पृष्टभूमि:
ख्रीष्टमा हाम्रो उत्तराधिकार के हो? प्रेरित पावलद्वारा एफिसीहरूलाई लेखिएको पत्रमा यस विषयमा चर्चा गरीएको छ। ख्रीष्टमा रहेको हाम्रो उत्तराधिकार नै हाम्रो भविष्य हो र यो धेरै महत्त्वपूर्ण कुरा हो। ख्रीष्टमा परमेश्वर पिताले राख्नु भएको हाम्रो भविष्य धेरै महिमित पनि छ। यस बारे रोमी ८:१८ मा पावलले भन्छन्, “ म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्।“
हरेक विश्वासीले आफ्नो उत्तराधिकारको विषयमा प्रष्ट गरी बुझ्न आवश्यक भएकोले यस विषयलाई यस लेख द्वारा बुझाउने प्रयास गरीएको छ।
प्रेरित पावल र एफिससको मण्डली:
सुसमाचार प्रचारको क्रममा पावल पहिलो पटक छोटो समयको लागि मात्र एफिसस गएका थिए, जस्तो लेखिएको छ: ‘तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे। तब उनीहरूले तिनलाई अझ केही दिन बस्ने बिन्ती गर्दा तिनले इन्कार गरे। उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्वरको इच्छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए (प्रेरित १८:१९-२१)।“ पछिबाट पावल पुन: एफिसस पुगेर पूरा दुई वर्ष परमेश्वरको राज्यको सुसमाचार प्रचार गरी बसे र त्यस मण्डलीको स्थापना गरे। (प्रेरित १९:१-१२)
मण्डलीलाई उत्साह दिने हेतुले एफिसीहरूलाई लेखिएको पत्रमा पावलले ख्रीष्टमा मण्डलीको स्थान, बोलावट र वर्तमानमा मण्डलीलाई परमेश्वरको असीम अनुग्रहमा दिईएको अधिकार र भविष्यको आशाको विषयमा विस्तारमा चर्चा गरेका छन्। यसैकारण यस पत्रलाई मण्डलीको “मैग्ना कार्टा” वा “मैग्ना चार्टा” अर्थात् मण्डलीको अधिकार को घोषणा पत्र भनिन्छ। यस पत्रमा ख्रीष्टमा रहेको हरेक विश्वासीको अधिकार के हो? प्रष्ट बताइएको छ र यसै क्रममा ख्रीष्टमा हाम्रो उत्तराधिकार के हो, हरेक विश्वासीलाई बुझाइएको छ।
पाठ : एफिसी १: १४
“ परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ (एफिसी १:१४)।
हाम्रो नियुक्ति:
प्रत्त्येक विश्वासीको निम्ति परमेश्वरको योजना सृष्टि भन्दा अघिनै आरम्भ भएको छ। हामीलाई चुन्नेकाम, बोलाउने काम र पुत्रत्त्वको लागि नियुक्त गर्नेकाम परमेश्वर पिताले समयको आरम्भ वा सृष्टी आरम्भ हुनु भन्दा अघिनै गरी सक्नु भएको छ। यसको कारण के हो भने उहाँले आफ्नै सिद्ध इच्छामा हामीलाई हरेक आत्मिक आशिषले पहिले नै आशिर्वाद दिई सक्नु भएको छ। त्यही सिद्ध इच्छा र ख्रीष्ट येशूको प्रेममा हामीलाई अर्थात् येशूमा विश्वास गरी उद्धार पाउनेहरूलाई आफ्नो सन्तान (धर्म पुत्र वा पालिएको पुत्र) हुनको लागि नियुक्त गर्नु भएको छ।
