अज्ञेयतावादी दार्शनिक बेट्राण्ड रस्सेलले येशूको बारेमा टिप्पणी गरे, “ख्रीष्ट बुद्धि वा सद्गुकणजस्ता क्षेत्रहरूमा इतिहासका प्रसिद्ध मानिसहरूजत्तिकै महान् हुनुहुन्छ जस्तो मलाई लाग्दैन। मेरो विचारमा ती क्षेत्रहरूमा मैले उहाँलाई भन्दा बुद्ध र सुकरातलाई माथि राख्नुपर्छ ।”१
मुस्लिमहरूको विश्वासअनुसार येशू एक अगमवक्ता हुनुहुन्छ। हिन्दुहरूले येशूलाई महान् गुरुहरूमध्ये एक सम्झन्छन्। लिवरल इश्वरशास्त्रीहरूसाथै अन्य धेरैको दृष्टिकोणमा येशू केवल असल व्यक्ति वा महान् नैतिक शिक्षक हुनुहुन्छ। केहीले त उहाँको अस्तित्वमाथि नै प्रश्न पनि नगरेका होइनन्। वास्तवमा येशू को हुनुहुन्छ ?
हर्मोन पर्वतको फेदीमा अवस्थित कैसरिया फिलिप्पी नजिकैको उजाडस्थानमा येशूले चेलाहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ?” (मत्ती १६:१५)। यो प्रश्न दुइ हजार वर्षअघि चेलाहरूलाई सोधिएको भए तापनि आजको समयमा पनि यसको सान्दर्भिकता गुमेको छैन। येशू को हुनुहुन्छ? महान् गुरु वा नैतिक शिक्षक वा अगमवक्ता वा त्योभन्दा बढी?
इतिहासलाई अनुसन्धान गर्ने स्थापित विधि अपनाएर हामीले उहाँको जीवनीलाई अध्ययन गर्ने हो भने क हामी रस्सेलजस्ता लेखकहरूको निष्कर्षमा सहमत हुन सक्छौं ? होसियार अध्ययनले निश्चय नै हामीलाई अर्कै तर सही निष्कर्षमा पुर्याउँछ। मानव जातिको इतिहासमा धेरैले आफूलाई “महान्” को दर्जामा स्थापित गराई तिनीहरू यस संसारबाट बिदा भएका छन्- अरस्तुदेखि आइन्स्टाइनसम्म, सुकरातदेखि अब्राहाम लिङ्कनसम्म र कन्फ्यूसियसदेखि मोहम्मदसम्म। यस धरतीको कोखबाट जन्म लिई विभिन्न क्षेत्रमा अमूल्य योगदान दिनेहरूको सूची सामान्य पुस्तिकामा अटाउन सक्दैन। तर यस सिकारु आज “महान्” र “महानतर” हरूको खोजीमा होइन, तर “महानतम” को। संसारमा महानतम व्यक्ति को हो? र त्यो उपाधि ओढाइदिनको लागि मापदण्ड के हो त? येशूको वास्तविक पहिचान अनुसन्धानमा आधारित हुनुपर्छ, केवल विश्वासमा मात्र होइन। तपाईंले येशूलाई के भनेर विश्वास गर्नुहुन्छ, त्यो मेरो टाउको दुखाइको विषय होइन। तर उहाँ वास्तवमा को हुनुहुन्छ भन्ने विषय विश्वलाई टाउको दुखाउने विषय हुनैपर्छ। येशूको वास्तविक पहिचानको खोजी नै यस सिकारुको प्रयास हो। आउनुस्, अगाडि बढौं।इतिहासको कुनै पनि व्यक्तिको वास्तविक पहिचानको विधि भनेको उसको बारेमा उपलब्ध स्रोतको गहन अध्ययन नै हो। मोशा, गौतम बुद्ध, सुकरात, जर्ज वाशिङ्गटन, पृथ्वीनारायण शाह, कन्फ्यूसियस, मोहम्मदजस्ता ऐतिहासिक व्यक्तिहरूको पहिचानको लागि हामी जुन विधि अपनाउँछौं, त्यही नै विधि येशूको पहिचानको लागि प्रयोग गरिनुपर्छ। येशूको बारेमा उपलब्ध जानकारीको प्रमुख, विश्वसनीय र भरपर्दो स्रोत चारओटा सुसमाचारका पुस्तक नै हुन्। उहाँको पहिचानको लागि यी पुस्तकहरूको होसियार अध्ययन महत्त्वपूर्ण छ। नयाँ करारका यी पुस्तकहरू ऐतिहासिक रूपमा सही र