२०८० असार २४, आइतबार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो दाँगका सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।
राणाले उक्त अडिओमाथि छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन्। उनले उजुरीमा ‘मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसले, कसरी र के उद्देश्यले रेकर्ड गरेका हुन्? उक्त अडिओका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गरियोस्’ भनेर लेखेकी थिइन्।
त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ता कडायतले आरजुले नै आफूले साइबर ब्यूरोमा दिएको निवेदनबारे के भइरहेको छ जानकारी दिन माग गर्दै निवेदन दिएको बताए। सोहि अनुसार प्रहरीले उजुरी छनबिनको प्रगतिको विवरण पेश गरेको छ l
Discussion about this post