सृष्टीको आरम्भमा परमेश्वरको योजना सम्पूर्ण मानव जातिलाई आफ्नै स्वरुपमा सृष्टी गर्ने हो, तर यो एकै क्षणमा, सृष्टीको रचना भए जस्तै हुने काम हैन। परमेश्वर पवित्र र सिद्ध हुनु हुन्छ, मानिसलाई पनि पवित्र र सिद्ध बनाउने उहाँको लक्ष्य हो। यसको प्रकृया छ र समय लाग्छ। यस प्रकृयालाई अघि बढाउने क्रममानै आदमको अनाग्याकारिता द्वारा सन्सारमा पाप र मृत्युको प्रवेश भयो र मानिस पाप स्वभाव लिएर जन्मिन थाले, साथै सबैमा मृत्यु व्याप्त भयो। परमेश्वरकै योजना अनुसार समय पूरा भए पछि येशू यस सन्सारमा आउनु भयो। उहाँको आगमन संगै यस सन्सारमा परमेश्वरको राज्य आरम्भ भयो र संगै अनुग्रहको युग पनि। उहाँको मृत्यु र पुनरुत्थान पछि विश्वास गर्ने हरेकको निम्ति उद्धार वा मुक्तिको ढोका खोलियो। एवम् रीतिले प्रभु येशूमा विश्वास गरी उद्धार पाउने हरेक लाई परमेश्वरको सन्तान हुने अधिकार सहितको योग्यता निर्धारित गरीएको छ। “ तर जतिले उहाँलाई (अर्थात् येशूलाई) ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन् (यूहन्ना १:१२, १३)।“
पूर्ण उद्धार:
एफिसी पहिलो अध्यायको १४ पद गागरमा सागर हो। यस पदमा हाम्रो पूर्ण उद्धारको कुरा गरीएको छ, साथै पूर्ण उद्धार पाएको विश्वासी परमेश्वरको सम्पत्ति हुन् भन्ने कुरा पनि देखाइएको छ र यो हाम्रो उत्तराधिकार पनि हो, भनीएको छ। यसले के देखाउँछ भने एकातिर हाम्रो पूर्ण उद्धार अर्थात् आफ्नो सम्पत्तिको लागि परमेश्वर स्वयम् पर्खी राख्नु भएको छ, अर्को तिर हरेक विश्वासीको लागि यो पूर्ण उद्धार हाम्रो उत्तराधिकारको रूपमा आफै महत्त्वपूर्ण छ।
येशूमा विश्वास गरी उहाँलाई आफ्नो उद्धारकर्ता स्वीकार गर्दा हामीले उद्धार पाएका छौं। तर त्यो पूर्ण उद्धार हैन, पूर्ण उद्धार पाउन बाँकी छ। यस कारण ख्रीष्टमा विश्वास गर्ने हरेकले जब सम्म पूर्ण उद्धार प्राप्त गर्दैन तब सम्मकोलागि पवित्र आत्मा हाम्रो लागि पिताले दिनु भएको बैना हुनु हुन्छ।
हामीले हाम्रो पूर्ण उद्धार के हो र पूर्ण उद्धार कसरी प्राप्त गर्ने, यस विषयमा पनि चर्चा गर्ने छौं तर पहिले उत्तराधिकारको विषयमा चर्चा गरौं।
उत्तराधिकार के हो?
यस संसारमा साधारणतया माता पिताको शेष पछि पैत्रिक सम्पत्तिमा जीवित सन्तानले स्वत: पाउने अधिकार उत्तराधिकार हो। यो सम्पत्ति पुर्खाले आर्जन गरेका हुन्छन्।, अधिकार पाउने सन्तानको योगदान हुन पनि सक्छ, नहुन पनि सक्छ। तर आवश्यक छैन। यसको लागि एउटै आधारभूत योग्यता आवश्यक छ, त्यो हो आमा बुवाको आफ्नै सन्तान वा कानुनीरूपमा स्वीकार गरीएको धर्मपुत्र हुनु पर्छ। आफ्नो सन्तान अथवा कानुनी रूपमा स्वीकार गरीएको धर्मपुत्रले पुर्खाको स्वमित्त्वमा रहेको चल अचल सम्पत्तिमा आमा बुवाको शेष पछि स्वत: आफ्नो हक पाउन्छ। उदाहरणको लागि २०३१ साल मा मेरो बुवाको देहान्त भयो। मेरो बुवाले आर्जन गरी जम्मा गर्नु भएको सबै चल अचल सम्पत्तिमा बुवाको उत्तराधिकारीको रुपमा हामी दुई दाज्यु भाईले केही औपचारिकता पूरा गरे पछि अधिकार पायौं । यो अधिकार स्वत: पाईने हो, तर यसको लागि सन्तान नै हुनु पर्छ। उत्तराधिकार पाउनका लागि हामीले कुनै परीश्रम गर्नु वा पसीना बगाउनु परेन ! सन्तान भएकै कारण सो सम्पत्तिमा हाम्रो हक कायम भएको हो।
