–धन तामाङ, पास्टर। ललितपुर। बैशाख २,
परिचय
अहिलेको परिस्थितीमा कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभरका मानिसहरु त्रास, पिडा र अन्योलमा परेका छन् । यस लेखमा कोभिड-१९ को उत्पत्ति सम्बन्धि विभिन्न विचार, अनि यसले मानवजातिमा ल्याएको संकटको समयमा पनि कसरी सकारात्मक तरिकाले हेर्ने र हामी ईसाईहरुको धारणा कोभिड-१९ सम्बन्धि कस्तो हुनपर्छ भन्ने विचारलाई छोटकरीमा ब्याख्या गरिएको छ ।
कोरोना भाइरस सम्बन्धि छोटो जानकारी
कोभिड-१९ भाइरसको उत्गमस्थल चीनको वुहान सहर अहिले समान्य अवस्थातिर फर्किरहेको समाचारहरु प्रकाशित हुँदैछन् । सुरुवातका दिनमा यो भाइरसले यसरी विश्वब्यापी असर पार्ला भन्ने अडकल कमैले सोँचेका थिए । सायद चीन भित्र नै सीमित रहला भन्ने अनुमान थियो । सन २०१३ देखि २०१६ सम्ममा इबोला भाइरसले पनि पश्चिमी अफ्रिकामा ११३२३ जनाको ज्यान लिएको थियो । यस्ता महामारीहरु संसारमा सदियौंदेखि देखापर्दै आएका छन् ।
२० वर्षयता ३ प्रकारका कोराना भइरसहरु देखा परेका छन् ।
(1) SARS-CoV सन् 2002 मा चीनको ग्वाङदोङ सहरमा सुरु भएको । यसबाट ८००० मानिसहरु संक्रमित भए भने ७७४ जना मरे ।
(2) MERS-CoV सन् २०१२ तिर साउदी अराबियामा देखापर्यो र २०१९ को अन्त सम्म २४९४ जना संक्रमित भएर ८५८ जना मरे ।
(3) SARS-CoV-2, पछि 2019-nCoV नामकरण गरियो , यसैलार्इ पछि ११ फेब्रुरी २०२० मा विश्व स्वास्थ्य संगठनले कोभिड-१९भनेर आधिकारिक नाम दिइयो । सबभन्दा पहिला ३० डिसेम्बर २०१९ मा चीनको वुहान भन्ने सहरमा देखापर्यो । यो लेख लेख्ने बेलासम्मा (अप्रिल १०, २०२०) विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार, कोभिड-१९ बाट १५२१२५२ संक्रमित भएका छन् भने ९२७९८ मरिसके र २१२ देशहरुमा फैलिसकेको छ।
कोभिड-१९ कसरी उत्पन्न भयो भनेर मानिसहरुले धेरै अडकल गरेका छन् । धेरै स्रोतहरु अनुसार वुहान सहरको Huanan seafood market बाट यो फैलिएको मानिन्छ र संभवता जनावरबाट मानिसमा यो भाइरस सरेको हो भन्ने अनुमान छ । तर कसरी यो फैलियो वा जनावरबाट मानिसमा कसरी सर्यो भन्ने बारेमा अझै अनविज्ञ नै छ । (Conspiracy theory) षडयन्त्रको सिद्धान्तमा विश्वास गर्ने कतिपयले त कोरोना भाइरस प्रयोगशालामा उत्पादन गरिएको भाइरस हो भन्न पनि भ्याए । पछि यो विषय राजनीतिकरणतिर पनि मोडियो । महाशक्ति देशहरु, संयुक्त राज्य अमेरिका र चीन, एकअर्कालार्इ आरोप लगाउन पनि भ्याए । अमेरिकी राष्ट्रपति ट्रमले “चाइनिज भाइरस” पनि भने र एकजान रिपब्लिकन सिनेटरले (टम कटन) त यो भाइरस चीनले बनाएको जैविक हतियार हो भनेर संकेत पनि गरे ।
