बुधबार, ६ वैशाख २०८०
सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान कार्यक्रम सञ्चालन गर्दैैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । डा विवेकले बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औसधि खुवाऊन आग्रह गरेका छन l
प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गर्दै भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाउन आग्रह गरिएको छ l
विश्वका २५ करोडभन्दा बढी बालबालिकाभिटामिन ‘ए’ को कमीबाट पीडित छन् । नेपाल ती ६० देशमध्ये एक हो, जहाँ यो कमीले जनस्वास्थ्यमा ठूलो समस्या निम्त्याएको छ । नेपालमा हरेक वर्ष भिटामिन ‘ए’ को कमीका कारण ९ हजार बालबालिकाको मृत्यु हुने गरेको छ भने २ हजार ५ सय बालबालिका स्थायी रुपमा दृष्टिविहीन हुने गरेका छन् ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो ।
भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताए । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।
Discussion about this post