त्यस्तै किसिमले हाम्रो प्रेमिलो परमेश्वर पिताले नै आफ्नो प्रेममा हामी माथि प्रशस्त अनुग्रह गर्नुभएको छ र हाम्रो निम्ति सबै काम गरी दिनु भएको छ। हामीलाई ख्रीष्टमा आशिर्वाद दिएर आफ्नो सन्तान हुन अघिबाटै नियुक्त गर्नु भएको छ। हामीले परमेश्वरको राज्यको सुसमाचार सुन्यौं, त्यस पछि आफ्नो पापलाई स्वीकार गरी ती सबै पाप बाट पश्चाताप गरेर येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत उद्धारकर्ता स्विकार गर्यौं, र पाप क्षमा पायौं। त्यो गर्न बित्तिकै हामी उहाँको सन्तान हुने अधिकार पायौं, जसरी लेखिएको छ, “तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्।“ (यूहन्ना १:१२-१३)
परमेश्वरको सन्तान हुनका लागि हामी भित्र कुनै असल गुण, विशेष योग्यता, क्षमता वा हामी विशेष वंशबाट जन्मिएको हैन। येशूमा विश्वास गरी परमेश्वरको राज्यमा नयाँ गरी जन्मिने हरेक व्यक्तिको लागि यो परमेश्वर पिताको योजना र उद्देश्य हो। सबै उहाँको इच्छा अनुसार उहाँको आफ्नै महिमाको लागि उहाँ आफैले गर्नु भएको काम हो। मानिसको रूपमा हाम्रो लागि सब भन्दा राम्रो के हुन्छ भने पिताले हामीलाई गर्नु भएको प्रेम र आफ्नै प्रशस्त अनुग्रहमा हाम्रो लागि जे सर्वोत्तम भविष्य तैयार गर्नु भएको छ, त्यसलाई नम्रतामा स्वीकार गर्ने र कृतग्य हुने। किनभने हामी जस्ता छौं, उहाँले हामीलाई त्यस्तै अवस्थामा प्रेम गर्नु भएको छ र स्वीकार गर्नु भएको छ, आफ्नो सन्तान हुने अधिकार दिनु भएको छ र उत्तराधिकारी ठहर्याउनु भएको छ।
उत्तराधिकारको बैना:
कुनै पनि सम्पत्ति खरीद बिक्री गर्दा पूर्ण रकम भुक्तानी हुन वा गर्न न सक्ने अवस्थामा खरीदकर्ताले तिर्नु पर्ने रकमको केही भाग बैनाको रुपमा दिने प्रचलन छ। सो बैनाको रकम निर्णय भएको खरीद बिक्रीलाई पक्का गराउनका लागि हो। पूर्ण भुक्तानी न भएपनि बैना लेनी देनी भएपछि सो खरीद बिक्री फेर बदल वा बदर हुन वा गर्न हुँदैन, मिल्दैन र सकिंदैन। हामी परमेश्वरका सन्तान ठहर्याइएका कारण उहाँको सबै सम्पत्तिमा हामी ख्रीष्ट संगै साझे हकवाला ठहर्याइएका छौं। तर हाम्रो उत्तराधिकार पाउने समय अझ आई सके को छैन, भविष्यमा सो समय पूरा हुन्छ। तब सम्म यो कुरालाई पक्का गराउनका लागि हामीलाई बैनाको रुपमा पवित्र आत्मा दिईनु भएको छ। यसकारण बैना पाएको कारण हामीले हाम्रो उत्तराधिकार पाउने कुरामा शंका गर्ने कुनै कारण छैन। अहिले बैना, भविष्यमा पूर्ण भुक्तानी।
हाम्रो उत्तराधिकारको किसिम:
यो अदृश्य किसिमको हुनेछ:
यो उत्तराधिकार कुनै भौतिक धन सम्पत्ति वा चल अचल सम्पत्ति सित सम्बन्धित छैन, यो त अनन्त जीवन सित जोडिएकोले यो अदृश्य किसिमको छ। वास्तवमा हाम्रो उत्तराधिकार मात्र हैन, हाम्रो सम्पूर्ण भविष्य नै अदृश्य अवस्थाको हो। यस विषयमा पवित्र आत्मा बाट पावलले प्रकाश पाएर भने, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।” (१कोरिन्थी २:९)
