सिर्जनाचोक, पोखरा।
यही माघ १२ गते सिर्जनाचोकस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा पोखरेली ख्रीष्टिय समुदायको सामाजिक शाखा असल छिमेकी नेपालले आफ्नो चौथो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। असल छिमेकी नेपालका अध्यक्ष भरतबहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कास्की क्षेत्र नं. ३ प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा प्रमुख अतिथि थिए। कार्यक्रमको सहजीकरण नेष्टका कार्यकारी निर्देशक कृष्णप्रसाद अवस्थीले गरेका थिए। कार्यक्रममा जिल्ला शिक्षा कार्यालय गोरखाबाट जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी, पोखरालेखनाथ महानगरपालिकाका वरिष्ठ सामाजिक शाखा अधिकृत ओमराज पौडेल, जिल्ला प्रशासन कार्यालय कास्कीका अनिल शाही, सरावल गाउँपालिका नवलपरासीकी उपाध्यक्ष उत्तमा राय, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु गुप्ता लगायतको अतिथिहरु थिए।
सरावल गाउँपालिका नवलपरासीकी उपाध्यक्ष उत्तमा रायले असल छिमेकी नेपालले राहत वितरण प्रणालीबाट आफू प्रभावित भएको बताइन्। त्यस्तै पोखरालेखनाथ महानगरपालिकाका वरिष्ठ सामाजिक शाखा अधिकृत ओमराज पौडेलले देश धर्मनिरपेक्षताको अभ्यासमा रहेकाले कसैले पनि अप्ठेरोमा पर्नुनपर्ने तर सबैले धर्मभन्दा माथि उठेर काम गर्नुपर्ने बताए। प्रमुख अतिथि माननीय जगत विश्वकर्माले चाहे जोसुकै होऊन् राम्रो काम गर्नेलाई उत्साहित गर्नमा कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे। उनले असल छिमेकी नेपालले सामाजिक सेवाको क्षेत्रमा पुर्याएको योगदान प्रशंसा गर्दै यसरी नै अगाडि बढ्न शुभकामना पनि दिए।
कार्यक्रममा बोल्दै असल छिमेकी नेपालका अध्यक्ष भरतबहादुर गुरुङले संस्थाको परिचय उद्देश्यमाथि प्रकाश पारे। कार्यक्रममा असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले धन्यवाद ज्ञापन गर्दै सबैको साथ र सहयोगले संस्था यहाँसम्म आइपुगेको बताए। लक्षित वर्गको उत्थानमा कसरी उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने बारेमा आफूहरु सचेत रहेको कुरामा उनले जोड दिएका थिए।
पोखरेली ख्रीस्टिय समुदायले गरी आएका सामाजिक सेवाका कामहरुलाई संस्थागत रुपमा अगाडि बढाउन २०५९ सालमा स्थापित असल छिमेकी नेपालले जीविकोपार्जन तथा सशक्तीकरण कार्यक्रम, स्वास्थ्य सचेतना कार्यक्रम र नवजीवन उपचार तथा पुनस्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
Discussion about this post