यसको सट्टामा चीनले पनि यो भाइरस अमेरिकी सेनाले चीनमा ल्याएको हुनसक्ने भनेर दोष लगाए । किनकि अक्टोबर २०१९ मा अमेरिकी सेनाहरु Military World Games मा भागलिन वुहान सहरको एउटा होटेलमा बसेका थिए, जुन होटेल Seafood Market को नजिकै थियो । पछि डिसेम्बर २०१९ मा त्यस क्षेत्रबाट कोरोना भइरस फैलिएको थियो । तर यी शंकाहरु प्रमाणित गर्नसक्ने कुनै आधारहरु छैनन् भनेर वुहानका किटाणु जीवशास्त्रीले राम्रोसित विष्लेशण गरेका छन् ।
अहिले यो महामारीको समयमा मण्डली भवन, मस्जिद र मन्दिरहरुमा भक्तजनहरु जमघट हुनपाएका छैनन् । सबै आस्तिकहरुले आ-आफ्ना परमेश्वरलार्इ पुकारिरहेका छन् । तर नास्तिक विचारधारा भएकाहरुले ‘यतिबेला परमेश्वर आफै क्वरेनटाइनमा कहाँ बसिरहनु भएको होला ?’ भनि ब्यङ्ग्य पनि गरिरहेका छन् ।
दुइवटा धारणा
मेरो विचारमा, यस्तो अवस्थालार्इ ख्रीष्टियनहरुले दुइ प्रकारले हेर्नु राम्रो देखिन्छ ।
(१) यसबाट धेरै क्षति ब्यहोर्नु परे तापनि, यस परिस्थितिलार्इ सकारात्मकरुपमा पनि विचार गरौँ । जस्तै,
• कोरोना भाइरसको कारण विश्वमा भएको लकडाउनले वातवरणमा प्रदुषण कम भएको देखिन्छ (सन् २०२० मा नाइट्रोजन अक्साइडको विश्व उत्सर्जनमा ०.३% कमी रहनेछ भन्ने अनुमान गरिएको छ)। आउने दिनमा यसले मानिसको स्वास्थ्यमा सकरात्मक असर पार्नेछ ।
• सरसफाइमा ध्यान दिने बानी बसाउन सकिन्छ । साबुन पानीले हात धुँदा पनि यत्ति ठूलो महामारीसँग लड्न सकिने रहेछ भन्ने कुरा थाहा पाएका छौं ।
• लकडाउनको बेला प्रार्थना गर्ने र अध्ययन गर्ने समय पाएका छौं ।
• सामाजिक संजालमा प्रत्यक्ष प्रसारण सेवासंगति र मिटिङहरु हुँदैछन्। भौतिक मण्डली भवनहरु खाली भएता पनि वास्तविक मण्डली अझ सशक्त हुँदैछ ।
• धेरै देशहरुमा यस भाइरस विरुद्धको नयाँ औषधिहरुको प्रयोग हुँदैछ ।
• यस भाइरस सम्बन्धि सृजनात्मक र अनुसन्धानमुलक धेरै लेख रचनाहरु तयारी हुँदैछन् ।
• अहिलेको अवस्था गाह्रो भएतापनि यस परिस्थितीबाट पार भएपछि सबै राष्ट्रले नयाँ योजना र रणनीतिहरु अपनाउन पाउनेछन् ।
• हामीले विगतमा गरेका कामहरुको मुल्याङकन गर्ने अवसर हामीले पाएका छौं ।
(२) बाइबलिय सत्यताको धरातालमा उभिने
“परमेश्वरले खराबीलार्इ किन रोक्नुभएन ?” भनेर पहिले देखि नै धेरै मानिसहरुले प्रश्न उठाउँदै आएका छन् । कतिले यो महामारीलार्इ परमेश्वरले दिनुभएको दण्डको रुपमा हेरेका छन् । कतिले चाँहि परमेश्वरले प्राकृतिलार्इ (अहिलेको अवस्थामा भाइरसलार्इ) यस्तै हुने अनुमति दिनुभएको भन्ने बुझाइ पनि छ । हामीमध्ये पनि धेरैलार्इ यस्तै प्रश्नहरु उठ्न सक्छन् ।
