काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवाद विकृति र विसंगति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताएकी छन् । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौँ आएका प्रतिनिधिसँगको भेटघाटमा उनले यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलामाथि आपराधिक घटना भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठुलो सुधार गर्नुपर्ने रहेको बताइन् । उनले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न सामाजिक संघस.स्थाहरुको ठुलो भूमिका रहेकाले उनीहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्नेमा जोड दिइन् ।
Discussion about this post