निर्वाचन आयोगले आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको बताएको छ। प्रतिनिधि सभा सदस्य रिक्त भएपछि चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन भएको हो।
आइतबार बिहाजन १० बजेबाट साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण भएको आयोगले बताएको छ।
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ। जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएको छ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ।
Discussion about this post