धरान / नेपाल राष्ट्रिय मण्डली संगति (एन.सि.एफ नेपाल) ले आस्थाका जीवित शहिदहरूलाई धरान स्थित विजय चर्चमा सम्मान गरेको छ ।
प्रभु येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनि विश्वास गरेकै कारण जबरजस्ती धर्म परिवर्तनको अभियोग लगाई तत्कालिन क्रुर पञ्चायती शासकहरूले मानवीयताको धज्जी उडाउँदै यातना दिएर धरानको बसन्तटारस्थित विजय चर्चका बरिष्ठ पास्टर जब्बरध्वज राई लगायतका २४ जनालाई बि.सं. २०३७, २०४१ र २०४६ सालमा पक्राउ गरी अमानवीय रुपमा जेल चलान गरेको थियो ।
एउटै मण्डलीका यति धेरै संख्यामा जेल सजाय भोगेर पनि विश्वासलाई बचाई राख्ने विश्वासीहरूको कथा व्यथा थुप्रै रहेको बरिष्ठ पास्टर राईले बताउनुभयो ।
बि.सं.२०४६ साल पौष ५ गते मण्डलीका जवानहरूसँग ख्रीष्टमसको क्यारोल खेल्न गएका नवबिवाहित जोडी कुमार राई र कुमारी राई लगायत १६ जना युवाहरूलाई एकै पटक प्रहरीले पक्राउ गरी धर्म परिवर्तनको झुठो मुद्धा लगाई तत्कालिन शासकले कारागार चलान गरेको थियो । कुमारी राई त्यति बेला गर्भवती अवस्थामा थिइन क्रुर पञ्चायती शासकले यातना दिएर उनको श्रीमानलाई धनकुटा कारागारमा र उनलाई विराटनगरस्थित महिला कारागारमा राखेका थिए । कैदी अवस्थामा नै कुमारीले एउटी सुन्दर बालिकालाई जन्म दिईन जसको नाउँ सम्झना राखिएको थियो । कुमारीले गहभरि आशुँ पार्दै भनिन्, ‘त्यो बेला सरकारले सुत्केरी खर्च स्वरुप ५ किलो घिऊ, मरमसला, तेल, मसिना चामल र कुखुराको भाले किन्न दिएको थियो, ‘म त्यो बेला घरमा रहेकी भए यस्तो उच्चकोटीको खाना पाउँदिन थिएँ, कारण मेरो त्यो बेलाको आर्थिक स्थिति नाजुक थियो, ‘सबै कुरा मिलाएर परमप्रभुले मलाई प्रेम गर्नेहरूलाई भलाईमा नै परिणत गर्नुभयो ।’
एन.सि.एफ नेपालका अध्यक्ष रेभ. हनोक तामाङले जिवित आस्थाका बन्दीहरूकै कारणले यो देशमा आशिष् आएको बताएका छन् । ‘तपाईंहरू यो देशको अमुल्य सम्पत्ति हुनुहुन्छ . तपाईंहरू जस्तो आस्थाका नायकहरूलाई सम्मान गर्न पाउँदा हामी गौरवान्भित भएका छौं’ उनले भने ।
२०४६ सालमा पक्राउ परेका १६ जनालाई २०४७ सालको नयाँ संविधानको घोषणा संगै रिहाई भएका थिए भने अन्य विश्वासीहरूले छोटो अवधिमै रिहाई पाएका थिए । यसरी आस्थाका आधारमा जेल सजाय भोग्ने नायकहरू एल्डर चन्द्र राई, वरिष्ठ पाष्टर जब्बर ध्वज राई, डिकन रण बहादुर राई, सप्तकुबिर राई, गणेश बहादुर राई, किर्तिमान राई, पास्टर चित्र राई, सहपास्टर धन बहादुर राई, एल्डर रमेश राई, कमल खत्री, ज्ञानु खत्री, धन कुमार राई, प्रकाश मगर, गोविन्द राई, कुमार राई, कुमारी राई, कमला राई, शुभवती राई, गोरी माया राई, रत्न कुमार राई, स्व. दिपा राई हुनुहुन्छ ।
Discussion about this post