अदृश्य अवस्थाको आफ्नै महत्त्व छ। दृश्य कुरा जति सबै यस भौतिक संसार सित सम्बन्धित छन् र ती सबै क्षणिक हुन्छन, अर्थात् ती केही समयको लागि मात्र हुन् तर अदृश्य कुरा नष्ट न हुने, अनन्तको लागि वा सदा सर्वदाको लागि हुन्छन्। हामीले आफ्नो आँखाले जे जति भौतिक कुरा हेर्न सकेका छौं, सबै एक दिन नष्ट हुने छन् तर जुन कुराहरू शरीरको आँखाले हेर्न न सकिने छन, तीनै कुराहरू सधैंको लागि अर्थात् नष्ट न हुने हुन्। “हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।(२कोरिन्थी ४:१८) यसकारण हाम्रो उत्तराधिकार सधैंको लागि हो।
हाम्रो उत्तराधिकार परमेश्वरको राज्यमा येशू संगै हाम्रो सहभागिता हो।
आखिरी भोज पछि येशूले चेलाहरू सित कुराकानी गर्दै यो कुरा भन्नु भएको थियो, “तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु, ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ।“ (लुका २२: २८-३०)
येशूको प्रथम आगमन परमेश्वरको राज्य यस सन्सारमा आरम्भ गर्नका लागि थियो भने उहाँको दोश्रो आगमन पिताको राज्य यस सन्सारमा स्थापना गर्नका लागि हुने छ। त्यस राज्यमा हामी पनि येशू संगै राज्य गर्नेहरू ठहर्याइएका छौं, साझे हकवालाको रुपमा! “ किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्छौं, त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो। र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी। उहाँसँग दु:ख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।“ (रोमी ८:१५-१७)
दुई किसिमको अन्धोपना / अदृश्य कुराहरूलाई हेर्ने दृष्टि
मत्तीको सुसमाचारको छैठौ अध्यायमा येशूले मनको अनधोपनाको कुरा गर्नु भएको छ। हाम्रो शरीरको आखाले हामीलाई यस सन्सारको जीवन- यात्रालाई विभीन्न कुराहरू, भौतिक सुन्दरताहरू र व्यावहारिक खतराहरूलाई देखेर सजिलो, आनन्ददायक र खतरामुक्त बनाई दिन्छ, यस जीवनको समयलाई सक्दो सदुपयोगी पार्न मद्दत गर्छ। यसको विपरीत शारीरिक रूपमा अन्धो व्यक्तिले बडो असुविधा र कष्टपूर्ण जीवन जिउन बाध्य हुन्छन्। त्यस्तै जो व्यक्तिहरूको मनको आखा अन्धो हुन्छ, तीनले त अदृश्य कुराहरूलाई कत्ति पनि ठम्याउन न सक्ने भएको कारणले त्यो अन्धोपना त झन् दुखद हन्छ। येशूले भन्नु भयो, “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ। तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ!” (मत्ती ६:२२,२३) येशू ख्रीष्टले आफ्नो सेवकाईको क्रममा धेरै रोगी बिरामीलाई चङ्गाई दिनु भयो र यसै क्रममा कत्ति अन्धाहरूलाई पनि दृष्टि प्रदान गर्नु भएको थियो। शरीरको आँखा महत्वपूर्ण अङ्ग हो र अति आवश्यक पनि। तर शरीरको आँखा भन्दा पनि मनको (भित्रको) आँखा देख्ने हुनु पर्ने बढी महत्तवपूर्ण छ, किनभने भित्रको अन्धोपनाको कारणले हामी स्वर्ग, अनन्त र परमेश्वरका कुराहरू देख्न (बुझ्न) सक्दैनौ। यसकारण परमेश्वर, स्वर्ग र अनन्त सित सम्बन्धित कुराहरू देख्न र बुझ्नका लागि प्रभु येशूमा गरिने विश्वास द्वारा हाम्रो मनको आँखा खोलिएको हुनु पर्दछ। यो नया जन्म पाउदा पवित्र आत्माले हाम्रो आत्मालाई पापको बन्धन बाट मुक्त गर्दा संग संगै हुन्छ। र त्यस पछि समर्पित र आग्याकारी जीवन शैली र परमेश्वरको वचन तथा प्रार्थना र सन्गति द्वारा मनको आँखा अझ चहकिलो हुँदै जानु पर्दछ।
हाम्रो उत्तराधिकार प्रष्ट गरी बुझ्नका लागि पनि हाम्रो मनको आँखा खोलिएको (हामीले नया जन्म पाएको) र चहकिलो पारिएको हुनु पर्ने आवश्यक छ, किनभने हाम्रो उत्तराधिकार यस सन्सारको भौतिक कुरा हैन तर अदृश्य र अलौकिक कुरा हो।
हाम्रो उत्तराधिकार क्रमिक हो:
हामीले पाउने उत्तराधिकारको अर्को महत्त्वपूर्ण विशेषता के हो भने हामीले यसलाई एकै चोटि सम्पूर्णरूपमा प्राप्त गर्न सक्दैनौ, किनभने परमेश्वरले हाम्रै सुविधाको लागि यसलाई क्रमैसित दिने निश्चय गर्नु भएको छ। येशूमा विश्वास गरेको कारण हामीलाई सन्तान हुने अधिकार दिइएको छ, सोही आधारमा ख्रीष्ट सित साझे उत्तराधिकारी ठहर्याइएका छौं र यसलाई फेर बदल नहुने (अपरिवर्तनीय) गरी पक्का गराउन पवित्र आत्मालाई बैनाको रूपमा हामीलाई दिइएको छ। तर हामीले यो उत्तराधिकार क्रमिकरूपमा प्राप्त गर्दै जानु पर्ने हुन्छ।
उत्तराधिकारको आरम्भ:
परमेश्वरले हाम्रोलागि के गर्नु भएको छ, हाम्रो समझमा अटाउँदैन। यो शत्प्रतिशत् उहाँकै योजना, उद्देश्य र सिद्ध ईच्छा अनुसार गर्नु भएको छ। एफिसीको पत्रमा हामीले आरम्भमै हेरेका छौ, हामी पवित्र र निष्कलङ्क होऔ भनेर सन्सारको उत्पत्ति भन्दा अघि बाटै पिताले हामीलाई चुन्नु भएको छ र आफ्नो सन्तान हुनलाई हामीलाई अघि बाटै नियुक्त गर्नुभएको छ। यसकारण हाम्रो उत्तराधिकार सन्सारको उत्पत्ति भन्दा अघिबाटै आरम्भ भएको छ। र परमेश्वर पिता स्वयम्ले यस्तो योजना गर्नु भएको छ। परमेश्वरको योजना बारे हामीलाई पहिले बाट जानकारी हुन सम्भव छैन। योत अनन्त सित जोडिएको कुरा हो र समय पूरा भएपछि पवित्र आत्मा द्वारा हामी प्रकाशको रूपमा थाह पाउँछौं।
पूर्ण उद्धार र मानिसको त्रिएकता :
हाम्रो पूर्ण उद्धार भनेको के हो? र हामीले कसरी हाम्रो पूर्ण उद्धार प्राप्त गर्नेहो यो बुझ्नको लागि संक्षेपमा हाम्रो व्यक्तित्वको त्रिएकता बुझ्नु पर्ने आवश्यक हुन्छ। हाम्रो बाहिरी स्वरूप हाम्रो शरीर हो, म यस शरीरमा वास गर्ने प्राणी हो र मेरो चेतनशीलता मेरो आत्माको कारणले हो। शरीर र प्राण सबै जीवित प्राणीको हुन्छ तर आत्मा मानिस मा मात्र । हामी हाम्रो व्यक्तित्वको तीनै भागको कार्यक्षेत्र हेरेर आफुलाई बुझ्ने प्रयास गर्ने छौं।
