असोज ४, २०८० ll बिहिबार
काठमाडौँ- नेपाल-भारत विद्युत् आदान प्रदान सहमति अनुसार आर्थिक वर्ष ८०/८१ को दुई महिनामा पाँच अर्ब त्रिचालिस करोड एकतिस लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ । दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।
साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत बिक्री दर क्रमश: ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए ।‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौं, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौं ।’
श्रोत :खबरदैनिक
Discussion about this post