सिलगुडी, भारत । अमेरिकाबाट सञ्चालन हुने प्रसिद्ध कार्यक्रम जीवनको यात्राले नेपाली भाषा साहित्य तथा पत्रकारितामा योगदान पु-याएका स्रष्टा संगम इसाई जगतका वरिष्ठ साहित्यकार, पत्रकार एवं बाईबल शिक्षक रेभ. डा. छत्र सुब्बा ‘पावल’लाई सम्मान गरिएको छ ।
भारतको कालिङपोङमा जन्मिएर आफ्नो जीवनलाई सेवाकाईमा समपर्ण गरेका वरिष्ठ साहित्यकार सुब्बालाई आज भारतको सिलगुडीमा आयोजित एक कार्यक्रमकाबीच सम्मानस्वरुप एक लाख भारतीय रुपैँया साथै सम्मान पत्रद्धारा सम्मानीत गरिएको छ ।
नेपाल, भारत र अमेरिकाबाट इसाई क्षेत्रका पत्रकार तथा संचारकर्मी, साहित्यकार, लेखकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा डा. बिडी राईको प्रमुख आतिथ्यता र प्रेरित धुब्र शिष्यको सभापतित्व रहेको थियो । कार्यक्रममा हिसप मिनिष्ट्रजले आराधनाको अगुवाई गरेका थिए भने विशेष गित इसाई जगतका चर्चित गायक प्रज्वल रम्तेल, रमा शर्मा र विशेष कवितावाचन कवियत्री केके प्रधानले गर्नुभयो ।
कार्यक्रममा अधिकाशं अतिथिहरुले साहित्यकार सुब्बाले इसाई क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । इसाई जगतका वरिष्ठ साहित्यकार, पत्रकार सुब्बाले अनवरत साहित्य लेखन, पत्रकारिता साथै बाईबलीय शिक्षा प्रदान गर्ने क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोले उहाँलाई सम्मान गरिएको कार्यक्रमका निर्देशक प्रस्तोता यम सिवाले जानकारी दिनुभयो । जीवनको यात्रा कार्यक्रमले नेपाली ईसाइ जगतमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने वरिष्ठ व्यक्तिहरूलाई सम्मान गर्दैै आएको पनि उनले जानकारी दिए ।
कवितामय बनेको कार्यक्रममा नेपालबाट वरिष्ठ पत्रकारद्धय कुमार सिहं विष्ट र गिदोन लामिछाने, भारतबाट पास्टरहरु डा. सलोन कार्थक, हनोक थापा र अमेरिकाबाट डा. मनोज श्रेष्ठ, पा. सन्त गजमेर, पा. लाजरस थुलुङ, पा. राजु सुन्दास लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
भारत र नेपाल इसाई मिडियाकर्मी तथा स्रष्टा संगमको सहकार्यमा भएको सो कार्यक्रमको संचालन स्टेला राई र पा. विजय सुब्बाले गर्नुभयो ।
Discussion about this post