिनाइ र चुनौतीलगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवं प्रभावकारीरूपमा प्रवाह गर्न निर्देशन दिएको बताए।
संयुक्त राष्ट्रसङ्घका महासचिवसमेत सहभागी भएकाे उक्त कार्यक्रममा प्रधानमन्त्रीले नेपाललगायत अति कम विकसित मुलुकका विपद् र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए। नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गराएकोमा आफूले संयुक्त राष्ट्र सङ्घका महासचिवको प्रशंसा गरेकोसमेत प्रधानमन्त्रीले जानकारी दिए।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग बेलायतका विदेश राज्यमन्त्री एन्ड्रियु मिचेलले शिष्टाचार भेट गरेका थिए। सो भेटका अवसरमा नेपालबेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयलगायतमा कुराकानी भएको थियो। प्रधानमन्त्री दाहालले भ्रमणसम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई धन्यवाद दिए।
मङ्सिर १३ गते राति ९ बजे युएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका हुन् ।
www.khabardainik.com
Discussion about this post