विभिन्न मत तथा विचार भएका मानिसहरुले विपत्तिलार्इ आ-आफ्नै दृष्टिकोणबाट ब्याख्या गरिरहेका छन् । जोन लेनक्सले पनि “Where is God in a Coronavirus World?” भन्ने पुस्तकमा विपत्तिलार्इ ब्याख्या गर्ने विभिन्न मतहरुलार्इ राम्रोसंग विश्लेषण गरेका छन् । ख्रीष्टियनहरुले कोराना भाइरस वा अन्य कुनै विपत्तिको बारेमा ती मतहरुभन्दा स्पष्ट विचार राख्न सक्छन् भनेर लेखकले स्पष्ट पारेका छन् । लेखककै भनार्इमा, “सायद तपार्इ मसँग सहमत हुनसक्नुहुन्छ वा सहमत नहुन पनि सक्नुहुन्छ । मृत्यु भयवाह रुपमा आचनक देखापरेको अनिश्चितताको सँसारमा पनि ख्रीष्टियनहरुले किन निर्धक्कसाथ आफ्नो आशाको बारेमा बोल्न सक्छन् र शान्तिको अनुभुति गर्नसक्छन् भनेर यो पुस्तक पढिसकेपछि तपार्इले बुझ्नुहुनेछ ।” बाइबलको सत्यतालार्इ बुझ्नेहरुले जस्तोसुकै संकट र महामारीमा पनि येशूमा आसा राखेर शान्तिको अनुभुति गर्न सक्छन् । यस सत्यतालार्इ अझ बलियो बनाउन बाइबलबाट म केहि सन्दर्भहरु छोटकरीमा राख्छु ।
बाइबलमा उत्पत्ति १ र २ अध्यायको विरणमा परमेश्वरले पृथ्वी र मानिसजातिलार्इ सुन्दर र सिद्धरुपमा सृष्टि गर्नुभएको थियो । तर उत्पत्ति ३ अध्याय अनुसार मानिसले परमेश्वरको आज्ञा भङ्क गरेको हुनाले पापको कारण मृत्युले मानिसमा राज्य गर्यो । अब त्यो दिन देखि भूमि पनि श्रापित भएको छ (उत्पत्ति ३:१७) । त्यसकारण प्रेरित पावलले पनि रोमी ८:२२ मा “किनकि हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको सुस्केरा हालिरहेछ” भनेझैँ यस सारा सृष्टिले पनि छुटकाराको आसा गर्दैछ ।
परमेश्वरले मानिसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो तर पृथ्वीमै खेतीकिसानी गर्नलाई राख्नुभयो (उत्पत्ति३:२३) । अब मानिसजाति दु:ख कष्टकोसाथ यस श्रापित भूमिमा नै रहनुपर्छ । परमेश्वरबाट पाएका ज्ञानबाट मानिसले संसारमा विभिन्न क्षेत्रमा जति नै विकाश गरेर उपलब्धि हाँसिल गरे तापनि कोराना भाइरस जस्ता रोहगरुको महामारी वा विपत्तिहरुले (भुँइचलो, सुनामी, क्यानसर, हिँसा, ज्वलामुखी लगाएत विभिन्ना विपत्तिहरु) मानिसलार्इ चुनौति दिँदैछन् । मानिसले सबै समस्याको समाधान खोजे तापनि समाधान गर्न नसकिने रहेछ भनेर यस महामारीले देखाएको छ।
किन यो कोरोना भाइरसलार्इ परमेश्वरले मार्नुभएन ? किन यहि समयमा नै यो महामारी फैलिएको होला ? यस्ता प्रश्नहरु सबैको मनमा छन् । हामीमा भएको सीमित ज्ञानले सिद्ध परमेश्वरको योजनाको बारेमा सबै ब्याख्या गर्न असम्भव नै छ । यशैयाद्वारा परमेश्वरले भन्नुभयो, “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्, परमप्रभु घोषणा गर्नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अग्ला छन् ” (यशैया ५५:८-९) । अहिलेको अवस्थामा कोरानाभइरसको कारण खोजेर ‘परमेश्वरले के गरिरहनुभएको छ ?’ र ‘किन गरिरहनुभएको ?’ भनेर ब्याख्या गरिरहनु भन्दा परमेश्वरलार्इ नै अझै खोज्न र उहाँको बारेमा जान्नु नै उत्तम देखिन्छ ।