विश्वसनीय छन्। तिनीहरू यति विश्वसनीय छन् कि येशूलाई काल्पनिक व्यक्तिको रूपमा पुष्टि गर्ने साक्षी कसैसँग छैन। उहाँले गर्नुभएका कार्यहरू, उहाँ जानुभएका ठाउँहरू र उहाँले बोल्नुभएका वचनहरूको विवरण यी पुस्तकहरूमा सठीक ढङ्गमा राखिएका छन्। यी विवरणहरूबमोजिम यस्ता तिनओटा बुँदाहरू छन्, जसले येशूलाई संसारका सबै मान्छेभन्दा फरक दर्जा दिन्छन्। यी तिनओटै बुँदा कसैको जीवनमा लागू हुँदैन। यी तिनओटा बुँदाले उहाँलाई “महानतम” को दर्जा मात्र दिँदैनन्, तर उहाँलाई “परमेश्वर” भनी पुज्न करनै पनि संदेहवादीलाई बाध्य बनाउँछ।
१. उहाँले अनगिन्ती अगमवाणीहरू पूरा गर्नुभयो।
मसीहसम्बन्धी अगमवाणीहरू जुन नासरतको येशूमा पूरा भए, ती उहाँको पहिचानको ज्यादै शक्तिशाली प्रमाणीकरण हुन्। मसीहको पहिलो आगमनको विषयमा मात्रै बताउने अगमवाणीहरू पुरानो करारमा तिन सयभन्दा बढी छन्। उहाँको जन्मको चारसय वर्षअगिसम्ममा यी सबै अगमवाणी गरिसकिएका थिए। गौतम बुद्ध, मोहम्मद, कन्फ्यूसियस, कार्ल मार्क्स वा अन्य धार्मिकसाथै दार्शनिक अगुवाहरूको जन्मअगि तिनीहरूको बारेमा कुनै विशुद्ध अगमवाणी गरिएको जानकारी हामीसँग छैन। मानव धरतीमा येशू मात्रै एउटा यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ, जसको जीवन, मृत्यु र पुनरुत्थानको विषयमा उहाँको जन्मभन्दा सयौ“वर्षअगि सयौ“ अगमवाणी गरिए। येशूको जीवनको बारेमा गरिएका सबै अगमवाणीहरूको सूची तयार गरी वर्णन गर्ने हो भने एउटा गतिलै पुस्तकको उदय हुन्छ।
मसीह यहूदाको बेथलेहेममा (मीका ५:२), कन्याबाट जन्मनु हुनेथियो (यशैया ७:१४) । उहाँ चाँदीका तीस टुक्रामा बेचिनु हुनेथियो (जकरिया ११:१३) र आफ्नै मित्रले उहाँलाई धोका दिनेथियो (भजनसंग्रह ४१:९)। उहाँलाई घोचिनेथियो (जकरिया १२:१०), उहाँको एउटै हड्डी भाँचिने थिएन (भजनसंग्रह ३४:२०) आदिजस्ता अगमवाणीहरू येशूको जीवनमा अचुक रूपमा पूरा भए ख्रीष्टियान विश्वासको आधार नामक पुस्तकमा फ्लोइड हेमिल्टन लेख्छन्, “पुरानो करारमा ३३२ पृथक अगमवाणी छन्, जुन ख्रीष्टमा अक्षरशः पूरा भए भन्ने कथनको लागि क्यानोन लिड्डोन आधिकारिक व्यक्ति हुन् ।”२ मसीहको कुल, सहर, जन्मको प्रकृति, समयजस्ता विशिष्ट अगमवाणीहरू पूरा हुनु मानवीय वशभन्दा बाहिरको कुरो हो।
एउटै व्यक्तिको जीवनमा यी सबै अगमवाणीहरू पूरा हुनु मानवीय दृष्टिकोणबाट असम्भव छ। गणितज्ञ पी.डब्लू. स्टोनरले गणना गरेका छन् कि एउटा व्यक्ति (उदाहरणको लागि येशू) को जीवनमा सोह्रओटा अगमवाणी पूरा हुने सम्भावना १०४५ मा १ हुन्छ। त्यसैगरी अठचालीसओटा अगमवाणी एउटै व्यक्तिमा पूरा हुने सम्भावना १०१५७ मा १ हुन्छ ।घ यो गणनालाई हेर्दा मानवीय अनुमानबाट ती अगमवाणी पूरा हुने सम्भावना बिलकुलै शून्य देखिन्छ। तर्सथ, हरेकले सही तरिकाले यसरी प्रश्न गरोस्, “येशू परमेश्वर नहुँदो हो त, उहाँको जीवनमा यी सबै अगमवाणी कसरी पूरा भए त?”
