-भुवन देवकोटा,
अचेल येशूलाई विश्वास नगर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले जानी वा नजानी विभिन्न तरिकाले र विभिन्न आक्षेपहरू लगाउँदै ख्रीष्टियानहरूलाई गाली गर्ने कुरा बढ्दैगएको कुरा हामी सबैलाई थाहा छ । त्यसरी लगाएको हरेक आरोपलाई जवाफ दिनुपर्छ भन्ने धारणा राख्ने केही अपरिपक्व र चञ्चल ख्रीष्टियान दाजुभाइ तथा दिदीबहिनीहरूले त्यस्ता आरोपहरूको जवाफ तुरुन्तै दिएका कुरा पनि हामीले देखेकै छौं ।
फेसबुक, पत्रपत्रिका वा अन्य माध्यमबाट आएका हरेक आरोपहरूको प्रतिउत्तर कुनै सभ्य, सरल र मननीय छ भने कतिचहिं तथ्यपूर्ण र अनुग्रहसहितको भन्दा पनि तत्कालको आवेश शान्त पार्ने खालको मात्रै देखिन्छ । मानिसहरूको सबै आरोपको जवाफ दिँदै हिँड्न थाल्यो भने हामीले प्रेम र सम्बन्धलाई गुमाउने सम्भावना हुन्छ । येशूले तिमीहरूलाई सताउनेहरूको लागि प्रार्थना गर र खेदो गर्नेहरूलाई आशिष् देओ, नसराप भन्नुभयो । हामीले गम्भीर भएर विचार्नुपर्छ कि कसैले हामीलाई लगाएको झुटो आरोपको सिधै त्यस्तो जवाफले येशूको वचनलाई पूरा गर्दैन । सायद कति पटक सही समयमा दिइएको बुद्धिमानी जवाफले मानिसलाई कुरा बुझ्न मद्दत गर्ला । तर विचार नपुर्याई भावावेशमा दिइएको जवाफले कुरा सल्ट्याउनेभन्दा पनि कुरा बिगार्न सक्छ ।
बाइबलले हामीलाई सतावटको सामना गर्नुपर्छ भन्ने प्रतिज्ञा गरेको छ । येशू र उहाँका चेलाहरूको जीवनबाट यो प्रमाणित भएको छ । त्यसकारण कुनै कुरा गर्नुअघि विचार गरौं, प्रार्थना गरौं, सल्लाह गर्ने बानी गरौं । हामीलाई सताउनेहरूको विरोध गर्ने होइन, तिनीहरूको लागि प्रार्थना गर्ने बानीको विकास गरौं ।
हिब्रू ११ः३६–३८ः अरूहरूले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नुपर्यो । तिनीहरूलाई ढुङ्गाले हाने । तिनीहरू करौँतीले चिरिए । तिनीहरू तरवारले मारिए । भेडा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँडें । संसार तिनीहरूका निम्ति योग्यको थिएन । मरुभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरूहुँदो तिनीहरूलाई घुमिहिँड्नुपर्यो ।
Discussion about this post