काठमाण्डौँ । धर्मपरिवर्तनको झुठा आरोपमा चार जना कोरियाली नागरिक जेल चलान भएका छन् ।
ट्युसनको बाहनामा बालबालिकालाई बाइबलका श्लोक घोकाइएको आरोपमा उनीहरुलाई सोमबार कास्की जिल्ला अदालतले कारागार पठाउन आदेश गरेको हो ।
लामोसमयदेखि पोखरा-१० पृथ्वीचोकको अन्ना पाउल गेष्ट हाउस सञ्चालन गर्दै आएका कोरियाली नागरिक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा, किम युङहिले अनाथ असहाय तथा गरिब बालबालिकालाई आर्थिक सहायता, निशुल्क ट्युसन लगायतका सहायता गर्दै आएका थिए ।
आफूहरु धर्म परिवर्तन गराउन नआएको र आफूहरुले मात्र विपन्न परिवारलाई सहयोग गरेको, विद्यार्थीहरुको पढाइ खर्च जुटाएकाले उनीहरुको दाबी थियो । स्थानीयले धर्मपरिवर्तन गराएको खबर गरेपछि कास्की प्रहरीले ती कोरियाली नागरिकलाई पक्राउ गरेको थियो ।
सोमबार थुनछेक बहसपछि उनीहरुलाई कसूरमा कसूरदार होइनन् भनी भन्न नमिल्ने भएकाले कारागार पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।
४ जना कोरियाली नागरिकहरुमध्य दुई जना क्याथोलिक सम्प्रदायका र दुई जना इभान्जेलिकल सम्प्रदायका हुन् । कोरियाली नागरिकहरुको नेपाली चर्चसँग कुनै सम्बन्ध नभएको बुझिएको छ ।
Discussion about this post