२. येशूले पापरहित जीवन जिउनुभयो।
पत्रुसले येशूलाई “निष्खोट र निष्कलङ्क थुमा” को रूपमा चित्रण गरेका छन् (१ पत्रुस १:१९)। तिनी थप्छन्, “उहाँले कुनै पाप गर्नुभएन र उहाँको मुखमा कुनै छलको कुरा पाइएन” (१ पत्रुस २:२२)। यूहन्नाअनुसार “उहाँमा कुनै पाप छैन” (१ यूहन्ना ३:५)। पावलले येशूलाई “पाप नचिन्नुहुने” भनी वर्णन गरेका छन् (२ कोरिन्थी ५:२१)। येशू “पापरहित हुनुहुन्थ्यो” भनी ह्रि्रूका लेखकले दाबी गरे (ह्रि्रू ४:१५)। भीडलाई येशूले एक पटक प्रश्न गर्नुभयो, “तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ ? “(यूहन्ना ८:४६)। उहाँलाई कसैले उत्तर दिन सकेन। येशूका चेलाहरूका अतिरिक्त उहाँका शत्रुहरू भनेर चिनिनेहरूले पनि उहाँले कुनै पाप नगरेको तथ्य उदाङ्गो पारेका छन्। येशूसँगै टाँगिएका एक अपराधीले गवाही दिए, “यी मानिसले त केही अनुचित काम गरेका छैनन्” (लूका २३:४१) । छानबिनपश्चात् येशूमा कुनै दोष नभेट्टाएको निष्कर्ष पिलातसले सुनाए (लूका २३:१४)। कप्तानले येशूको बारेमा निष्कर्ष निकाले, “निश्चय नै यिनी धार्मिक मानिस थिए” (लूका २३:४७)।
येशू कन्याबाट जन्मनु भएकोले बुबाको रगत येशूमा हुने सम्भावना कत्ति पनि छैन। तर येशू आफ्नी आमा मरियम (जो पापी थिइन्) को कोखमा नौ महिनासम्म हुर्कनुभएकाले कतै मरियमको रगत येशूमा प्रवेश गरेको त छैन भन्ने प्रश्न घरिघरि उठ्ने गर्छ। यदि मरियमको रगत येशूमा गएको छ भने येशू निष्पाप हुने सम्भावना छैन। यसको लागि हामीले विज्ञानको साक्षी हेर्नुपर्छ जुन वास्तवमा सत प्रतिशत साँचो छ। आमाको पेटमा बच्चा हुँदा, आमाको रगत र बच्चाको सम्बन्धको विषयमा डा.एम.आर. दिहान लेख्छन्, “आमाले नै पेटमा बढ्दै गरेको बच्चालाई उसको शरीरको वृद्धिका लागि पौष्टिक भोजनको प्रबन्ध गर्छिन्, तर जति पनि रगत बनिएको हुन्छ, त्यो बच्चाभित्र नै बाबुपट्टि कै अंशबाट बनिएको हो। गर्भ बसेको क्षणदेखि जन्मेको दिनसम्म नै एक थोपा रगत पनि आमाबाट बच्चाकहाँ जाँदैन। आमा र नानीका बीचमा साल हुन्छ, त्यहीँबाट आमा र नानीका बीचमा दोहोरो सम्बन्ध हुन्छ। आमापट्टबिाट सजिलैसँग नानीलाई चाहिने प्रोटिन, चिल्लो पदार्थ कार्बोहाइड्रेट्स्, नूनहरू, धातुहरू र एन्टिबडिजधरि सालबाट भएर नानीकहाँ जान्छन्, अनि नानीको शरीरबाट फालिने कुराहरू नानीपट्टबिाट आमाकहाँ आउँछन्। तर यो साल यस्तो अद्भूभत प्रकारले बनिएको हुन्छ, कि एक थोपा रगत पनि यताको उता र उताको यता हुँदैन।”४ शंकाको दृष्टिकोणबाट हेर्नेलाई यो प्रष्ट साक्षी हो। यस्तै तथ्य हवेल पनि लेख्छन्, “पेटको नानीको रगत र आमाको रगत एक दोस्रोसँग मिसिँदैन ।”५
बाइबलले हामीलाई उहाँको परीक्षाको विषयमा बताउँछ (लूका ४ अध्याय), तर कहिल्यै पनि उहाँको पापको विषयमा बताएको छैन। विल्बर स्मिथको निष्कर्ष साक्षीमा आधारित छ, “येशूले यस पृथ्वीमा एक करोड पचास लाख मिनेटको जीवन बिताउनुभयो। उहाँले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बीचमा बिताउनुभयो। तरै पनि पृथ्वीमा जन्म लिएदेखि क्रूसमा प्राण त्याग नगरुन्जेलसम्म उहाँका हरेक विचार, हरेक कार्य, हरेक उद्देश्य, हरेक काम, जुन व्यक्तिगत रूपमा गरिएका हुन् वा सार्वजनिक रूपमा गरिएका हुन्, ती सबै नै परमेश्वरद्वारा अनुमोदित थिए। एकैपटक पनि हाम्रा प्रभुले पापको स्वीकार गर्नुभएन किनकि उहाँमा कुनै पाप थिएन।”६ येशूको जीवनको हरेक पाटो अध्ययन गरी जाँच गरेपछि प्रत्येक व्यक्ति यही निष्कर्षमा आउनुपर्छ कि उहाँ वास्तवमै पापरहित हुनुहुन्थ्यो।
