८,चैत्र– ललितपुर । थुलुङ भाषा विकाश केन्द्रको आयोजनामा थुलुङ भाषामा भजनसंग्रह सहित नयाँ करारको बाइबल आज एक भव्य समारोह बीच ६ जना अन्तराष्ट्रिय पाहुना र ६ जना थुलुङ पाष्टरको बाहुलीबाट विमोचन भएको छ ।
कुमारीपाटी स्थित पाटन क्वाइनोनीया मण्डलीको भवनमा विमोचित थुलुङ बाइबल विमोचन कार्यक्रमको संचालन भने पा. राजु थुलुङले गर्नुभएको हो । पाष्टर गोबर्धन थुलुङ द्वारा सुरुको प्रार्थना गरिएको उक्त विमोचन समारोहमा आराधना सेवाको अगुवाई ज्याक्सन समुहले गरेको थियो भने नेपाली ईसाइ मण्डली धोबिघाटका बरिष्ट पाष्टर डा. राजेन्द्र रोङगोङले आशिषमय परमेश्वरको वचन बाँडनुभएको थियो ।
थुलुङ भाषामा भजनसंग्रह सहित नयाँ करारको बाइबल बनाउन करिव १३ वर्षको अथक प्रयास र मेहनत लागेको उक्त थुलुङ बाइबलको हतिहासको बारेमा श्रव्यदृश्यबाट देखाइएको थियो । त्यसैगरी ६ जना अन्तराष्ट्रिय पाहुना र ६ जना थुलुङ पाष्टरको बाहुलीबाट बिमोचन भएको उक्त थुलुङ बाइबलको समर्पणको प्रार्थना भने पाटन क्वाइनोनीया मण्डलीका बरिष्ट पाष्टर डा.मंगलमान मर्हजनले गर्नुभएको थियो ।
कार्यक्रममा थुलुङ बाजाहरु बजाएर आमन्त्रित पाहुनाहरुलाई स्वागत गरिएको थियो । कार्यक्रमलाई अझ रोचक र अविस्मरणीय बनाउन थुलुङ भाषामा तयार पारिएको नृत्य समेत प्रस्तुत गरिएको थियो भने जुलिया थुलुङ र नरेश थुलुङले थुलुङ भाषामा बाइबलको पद कण्ठस्थ गरी सुनाएका थिए । कार्यक्रममा दिन र रातको प्रवाह नगरी अथक प्रयास, मिहेनत र लगाशील भएर थुलुङ भाषामा बाइबलको अनुवाद गर्ने, प्रकाशन गर्ने, जाँच गर्ने र आमन्त्रित अन्तराष्ट्रिय पाहुनालाई आयोजक समितिले मायाको चिनो दिएर सम्मानित गरेको थियो ।
विभिन्न आमन्त्रित अन्तराष्ट्रिय पाहुनाले मन्तव्य दिएको उक्त कार्यक्रमको अन्तमा थुलुङ भाषामा बाइबल तयार गरी प्रकाशन गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हातेमालो गरी आर्थिक, भौतिक र आत्मिक पक्षबाट प्रार्थना र सहयोग दिइ उच्च योगदान गर्ने सम्पुर्ण प्रभुका सेवकहरुलाई एकमुष्ठ रुपमा पा. लाजरस थुलुङले धन्यवाद ज्ञापन गरेपश्चात कार्यक्रम समापनको अन्तिम प्रार्थना भने पा. कृष्ण बहादुर थुलुङले गर्नुभएको थियो ।
Discussion about this post