काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन।
प्रचण्डलाई नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका थिए । श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ।
उनी जनयुद्धदेखि लगातार पार्टीको नेतृत्व तहमा छन्। यसैबीच, माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन्।
ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको बैठक अघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्।
नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराए। यही पुस ११ गतेदेखि शुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आइतबार खुल्लातर्फ १११ र समावेशीतर्फ १२५ गरी २३६ केन्द्रीय सदस्य चयन गरेको थियो।
माओवादीको विधानले केन्द्रीय समिति २९९ सदस्यीय बनाउने व्यवस्था गरेको छ। १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ। शपथपछि केन्द्रीय समितिको पहिलो बैठक शुरु भएको छ।
केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ। माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ।
Discussion about this post