पोखरा १५, टुटुंगा
यही असोज ३ गते टुटुंगास्थित सिर्जनशील बालविकास कार्यक्रम (सी.सि.डि.पी.) को छैटौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अष्टेलियन नागरिक रोविन मार्क कम्बेल, कास्की जिल्ला बाल कल्याण केन्द्रीय समितिका सदस्य डा. राजेन्द्र गौतम, संस्थाका अध्यक्ष धनु गिरी, प्रमुख अतिथि वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले बोलेका थिए। डा. राजेन्द्र गौतमले बालबालिकाको क्षेत्रमा सी.सी.डी.पी. ले गरेको पारदर्शी र जवाफदेही कामबाट आफू निकै प्रभावित भएको बताए। विधवा, अनाथ, गरिब अनि बेसहाराहरुको सेवा गर भन्ने आस्थाको निर्देशनअनुसार संस्था चल्न सकेकोमा खुसी व्यक्त गरे। त्यस्तै वडाध्यक्ष प्रकाश पौडेलले सिर्जनशील बालविकास कार्यक्रमलाई आफूले नजिकबाट देखेको बताउँदै यस संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।
सिर्जनशील बालविकास कार्यक्रमका संस्थापक निर्देशक शंकर पन्थले संस्थाको परचिय दिँदै संस्थाको उद्देश्य गरिबीको कारण अफ्नो घर परिवारले पढ्न पठाउन नसकेका बालबालिकाहरुलाई औपचारिक शिक्षा आर्जन गर्न सहायता पुर्याउनु भएको बताए। संस्थाको उद्देश्यमाथि थप प्रकाश पार्दै उनले भने— “स्थापना कालदेखि नै संस्थाको उद्देश्य आर्थिक विपन्नताको कारणले वा अन्य कारणले घरमा रहेर स्कूल जानको लागि आवश्यक शैक्षिक सामग्री, विद्यालय पोशाक र अन्य शैक्षिक शुल्क उपलब्ध गराई पढ्न जान अभिप्रेरित गर्ने र परिवारले संरक्षण दिन नसकेका र परिवार भएर पनि स्कुल पढ्न जान नसक्ने बालबालिकाहरुलाई आवासीय सहायता उपलब्ध गराई शिक्षा आर्जन गर्न सहायता पुर्याउने उद्देश्यबाट प्ररिति भएर हामी काम गरिरहेका छौं।” संस्थाकी कार्यालय व्यवस्थापक विष्णु पन्थका अनुसार यस संस्थाले स्थापना कालदेखि हालसम्म देशका विभिन्न २१ वटा जिल्लामा २५१ जना बालबालिकाहरुलाई शिक्षा आर्जनको लागि सहयोग पुर्याएको छ जसमध्ये ३२ जना बालबालिकाहरुले आवासीय सहायता पाउन सकेका छन् र ८ जना बालबालिकाहरुले एस.ई.ई.÷एस.एल.सी. सकेर उच्च तहको शिक्षा हासिल गर्ने क्रममा रहेका छन्। केही भने आफ्नो खुट्टामा उभिएर जीवन सञ्चालन गर्ने भइसकेका छन्।
सिर्जनशील बालविकास कार्यक्रमको स्थापना अनौपचारिक रुपमा सन् १९९९ अर्थात् २०५६ सालमा ३ जना आर्थिक विपन्न परिवारका बालबालिकाहरुलाई पढ्नका लागि आंशिक छात्रवृत्ति प्रदान गरेर सुरु गरिएको थियो। औपचारिक रुपमा २०६९ साल चैत्र १८ गते विधिवत रुपमा दर्ता कार्य पूरा गरी आफ्नो लक्ष्यमा अगाडि बढिरहेको छ। संस्थाको बालगृहमा हाल १६ जना बालबालिकाहरु कक्षा ३ देखि प्लस टु सम्मको अध्ययनमा छन्।
कमल पोखरेली
Discussion about this post