१ चैत २०७९, बुधबार
यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् ।
यस पटक त्रिभुवन विश्वविद्यालयले आचारसंहिता बनाएर निर्वाचनको प्रचारप्रसारका लागि भित्तेलेखन, पर्चा वितरणलगायतका गतिविधिमा रोक लगाएको छ भने उमेर हदको व्यवस्था गरिएको छ ।
यस पटक स्ववियु निर्वाचनमा पनि सरकार निर्माणमा गठबन्धन गरेका पार्टीको शीर्ष नेतृत्वको सिको गर्दै विद्यार्थी सङ्गठनहरू गठबन्धन नै गरेर अघि बढेका छन् । गठबन्धनमा विशेषगरी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भागबन्डा गरेका छन् ।
विद्यार्थी भर्नासम्बन्धी विवादका कारण आधा दर्जन आङ्गिक क्याम्पसको निर्वाचन अनिश्चित बनेको छ। उपत्यकाको त्रिचन्द्र क्याम्पस तथा रत्नराज्यलक्ष्मी क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन भने पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस, अमृत साइन्स क्याम्पसलगायतमा पनि समस्या छ। एउटा विवाद साम्य हुनेबित्तिकै अर्को विवाद झिकेर निर्वाचन बिथोल्ने प्रयास भएका कारण यी क्याम्पसमा समस्या थपिएको त्रिविले जनाएको छ।
उपत्यका बाहिर पनि पोखराको पृथ्वीनारायण क्याम्पससहित अन्यमा पनि यस्तै विवादका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले बताउनुभयो।
त्रिविमा २०१८ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो। सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ। त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको हो।
स्ववियुको कार्यसमितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिन २८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।
Discussion about this post