
राजु अधिकारी, रामग्राम, नवलपरासी । यही साउन १३ गते आएको भीषण बाढीबाट घरबारविहीन भएका नवलपरासी जिल्ला रामग्राम नगरपालिकाका पीडितहरुलाई सिडिओ महादेव पन्थ र नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीको उपस्थितिमा पोखरेली ख्रीस्टिय समुदाय र असल छिमेकी नेपालले १७ लाख मूल्य बराबरको राहत वितरण गरेको छ ।
राहतबाट रामग्राममा ३०० परिवार र झुम्साका पहिरो प्रभावित ६ परिवार सहित ४० परिवार गरी ३४० परिवारका २,००० भन्दा बढी व्यक्तिहरु लाभान्वित भएका छन् । प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, दुइटा कम्बल, झुल, लुगा धुने साबुन, सलाई, सेनिटर प्याड, टुथपेस्ट, ब्रसलगायत सामग्री वितरण गरिएका छन् ।
नगरपालिकाले संकलन गरेको तथ्यांकको आधारमा नाजुक अवस्थामा रहेकाहरुलाई प्राथमिकता दिएर राहत वितरण गरिएको थियो । बाढीको चपेटामा पर्नेहरु प्रायः दलित समुदाय मुसहर, हरिजन, चमारहरु छन् । जिल्ला दैवी प्रकोप उद्धार समिति नवलपरासीको ब्यानरमा आयोजना गरिएको उक्त कार्यक्रममा नवलपरासी इसाइ समाज र स्थानीय चर्चहरुले संयोजनकारी भूमिका निर्वाह गरेका थिए । नगरपालिकाले सामाजिक परिचालकहरूको व्यवस्था गरेर साथ दिएको थियो । कार्यक्रममा सिडिओ पन्थले यति छोटो समयमा यति ठूलो काम गर्न सक्नु चानेचुने कुरा नभएको बताए । सिडिओ पन्थ र नपाका अधिकृत ज्ञवालीको सहयोगप्रति आभार व्यक्त गर्दै असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले लाभान्वितहरु राहतबाट असाध्यै खुसी भएका बताए । राती १२ बजे पसेको बाढीले पीडितहरुको छाप्रो, लत्ताकपडा, अन्नपानी सब बगाएको थियो । यति राम्रो सामान पर्याप्त मात्रामा समयमै पाउँदा पीडितहरुले खुसी व्यक्त गरेका छन् । केवल ज्यान मात्र बचेको अवस्था भएकाले बाढी प्रभावितहरुको पुनस्र्थापनाका लागि सरकारले यथासक्य चाँडो पहल गर्नुपर्ने देखिन्छ ।
Discussion about this post