काठमाडौं : दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार क्षतिको विवरण संकलनका लागि प्रहरी खटाइएको छ ।
भूकम्पमा परेर गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीय दिलबहादुर थापाले जानकारी दिए । एक घरमा ३५ वटा भेडा च्याङ्गा पुरिएको र गोठालो घाइते भएको जानकारी दिए ।
बाजुराकै बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका, हिमाली गाउँपालिकामा दर्जनौं घर चर्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। सदरमुकामका केही सरकारी कार्यालयका भवन पनि चर्किएका छन्। जिल्ला अस्पताल, सशस्त्र प्रहरी बलको क्याम्प, वडा प्रहरी कार्यालय, जिल्ला कारागारलगायत सरकारी कार्यालयका भवन चर्किएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।
हाल जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको र सम्पूर्ण विवरण आएपछि मात्र थप जानकारी प्राप्त हुने उनले बताए।
Discussion about this post