इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।
नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ ९० पैसा र डिजेलमा ४ रूपैयाँ ७५ पैसा घटाएर पठाएको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपाल आयल निगमलाई तीन पटकसम्म मूल्य घटाएर पठाइसकेको छ।
पहिलो पटक असार ३२ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो।
त्यस्तै, दोस्रो पटक साउन १६ गते प्राप्त मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।
यी दुवै पटक निगमले उपभोक्ताको लागि मूल्य घटाएको छैन। यो पटक पनि नेपाली बजारमा घटाउने बारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्।
निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।
‘हाम्रो पहिलेको घाटा यथावत छ,’ प्रवक्ता उपाध्यायले भने, ‘घटेको मूल्यअनुसार अहिले मूल्य समायोजन गर्न सक्ने अवस्था छैन।’
उनका अनुसार हाल निगमले आइओसीलाई साढे १४ अर्ब भारू तिर्न बाँकी छ। भारतीय दूतावासले सरकारलाई पेट्रोलियम पदार्थको पैसा तिर्न ताकेता गरिरहेको निगमले बताएको छ।
अहिले मूल्य घटेर आउँदा पनि मासिक ६५ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ। एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने निगमको भनाइ छ।
Discussion about this post