३. उहाँ मृतकहरूबाट पुनरुत्थान हुनुभयो।
पृथ्वीमा भएको येशूको मिसनको शिखर आर्श्चर्यकर्म भनेको उहाँको पुनरुत्थान हो। अन्य धार्मिक र दार्शनिक अगुवाहरू आए र गए अनि उदाए र पतन भए, तर येशू ख्रीष्टले जस्तै आफ्नो कार्यलाई निरन्तरता दिन कोही पनि पृथ्वीको धुलोबाट फर्केर आएन। पुरानो करारमा मात्र यसको अगमवाणी गरिएको होइन (भजनसंग्रह २, १६) तर आफ्नो सेवा-कार्यको आरम्भदेखि नै येशूले पनि यसको अगमवाणी गर्नुभयो, “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘यस मन्दिरलाई भत्काइदेओ र म तीन दिनमा यसलाई खडा गर्नेछु।’ … तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो” (यूहन्ना २:१९,२१) । येशूले आफ्नो पुनरुत्थानको दाबी मात्र गर्नुभएन तर यस दाबीको पुष्टिको लागि हामीसँग वस्तुगत साक्षीहरू छन्ः
(क) रित्तो चिहान
(ख) पुनरुत्थानपछिका प्रकटीकरणहरू
(ग) चेलाहरूको जीवनमा देखा परेको अचम्मको परिवर्तन
(घ) मण्डलीको उदय र
(ङ) आराधनाको दिनको परिवर्तन
द गिनिज बुक अफ वर्ल्ड रिकर्डसमा संसारको सबैभन्दा सफलदायी वकिलको रूपमा नाम कमाउन सफल व्यक्तित्वको नाउँ हो- सर लिओनेल लुकहू । येशू ख्रीष्टको पुनरुत्थानको विषयमा भएका ऐतिहासिक सत्यताहरूलाई वर्र्षौंसम्म अध्ययन गरी तिनले निकालेको निष्कर्ष यस्तो थियो, “म स्पष्ट रूपमा बताउँछु कि येशू ख्रीष्टको पुनरुत्थानको लागि साक्षीहरू यति प्रबल र प्रशस्त छन् जसले प्रमाणद्वारा यसलाई स्वीकार गर्न बाध्य बनाउँछन् र शङ्काको लागि यसले बिलकुलै कनै ठाउँ छोड्दैन।”७
विश्वविख्यात इतिहासकार केनेथ स्कटको सही मूल्याङ्कन यस रचनाको निष्कर्ष हो, “शताब्दीहरू बित्दै गर्दा साक्षी यति सञ्चित भएको छ कि इतिहासमा उहाँको प्रभावलाई मापदण्ड बनाउने हो भने येशू यस ग्रहमा बाँच्नुहुने सर्वाधिक प्रभावकारी व्यक्तित्व हुनुहुन्छ। त्यो प्रभाव बढ्दो छ ।”ड
सर्न्दर्भ स्रोतहरूः
1. Bertrand Russell, quoted by Norman Geisler (1999), Baker Encyclopedia of Christian Apologetics (Grand Rapids, MI: Baker Books), p.135.
2. Floyd Hamilton, quoted by Josh McDowell (1999), The New Evidence That Demands a Verdict (Nashville: Thomas Nelson Publishers), p.201.
3. Peter W. Stoner (1952), Science Speaks (Wheaton, Ill: Van Kampen), pp.109-110.
4. एम. आर. दिहान, दानियल राईद्वारा उधृत, अनुपम प्रतिभा (कालिपौंग, रेलीरोडः सिस्टम्याटिक कम्प्युटराइज्ड अफसेट प्रिर्न्र्टस, २००३), पृ.सं. ८२
5. हवेल, दानियल राईद्वारा उधृत, अनुपम प्रतिभा (कालिपौंग, रेलीरोडः सिस्टम्याटिक कम्प्युटराइज्ड अफसेट प्रिर्न्र्टस, २००३), पृ.सं. ८३
6. Wilbur Smith, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p.311.
7. Clifford, quoted by Lee Strobel (1998), The Case for Christ (Grand Rapids: Zondervan), p.255
8. Kenneth S. Latourette, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p.321.
कमल अधिकारी
Republished in new layout 6/12/2013
Discussion about this post