शरीर: शरीर हाम्रो व्यक्तित्वको बाहिरी, भौतिक र देखिने भाग हो। यस पृथ्वीमा बसोवास गर्न र व्यावहारिक जीवन व्यतीत गर्नका लागि हामीले शरीर पाएक छौ। शरीर मृत्युको अधीनमा छ, जसले गर्दा उमेर पुगे पछि यसको अन्त हुन्छ र माटोमा जान्छ। तर शरीरको कारणले नै हाम्रो लागि यस सन्सारमा बसोबास गर्न, यात्रा गर्न, परीवार स्थापित गर्न र सन्चालन गर्न सम्भव भएको छ। शरीरमा नै हामीले कति आनन्दको अनुभव गर्छौ, नाना थरी भोजनको स्वाद लिन्छौ र सन्तान उत्पादन हुन्छन्। तर यसको समस्या के छ भने यसमा पाप स्वभाव गासिएको छ जो शरीरको न देखिने अन्श हो। शरीरको कार्यक्षेत्र पाच ग्यानेन्द्रीयमा सिमित छ, दृष्टी, श्रवण, स्पर्श, सूघने र स्वाद। यी पाच ग्यानेन्द्रीय शरीरको मुख्य कार्य क्षेत्र र सिमा रेखा हुन्।
प्राण: प्राण हाम्रो शरीरमा वास गर्ने प्राणी हो। प्राणको मृत्यु हुन्दैन, यसकारण हाम्रो प्राणनै हाम्रो व्यक्तित्वको मुख्य भाग हो। प्राण देखिन्दैन तर यसले शरीरको माध्यम बाट आफ्नो भावनाहरू व्यक्त गर्दछ। हाम्रो प्राणको कार्य क्षेत्र मन (समझ), ईच्छा (निर्णय गर्ने केन्द्र) र भावनाहरू हुन्। हाम्रो प्राणले समय पूर्ण भए पछि शरीरलाई छोडेर जान्छ, जसलाई मृत्यु भनिन्छ।
आत्मा: हाम्रो व्यक्तित्वको तेश्रो र महत्वपूर्ण भाग आत्मा हो। हाम्रो आत्माले नै हामीलाई चेतनशील प्राणी बनाउँछ। प्राण र आत्मा बीचको भिन्नता प्रष्ट पार्न सकिन्छ तर दुवैलाई छुट्याउन सकिन्दैन। प्राणले शरीरलाई छोड्दा आत्माले पनि सङ्गै शरीरलाई छोडेर जान्छ। दुवैको कार्यक्षेत्र फरक रहेकोले भिन्नता हेर्न सजिलो छ। हाम्रो आत्माले काम गर्ने क्षेत्र विवेक, प्रकाश र पूर्वाभास हुन्।उद्धार न पाएको व्यक्तिको आत्मा त्यस व्यक्तिले गरेको पापहरूको बन्धनले बाधिएको कारणले निष्कृय रहन्छ र यस्ता व्यक्तिहरूको विवेकले ठीक र बेठीक के हो, छुट्याउन सक्दैन, पवित्र आत्माबाट कुनै किसीमको प्रकाश पाउदैन र पूर्वाभास् पनि पाउदैन।
आत्माको उद्धार:
जब कुर्नै व्यक्तिले आफ्नो पाप क्षमाको लागि प्रभु येशू मा विश्वास गर्छ र उहाँलाई आफ्नो उद्धारकर्ता स्वीकार गर्छ, त्यतिबेलानै पवित्र आत्माले त्यसको हृदयमा या आत्मामा काम गर्नु हुन्छ र आत्मा पापको बन्धन बाट मुक्त हुन्छ र उद्धार पाउँछ। अनि बल्ल आत्मा बन्धन मुक्त भएर आफ्नो कार्यक्षेत्रमा सकृय हुन्छ र विवेक, प्रकाश र पूर्वाभास् ले काम गर्न आरम्भ गर्छन्। हामीले यसै घटनालाई मुक्ति पाएको, पाप क्षमा भएको, नर्कको दण्ड बाट छुटकारा पाएको आदि रूपमा लिन्छौं। यी सबै सत्य हुन् तर हामीले बुझ्नु पर्ने वास्तविकता के हो भने, यो त हाम्रो आत्माको उद्धार मात्र हो।
यो हाम्रो आत्मिक यात्राको आरम्भ वा पहिलो खुड्किलो मात्र हो। हामीले यस महत्वपूर्ण घटना लगतै परमेश्वरको सन्तान हुने अधिकार पाउँछौं, परमेश्वरको राज्यमा नयाँ गरी जन्मन्छौं र पवित्र आत्माले हाम्रो आत्मा द्वारा हामी सित बोल्न आरम्भ गर्नु हुन्छ। हाम्रो आत्माको उद्धार हाम्रो विश्वासी जीवनक एउटा महत्वपूर्ण घटना हो र यो घटना विश्वास गर्ने हरेकको जीवनमा हुनु पर्ने आवश्यक छ। आत्माको उद्धार परमेश्वरको राज्यमा प्रवेश गर्ने ढोका हो, परमेश्वर पिता सित सम्बन्ध र संगति पुर्नस्थापित गर्ने, मनको आँखा खोलिने, पवित्र आत्मा बाट वचन र पिताको ईच्छा बारे प्रकाश पाउने, शरीरमा पाप स्वभावको राज्य अन्त हुने र मनको नवीकरण हुने आरम्भिक बिन्दु हो।
