२०८० साउन ८, सोमबार
काठमाडौं : बूढानीलकण्ठस्थित भाडाको एउटा घरमा विश्व खाद्य संगठन कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ घर भइ काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका ९ घर भइ काठमाडौँ बूढानीलकण्ठ नगरपालिका ५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिलाबहादुर भोलोन रहेका छन्।
बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरु खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड समेत बनाइ ठगी गरेको खुल्न आएको छ।
उनीहरुले विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छापेर ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरुलाई भक्तपुरबाट पक्राउ गरेको हो।
उनीहरूको साथबाट नगद २ लाख , नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप १ थान तथा लेटर प्याड ३ थान, फाइल १ थान, हाजरी खाता १ थान, ह्वाइट बोर्ड १ थान, बोर्ड नेमप्लेट, टेवल नेमप्लेट, घरभाडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरु, विभिन्न फर्निचरका सामानहरु, प्रिन्टर ४ थान, कम्प्युटर ४ थान र खरिद आदेश प्राप्त भएको कागजसमेत प्रहरीले बरामद गरेको छ।
उनीहरु उपर ठगीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न फरार अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ।
Discussion about this post