बाइबलमा केहि उदाहरणहरुलार्इ हामीले विचार गर्छौँ भने विपत्ति वा संकटको अनुभव गरेका ब्यक्तिहरुले परमेश्वरलार्इ तिरस्कार गरेनन् तर उहाँको सार्वभौमिकता, पापमय संसार (दु:ख, कष्ट, मृत्यु) को वास्तविकता र परमेश्वरले दिनुहुने आशालार्इ स्विकार गरेका थिए । केहि उदाहरणहरु हामी तल हेर्नेछौँ ।
हामीलार्इ थाहा छ कि अय्युबमाथि ठूलो बज्रापात पर्यो। उनीमाथी एकपछि अर्को विपत्ति यसरी आइलाग्यो; उनका गोठालाहरु तरवारले प्रहार गरेर मारिए (अय्युब १:१५), स्वर्गबाट आगो झरेर झरेर भेडाहरू र गोठालाहरूलाई भस्म पार्यो (अय्युब १:१६), कल्दीहरूले ऊँटहरू आक्रमण गरी लगे र नोकरहरूलाई तरवारले मारे। (१७), अनि सबै छोराछोरीहरु घर ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो (अय्युब १:१८-१९) । तैपनि त्यतिबेला “यो सुनेर अय्यूब उठे, र तिनले आफ्नो लुगा च्याते। उनले आफ्नो कपाल खौरे, र भुइँमा घोप्टो परेर दण्डवत् गरे, अनि भने: ‘म आफ्नी आमाको गर्भबाट नाङ्गै आएँ, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो; परमप्रभुको नाउँ धन्यको होस्।’ यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्” (अयुब १:२०-२२)। अन्तमा ती विपत्तिहरुको अनुभव संगाल्दै अय्युबले परमेश्वरलको बारेमा भने, “तपाईं सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन” (अय्युब ४२:२) ।
भनजसंग्रहमा लेखकले परमेश्वरको सार्वभौमिकताको बारेमा यसरी बताउँछ, “स्वर्गमा, पृथ्वीमा, र समुद्रहरू र तिनका गहिराइमा परमप्रभुले आफ्नो इच्छाबमोजिम गर्नुहुन्छ” (भजनसंग्रह १३५:६)।
त्यसैगरि बेबिलोनका राजा नबूकदनेसरलार्इ परमेश्वरले भन्नुभएझै उनी सात वर्षसम्म “मानिसहरुबाट धपाइए र गाईबस्तुले झैँ घाँस खान थाले । उनको रौँ चीलका प्वाँखजस्तै र उनका नङहरू चराका नङ्ग्राहरूजस्तै नहोउञ्जेल उनको शरीर आकाशको शीतले भिज्यो” । उनको होश खुलेपछि उनले नम्र भएर परमेश्वरको सार्वभौमिकतालार्इ स्वीकार गरि उनले भने, “पृथ्वीका सबै बासिन्दाहरू शून्यसरह [केही होइनन्] गनिन्छन्। आकाशका गणहरूलाई र पृथ्वीका बासिन्दाहरूलाई उहाँले आफ्नो इच्छा अनुसार गर्नुहुन्छ। कसैले पनि उहाँको हात रोक्न सक्दैन, वा ‘तपाईंले के गर्नुभयो’ भनी कसैले पनि सोध्न सक्दैन” (दानियल ४:३५) ।
परमेवरको योजना र इच्छालार्इ कसैले पनि विफल गर्न सकिँदैन । यो कोरोना भाइरस महामारीको नियणत्रण पूर्णरुपमा परमेश्वरकै हातमा छ । परमेश्वरले चाहनुभयो भने जति बेला पनि रोक्न सक्नुहुन्छ । हामीले चाहेको समयमा हामीले सोंचेको जस्तो नहोला । तर उहाँले आफ्नो समयमा पूर्णरुपले नियणत्रण गर्नुहुनेछ। तसर्थ परेश्वरमा नै हाम्रो आशा छ भन्ने कुरा तलको खण्डबाट थाहा पाइन्छ ।
