
असार १९ गते आइ. एन. एफ नेपालको कार्यसमितिको बैठकले एक कार्यक्रम गरी गायक कर्ण दासलाई आइ. एन. एफ. नेपाल, हरियो खर्क अस्पतालको ब्राण्ड रिप्रेजेन्टेटिभको रुपमा नियुक्त गरेको छ । आइ. एन. एफ. नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले दासलाई नियुक्तिको प्रमाण पत्र एवं परिचय पत्र प्रदान गर्दै यसले आइएनएफले गरेको सेवालाई अझ धेरै मानिसहरुले नजिकबाट महसुस गर्न सक्ने धारणा व्यक्त गरे । साथै उनले आइएनएफका योजनाहरूको सफलताको लागि नेपाल सरकारबाट निरन्तर साथ र सहयोगको अपेक्षा पनि गरे ।कार्यक्रममा आइ. एन. एफ नेपालका कार्यकारी निर्देशक डा. गंगा (प्रेम) सुवेदीले हरियो खर्क अस्पतालको नेपाली समाजप्रति ठूलो दायित्व रहेको र यसलाई निर्वाह गर्न यस कदमले धेरै सहायता गर्ने विश्वास प्रकट गरे । मेडिकल निर्देशक डा. दीपक महर्जनले हरियो खर्क अस्पताललाई स्वास्थ्य सुविधामा उत्कृष्टताको केन्द्र बनाउने लक्ष्य रहेको विषयमा प्रकाश पारे । पोखराको नयागाउँस्थित हरियो खर्क अस्पताल कुष्ठरोग निवारणको लागि लामो समयदेखि क्रियाशील अस्पताल हो ।
त्यसै गरी अस्पतालका अपरेसन्स निर्देशक ढाकाराम बीएमले कुष्ठरोगको उपचार र पुर्नस्थापनाबाट काम सुरू गरेको यस अस्पतालमा अहिले कान उपचार केन्द्र, हाड, जोर्नी तथा नसा, फिजियो र अक्युपेशनल थेरापी, देशकै पहिलो क्रित्रिम अंग विभाग, छालारोग उपचार र पश्चिम नेपालमै एउटा मात्र रहेको प्यालिएटिभ केयर जस्ता सविधाहरू सर्वसुलभ रहेको जानकारी दिए ।ब्रान्ड रिप्रेजेन्टेटिभ कर्ण दासले उनको आइ. एन. एफ. सँगको नाता बाल्यकालदेखि रहेको र यहाँको लक्ष्य र दर्शनको बारेमा आफूलाई राम्रो जानकारी रहेको बताए । हरियो खर्क आफ्नो बाल्यकालमा साथीहरूसंग खेल्न आउने प्रांगण रहेको र यहांका सांगीतिक कार्यक्रमहरूमा आफू पनि बाल्यकाल देखिनै सामेल भएको उनले सम्झिए । हरियो खर्कसँगको नयाँ सम्बन्धले आफ्नो जीवन यात्रामा पनि नयाँ दिशा ल्याएको उनले बताए ।
Discussion about this post