एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अबको ६ देखि ८ हप्ताभित्रमा युरोपको करिब आधा जनसंख्या कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनसक्ने बताएको छ ।
यो अनुमान सन २०२२ को पहिलो साता युरोपमा देखिएको करिब ७० लाख कोरोना संक्रमणका केसबाट गरिएको हो । युरोपमा दुई साताभित्रै कोरोना संक्रमणदर दुई गुणाभन्दा धेरैले बढेको छ ।
डब्लुएचओका स्वास्थ्य विशेषज्ञ डा हेन्स क्लुजले पत्रकार सम्मेलनमा भने, ‘आज ओमिक्रोन पश्चिमदेखि लिएर पूर्वसम्म फैलिएको कहरको प्रतीक बनेको छ । २०२१ को अन्त्यसम्म डेल्टा भेरियन्टसँग जुधिरहेका देशमा ओमिक्रोन कहर बनिरहेको छ ।’ युरोप र मध्य एसियाका देश तीव्र गतिले फैलिएको यस भाइरसको दबाबमा रहेको उनले बताए ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भाइरस जस्तो खतरनाक नभएको केही अध्ययनले जनाएका छन् । तर कोरोनाविरुद्धको पूर्ण खोप लगाएका मानिसहरु पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित भइरहेका छन् ।
ओमिक्रोन भेरियन्टको संक्रमण गति अरुको तुलनामा अधिक रहेको विज्ञहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
Discussion about this post