बुधबार, साउन १७, २०८०
चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।
बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशयआसपासको क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।
राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन् ।
वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै, उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।
बाढीपहिरोमा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । राजधानीका १ लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकोप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै, उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएको बताइएको छ ।
श्रोत : खबरदैनिक
Discussion about this post