काठमाडौं– सरकारले अन्य मुलुकबाट नेपाल प्रवेशमा सहज बनाउने निर्णय गरेको छ। कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै नेपाल प्रवेशमा गरेको कडाइमा संशोधन गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही सहज बनाएको हो।
मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न निर्देशनसहित विभिन्न निकायलाई पत्राचार समेत गरिसकिएको छ। पूर्णखोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनितिक वा अफिसियल पासपोर्टबाहक वा आवसिय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थाम घरमै १० दिन क्वारेन्टिन बस्नेगरी प्रवेश अनुमति दिइने भएको छ।
त्यसैगरी, खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ। परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाउने र नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक वा अफिसियल पासपोर्टबाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने, परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होमआइसोलेनमा पठाउने र परीक्षण रिपोर्ट नेगेभिट भएकालाई १० दिन होटल क्वारेन्टिनमा वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्नेगरी प्रबन्ध मिलाउने निर्णय गरिएको छ।
Discussion about this post