तर पनि हाम्रो आत्माको उद्धार आंशिक मात्र हो, किन भने हाम्रो प्राण र शरीरको उद्धार हुन बाकी नै छन्1
प्राणको उद्धार:
“परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ! उहाँको महान् कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्। आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नुपर्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्मा (प्राण)को मुक्ति पाउँछौ (१पत्रुस १:३-९)।
माथि उल्लेखित पदहरूमा हाम्रो नयाँ जन्म, हाम्रो उत्तराधिकार र प्रकट हुन आँटेको मुक्तिको विषयमा पत्रुसले प्रष्ट पारेका छन्। यस संसारमा अहिले हामीले भोग्नु परेको कष्ट आगोमा खारिने सुन जस्तै हाम्रो विश्वासलाई खारिनलाई हो। साथै हाम्रो विश्वास र आग्याकारिताको फलस्वरूप यस संसारको हाम्रो जीवनकालमा प्राणको उद्धार प्राप्त गरी रहेका छौं।
यसकारण हामीले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो आत्माको उद्धार र प्राणको उद्धारमा धेरै भिन्नता छ। पहिलो कुरो त के भने आत्माको उद्धार येशूमा गरिने विश्वास द्वारा हो भने प्राणको उद्धार विश्वासी जीवनमा गरिने धार्मिकताको काम द्वारा हो! आत्माको उद्धार हामीले गरेको पापकर्मको क्षमा हो, तर हाम्रो प्राणको उद्धार पाप स्वभावलाई निर्मूल पार्ने काम हो। आत्माको उद्धार येशूले क्रूसमा मर्नु भै बौरी उठ्नु भएको कारणले हो, यो एकै क्षणमा गरिने पवित्र आत्माको काम हो र यो विश्वासी जीवनको आरम्भ हो। तर प्राणको उद्धार हाम्रो निरन्तर आग्याकारिता र समर्पण द्वारा हुने काम हो, हामीआफैले शरीरको कामलाई मार्नु पर्छ, र यो क्रमिक रूपमा जीवन भरी चल्ने काम हो। आत्माको उद्धार पाउनका लागि हामीले विश्वास मात्रै गरे पुग्छ तर प्राणको उद्धार को लागि हामीले सम्पूर्ण जीवन धिरज साथ विश्वासमा आफ्नो काम द्वारा प्रभुलाई खुशी पार्ने प्रयास गरी रहनु पर्दछ।
शरीरको उद्धार:
हाम्रो शरीर हाम्रो व्यक्तित्वको भौतिक, बहिरी र तेश्रो भाग हो। हाम्रो शरीरको उमेर तोकिएको हुन्छ र समय सकिए पछि शरीर मर्छ र माटोले बनेको शरीर माटोमा जान्छ। हामी सबैले यो प्रकृयालाई हेर्दै आएका छौं। हाम्रो आफ्नै शरीर पनि अन्तमा यस्तै हुने हो। तर यो अन्त हैन।
प्रभु येशूमा विश्वास गर्ने हरेकले बप्तिस्मा लिएका छौं। बप्तिसमा क्लासमा रोमी को पत्र छैठौं अध्याय बाट सिकाइन्छ। त्यहाँ बताइएको छ – बप्तिस्मा लिंदा जब बप्तिस्मा लिने व्यक्ति लाई पानीमा डुबाइन्छ, त्यो येशूको मृत्युमा सहभागिता हो, र पानी बाट बाहिर निकाल्दा येशूको पुनरुत्थानमा सहभागिता हो!
