निरोज तोलाङे, काठमाण्डौँ । नेपाली समाजका बहुआयामिक र बहुप्रतिभावान इतिहासका धरोहर पादरी गंगाप्रसाद प्रधानको १७० औं जन्मजयन्ती आज नेपाल, भारत लगायत अन्य देशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर उपत्यकाका विभिन्न सञ्चारक्षेत्रमा कार्यरत ख्रीष्टियन सञ्चारकर्मीले आइतबार उहाँँको सम्झनामा भेटघाट तथा छलफलको आयोजना गरेका छन् ।
छलफलमा तुरही अनलाइनका सम्पादक कुमारसिहं विष्टले बर्सेनि पादरी प्रधानको भूमिका र योगदानलाई पुनःपठन, वाचन र पुनरुक्ति मात्र नगरी पुनःसृजन गरेर लागिपर्नु चाहिँ विषय विज्ञजनको बुद्धिमानी भएको बताए ।
महान् व्यक्तिको गुणगान मात्र नगरी गुणग्रहण गर्नु दूरगामी महत्वको विषय भएको बचन पत्रिकाका प्रकाशक तथा सम्पादक विश्वास थापाले बताउनुभयो । त्यसैगरी युवा दर्शन मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक दिनेश श्रेष्ठले उहाँको योगदानलाई अब नेपाली समाजले अनुसरण गर्ने र सिर्जनात्मक रूपमा ग्रहण गर्ने हो भने अहिले देखापरेका भाषिक विवाद र समस्या समाधान गर्ने दृष्टिचेत प्राप्त गर्न सकिने उनको भनाइ छ ।
छलफलमा उपस्थित सञ्चारकर्मीले बहुआयामिक क्षेत्रका साधक र आदर्शका संवाहक पादरी प्रधानले नेपाली भाषा, संस्कृति र साहित्यप्रतिको ऐतिहासिक योगदानको सामयिकता र सान्दर्भिकता अझै विद्यमान भएको धारणा व्यक्त गरेका छन् ।
काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २० गते बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोराका रुपमा जन्मीएका पादरी प्रदान सबैका प्यारा थिए, बहुमुखी क्षेत्रका अग्रेणी साधक पादरी प्रधान नेपाली इतिहासका ओजेल परेका सुन्दर फूल हुन् । उज्यालोमा ल्याइदैँ गरेका साधक सधैभरी अमर छन् । उनको जीवनले संगालेका थुप्रै मिठा अनुभवका अध्यायहरू आज पनि जिवित छन् ।
छलफलमा ख्रीष्टियन संचारकर्मीहरुले पेशागतरुपमा एकजुट भएर समुदायको आवाजको केन्द्र बन्नुपर्नेमा जोड दिएका छन् । छलफलले यहि आउँदो असार २७ गते ललितपुरमा ख्रीष्टियन सञ्चारकर्मीको भेला गर्ने र भेलाद्वारा नै आगामी कार्यदिशा र रणनीति बनाउने पत्रकार सुमित नेपालीले बताए ।
सधैभरीका लागि प्रेरणाका पात्र बनेका उनी पहिलो नेपाली पाष्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पादक, प्रकाशक, अनुवादक, साहित्यकार र संगित प्रेमी समेत थिए । त्यसैको उपज उनी बहुआयामिक क्षेत्रका साधक र आदर्श हुन् ।
Discussion about this post