बाँके । ख्रीष्टियन सिङ्गिङ्ग आइडल बैशाख ८ गते बाट सुरु हुने भएको छ । कोहलपुर नगरपालिका २ इम्मानुयल चर्चमा दुई दिनसम्म हुने अडिसनमा लुम्बिनी प्रदेश अन्तर्गतको जिल्ला बाँके, बर्दिया र दाङका चर्चका विश्वासीहरुले मात्र भाग लिन पाउने भएका छन् ।
क्लासिकल म्युजिक सेन्टरको आयोजनामा हुन गइरहेको अडिसनको मुख्य विषयवस्तु “भ्वाइस अफ प्रेज” रहेको छ भने गायन क्षेत्रमा रुचि राख्ने प्रतिभाहरू अहिले उत्साहित देखिएका छन् । अडिसनका लागि फारम भने लुम्बीनी प्रदेश अन्र्तगतका चर्चहरुमा वितरण गर्ने कार्य सुरु भइसकेको छ ।
कोहलपुरको इम्मानुयल चर्चमा विहानै देखि सुरु हुने अडिसनको सबै तयारी लगभग पूरा भइसकेको ख्रीष्टियन सिङ्गिङ्ग आइडलका कार्यक्रमका संयोजक बलु तामाङले जानकारी दिए । ‘हामीले सबै लगभग तयारी पूरा गरिसकेका छौं, बिहान नै देखि अडिसन सुरु हुन्छ’, तामाङले भने, ‘बाँके, बर्दिया र दाङ आसपासका चर्चबाट उत्साहजनक सहभागिता हुनेछ ।’ उनका अनुसार लुम्बिनी प्रदेश मै पहिलो पटक हुन लागेको यो कार्यक्रमको दर्ता अभियान सुरु भैसकेको र सिङ्गिङ्ग आइडलमा भाग लिन इच्छुक हुने चर्चका विस्वासीहरुले आफ्नो नाम दर्ता गराई आइडलमा भाग लिनुहुन अनुरोध गरिएको छ । नेपालको ख्रीष्टियन सांस्कृतिक पहिचान स्थापित गर्न एक अलग प्रतिभाको खोजी सुरु हुँदै गरेको उनको भनाइ छ ।
प्रतियोगितामा गायक तथा संगीतकारहरु रमेश विश्वास, गणेश राना, बलु तामाङ र उमेश मुस्कान निर्णायक रहेका छन् । कार्यक्रमको मुख्य प्रायोजन मिड वेस्टर्न आइ टी सफ्ट इन्टरनेशनल प्रा. लि. ले गरेको छ भने मिडिया पार्टनरमा सानीमा टिभी यूटुयुव च्यानल र अनलाईन पार्टनर रातोपाटी न्युज डट कम रहेको छ ।
Discussion about this post