प्रेरित पावल ले १कोरि १५ र १थिस्स ४ मा येशूको दोश्रो आगमन र विश्वासीहरूको पुनरुत्थानको विषयमा विस्तारमा चर्चा गरेका छन्। येशूको दोश्रो आगमनको समयमा सर्व प्रथम सुती गएकाहरू (मृत् व्यक्तिहरू) बौरी उठ्ने छन् अर्थात् उनको पुनरुत्थान हुनेछ, अर्थत् स्वर्गदूत जस्तै स्वर्गीय शरीर धारण गर्ने छन् र प्रभुलाई भेट्न आकाशमा जाने छन्, त्यसको लगतै एकै क्षणमा जीवितहरूको परीवर्तन हुने छ अर्थात् उनूहरू पनि पुनरुत्थानमा सहभागी हुन्छन्। यो नै हाम्रो शरीरको उद्धार हो। यो महिमित अवस्था हो जसको वर्णन गर्न यहाँ सम्भव छैन।
यसरी हाम्रो पुनरुत्थान द्वारा हाम्रो भौतिक शरीरको अवस्थाको अन्त हुन्छ र हामीले स्वर्गीय शरीर धारण गर्ने छौं। यो नै शरीरको उद्धार हो र शरीरको उद्धार संगै हाम्रो उद्धार पूर्ण हुन्छ। हामीमा ख्रीष्टको स्वरूप पूर्ण हुनेछ।
परमेश्वरको सम्पत्ति:
सृष्टिको आरम्भमा परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउने घोषणा गर्नु भएको उहाँको इच्छा हाम्रो पूर्ण उद्धार संगै पूरा हुन्छ। यसैको लागि नै सारा सृष्टिको रचना गरीएको हो र यसै समयको लागि सारा सृष्टि पर्खी रहेको छ। “सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ (रोमी ८:१९ -२१)। परमेश्वर स्वयम्पनि यसै समयको लागि पर्खि रहनु भएको छ, किन भने यसैको लागि उहाँलेहामी सबैलाई सृष्टि भन्दा अघि नै बोलावट दिनु भएको र पुत्रको रूपमा स्वीकार हुनको निम्ति नियुक्त गर्नु भएको छ।
हामीलाई आफ्नो पुत्रको बहुमूल्य रगतले किन्णु भएको र हाम्रो पूर्ण उद्धार न भए सम्मको को लागि बैनाको रूपमा पवित्र आत्मालाई दिनू भएको कारण पनि यही हो कि हामी उहाँको सम्पत्तिको रूपमा तैयार हुन सकौं। हाम्रो पूर्ण उद्धार संगै परमेश्वरले हामीलाई आफ्नो निज सम्पत्तिको रूपमा ग्रहण गर्नु हुन्छ, हामी पुत्रत्व प्रप्त गर्छौं र हाम्रो उत्तराधिकार प्रप्त गर्छौं। सृष्टि भन्दा अघिनै परमेश्वर पिताले ख्रिष्टमा सबै आशिषले हामीलाई दिनु भएको आशिर्वाद पूर्ण हुन्छ। आमीन।
For feed back please contact in this email: pppetersingh@outlook.com
Discussion about this post