कात्तिक २५, २०८० ॥ शनिबार
कर्णाली । दिनप्रतिदिन बढ्दो जाडोका कारण खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात बिताइरहेका भूकम्प पिडित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ ।
चिसोको कारण ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् । वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो ।
यसैगरी दल्ली नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिए । उनले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक १५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ ।
भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी संकट बढेको नगरप्रमुख रावतले बताए । “स्थानीयहरु नदीको दूषित पानी खान बाध्य छन्”, उनले भने, “अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुलास्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ ।”
नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पीडितका आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागि परेको बताए । “एकैपटक सबै कुरा गर्न गाह्रो छ तथापि प्रतिपरिवार एउटा त्रिपाल र कम्बल दिएका छौँ”, उनले भने । एक/एक थान त्रिपाल र कम्बलकै साहारामा रात कटाउनुपर्दा सिरेठो जाडोले ज्येष्ठ नागकि, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको उनको भनाइ छ ।
Discussion about this post