उत्पत्ति ३ अध्यायमा उल्लेख भए अनुसार पापले मृत्यद्वारा मानिसमा राज्य गर्यो । यसको परिणाम मानिसजातिले भोक्नु परे तापनि परमेश्वरको अनुग्रहले उहाँलार्इ विश्वास गर्नेहरुलार्इ धर्मी ठहराएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामीले अजम्मरी जीवन पाएका छौँ (रोमी ५:२१) । त्यसर्थ, हाम्रो दु:ख र पिडा तथा मृत्यसम्मकै अनुभव गरेर मृतकबाट बौरीउठनुभएका येशूलार्इ यो कोरोना भाइरस महामारीको अवस्था राम्रोसँग थाहा छ । अब हामी “हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं . . . ” (हिब्रु १२:२), किनकि हाम्रो आशा उहाँमा मात्र छ । यो आशाले हामीलार्इ निराशा बनाउँदैन किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ (रोमी ५:५) । उहाँलार्इ विश्वास गर्नेहरुले चिन्ता गर्नुपर्दैन कनिकि भाइरसले आक्रमण गरेपनि वा नगरेपनि, मरे पनि वा बाँचे पनि हामी परमेश्वरकै साथाम हुन्छौं (१थेस्लोनिकी ५:९-१०) । पावलले भनेझैं ” यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ” (२ कोरिन्थी ४:१६-१७) ।
निष्कर्ष
संसार अहिले कोरोना भाइरस (कोभिड-१९) ले गाँजिएको अवस्थामा छ । यससँग लडन मानिसहरुले धेरै उपायहरु लगाउँदैछन् । मानिसमा डर र नैरश्यता छाएको छ । यस्तो परिस्थितीमा हामी धैर्यधारण गरि सकरात्मक सोँचमा बसौं । सरकारले तोकेको मापदण्डहरुलाई पालन गरौं । अनि बाइबलको सत्यतालाई अंगालेर यस्तो विषम परिस्थितीमा पनि परमेश्वरको सार्वभौमिकता, पापमय संसार (दु:ख, कष्ट, मृत्यु) को वास्तविकता र परमेश्वरले दिनुहुने आशालाई स्विकार गरौँ ।
[1] Leligdowicz, A., Fischer, W. A., Uyeki, T. M., Fletcher, T. E., Adhikari, N. K., Portella, G., ... & Vanderschuren, A. (2016). Ebola virus disease and critical illness. Critical Care, 20(1), 217. [2] Jeannette Guarner, MD, Three Emerging Coronaviruses in Two Decades: The Story of SARS, MERS, and Now COVID-19, American Journal of Clinical Pathology, Volume 153, Issue 4, April 2020, Pages 420–421 [3] Fuchs, M. H. (2020). The US-China coronavirus blame game is undermining diplomacy | Opinion | The Guardian. https://www.theguardian.com/commentisfree/2020/mar/31/us-china-coronavirus-diplomacy [4] "Wuhan pathogen biologist addresses six conundrums about deadly novel coronavirus". By GT staff reporters Source: Global Times Published: 2020/2/16 20:08:40 [5] Henrique, M. (2020). Will Covid-19 have a lasting impact on the environment?. https://www.bbc.com/future/article/20200326-covid-19-the-impact-of-coronavirus-on-the-environment [6] John Lennox. Where is God in a Coronavirus World? (Kindle Virsion). The Good Book Company.
Discussion about this post