विगतमा गरिएका केही सर्वेक्षण र आँकलनहरूलाई सबै सरोकारवालाहरूले समग्र ख्रीष्टियन समुदायको सही संख्या मानेको स्थिति पनि होइन । यस महत्वपूर्ण खाँचोलाई पूरा गर्न नेपाल ख्रीष्टिय सामूदायिक सर्वेक्षण (एनसीसीएस) ले नेपाली ख्रीष्टियन समुदायको आधारभूत तथ्याङ्क संकलन गर्ने कार्यलाई तीब्र गतिमा अघि बढाएको छ ।
हजारौँको संख्यामा परिचालित स्थानीय स्तरका स्वयम् सेवकहरुको सहयोगमा यस अभियान सञ्चालित भइरहेको छ । सुरुवाती चरणमा सातवटै प्रदेशका एक एक वटा जिल्लामा परिक्षण सर्वेक्षण कार्य सुरुवात गरिएकोमा प्रदेश २ मा पर्सा, वागमती प्रदेशमा धादिङ, कर्णाली प्रदेशमा जुम्ला, सुदुरपश्चिम प्रदेशमा दार्चुला र लुम्बनी प्रदेशमा बर्दिया जिल्लामा सर्वेक्षण कार्य सम्पन्न भईसकेको छ भने प्रदेश १ को मोरङ र गण्डकी प्रदेशको लमजुङमा सर्वेक्षण कार्य अन्तिम चरण पुगेको एनसीसीएसका कार्यक्रम व्यवस्थापक दिव्य खनालले जानकारी दिनुभयो ।
यस आधारभूत सर्वेक्षणलाई सम्पन्न गर्नका निम्ति सबै सरोकारवालाहरुको आपसी समझदारीमा केन्द्रिय, प्रादेशिक तथा जिल्लास्तरीय समितिहरूको गठन र व्यवस्थापन गरिएको छ भने अभियानमा नेपाल ख्रीष्टियन समाज, नेपाल राष्ट्रिय मण्डली संगति र अन्य चर्च समूहहरूको सक्रिय सहभागिता रहेको छ । यस अर्थमा यो आधारभूत सर्वेक्षण सम्पूर्ण नेपाली ख्रीष्टियन समूदायको साझा अभियान हो ।
नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले यस सर्वेक्षणद्वारा समग्र ख्रीष्टियन समुदायलाई धेरै फाइदा पुग्ने र नेपाली ख्रीष्टियन समुदायको समेत यकिन तथ्याङ्क प्राप्त हुने भएकाले यस सर्वेक्षण कार्यले धेरै कुरामा मद्धत पुग्ने बताउनुभयो । यो सम्पूर्ण नेपाली ख्रीष्टियन समूदायको साझा अभियान भएकोले यस अभियानमा सक्रिय सहभागि भई सफलतापूर्णक सम्पन्न गर्न सबै नेपाली ख्रीष्टियन समूदायलाई यहाँले आह्वान समेत गर्नुभयो ।
बाँकी जिल्लाहरूमा सर्वेक्षण संचालन गर्नका लागि एनसीसीएसले आवश्यक तयारी गरिरहेको र यस सर्वेक्षणद्धारा प्राप्त ख्रीष्टियन समूदायको आधारभूत तथ्याङ्क नेपाल सरकारका सम्बन्धित निकायका साथै अन्य सबै सरोकारवाला संघसंस्था तथा व्यक्तिहरूका निम्ति लाभपूर्ण हुनेछ भन्ने विस्वास लिइएको खनालले जानकारी दिनुभयो ।
Discussion about this post