शनिबार, चैत ४, २०७९
बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको नागरिक लगानी कोष स्थापनाको ३३ औँ वर्षमा प्रवेश गरेको छ ।
कोषले हालसम्म रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको छ र कोषको खुद कोष मौज्दात रकम रु दुई खर्ब छ अर्ब १९ करोड छ ।
हालसम्म मुद्दती निक्षेपमा रु एक खर्ब छ अर्ब २६ करोड, धितोपत्रमा रु २८ अर्ब २६ करोड १३ लाख, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा रु ४५ अर्ब ९२ करोड १५ लाख र समकालीन कर्जामा रु २२ अर्ब ६९ करोड ८० लाख लगानी गरेको कोषले जनाएको छ ।
पुस मसान्तसम्ममा अधिकृत पुँजी र जारी पुँजी समान रु आठ अर्ब रहेको कोषको चुक्ता पुँजी रु चार अर्ब २५ करोड १० लाख रहेको छ ।
नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै, राष्ट्रिय बिमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ ।
लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बिमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रमको कार्यान्वयन गरिरहेको जनाएको छ ।
Discussion about this post