प्रकाश बिसुन्के, धर्म प्रचारको उद्योगमा दोलखामा पक्राउ परेर आठ दिनपछि धरौटी र साधारण तारिखमा रिहा भएका ख्रीष्टियान समुदायका आठ व्यक्तित्वहरूलाई राजनीतिक दलको दबाबमा छोड्ने काम भएको भन्दै सांसद सुशील श्रेष्ठले हिजोको संसद बैठकमा आपत्ति जनाए ।
यो प्रसंग केही समयअघि धर्म प्रचारको उद्योगमा दोलखामा पक्राउ परेर आठ दिन हिरासतमा रहेका व्यक्तिहरूको बारेमा हो । ख्रीष्टियान समुदायका आठ व्यक्तित्वहरूलाई राजधानीमा विशाल कार्यक्रमको आयोजना गरी पुष्प गुच्छा र खादा ओेढाएर सम्मान गरिरहँदा राजनीतिक दलको दबाबमा छोडिएको भन्ने कुरा आरोप मात्र भएपनि यसमा म केही सहमत छु, किनभने यो अवस्थामा हामीले हाम्रा मानिसहरूलार्इ धरौटी बुझाएर निकाल्नु ठुलो कुरा होइन, तर भोलिका दिनमा सुसमाचार प्रचार गर्दा (राज्यको शब्दमा धर्म प्रचार)यस्तै नियति भोगिराख्ने, ख्रीष्टियान संघ-संस्थाहरूले गएर रिहाइको माग गरेर निकालिरहने प्रकृया कहिलेसम्म सम्भव होला ? यसले हामी इसार्इहरूका माझमा अर्को प्रश्न चिन्ह खडा गरेको छ ।
एकजना दाइले निकै सान्दर्भिक तर्क गर्नुभएको थियो, “धरौटी राखेर निकालिए पनि हामी इसाईहरूलाई भिराएको अपराधको पोकोलाई उत्सवको भोजन ठान्नु कतिको उचित होला ? के भोलि सतावटमा पर्ने हरेकलाई यसरी नै सेलिब्रेटी बनाउन सकिएला ? हरेकलाई हजारौं धरौटी तिरेर यस्ता उत्सवका निम्ति भेला पार्न सकिएला ?”
अर्को एउटा सान्दर्भिक तर्क, यो हाम्रो क्षणिक खुसी हो,यो दीर्घकालीन खुसी होइन, यस्तै प्रकृतिका घटना अन्य ठाउँमा पनि घट्न सक्छन् र विभिन्न प्रकारका नाटकहरू मन्चन हुन सक्छन्।यो मुद्धा अदालत पुगिसकेको अवस्थामा सामान्य तारेख या मुद्द नै रद्द गरेर होइन तर यो मुद्दलाई किनारा लगाएर नजिर स्थापना हुन सक्नुपर्ने थियो।
यसकारण संविधानलाई ठाडो चुनौती दिँदै गरिएको दुस्प्रयासलार्इ हामीले धर्मनिरपेक्ष राष्ट्रको सुनिश्चितता गराउन प्रयोग गर्नुपर्ने थियो,अलिकति हामी चुक्यौँ कि भन्ने मलार्इ लागेको छ ।
हामी कहाँ र कसरी रहेका रहेछौं र राज्यले कुन दृष्टिकोणले हामीलाई सम्बोधित गरिरहेको छ भन्ने प्रस्ट भएको छ।अब डरको संसय प्रस्ट बाँकी छ । चरिकोटको घटनाले सबैलाई एक पटक झस्काउने नै भयो,डर सबै बिश्वासीमा प्रशासनले घोलेको छ, हामी ले बुझ्नै पर्छ। हामी जति खुसी छौं हाम्रा मानिसहरूको रिहाइ भयो र हाम्रो परमेश्वरको विजय भयो भनेर,त्यति धेरै विरोध र आउने दिनमा ख्रीष्टियानहरूमाथि हुने हर्कत हेर्न धेरै लामो समय छैन भन्ने प्रस्ट भइसकेको छ ।राजनितिक दलको दबाबमा धर्म परिवर्तन गराउने कार्यमा पक्राउ गरिएकालाई छोड्ने काम भएको भन्ने संसदमा तिव्र दबाब छ यतिखेर ।यो अवस्थामा हामीले राज्यसँग यससम्बन्धि स्पष्ट नीतिको माग गरेर अघि बढ्नुपर्छ ।इसार्इ समाज,संघ,महासंघ नामका सबै ख्रीष्टियान समुदाय एकतामा मिलेर राज्यसँग एकै स्वरमा नउभिएसम्म यो देशमा नेपाली ख्रीष्टयानहरूले हाम्रै अगुवाहरूको कारण शक्तिहीन भएर विवस हुँदै राज्यसँग घुँडा टेकेर अधिकारको भिख मागि बस्नुको विकल्प छैन । राज्यले हाम्रो कमजोरी पटकपटक देखिसकेको छ, हाम्रो भित्रि एकताको जरा छामिसकेको छ । अब कहिलेसम्म हो आत्मिक एकता बिना को हाम्रो संगति ? काे भन्दा काे कम भन्नकै लागि हुन् त हाम्रा इसाई संघ-संस्थाहरू ? यतिखेर हामीलार्इ अवस्था सामान्य लागे पनि, अप्रत्यक्ष रूपमा केही समय यताका घटनाक्रमहरूले सतावटकाे समय सुरू भएकाे संकेत गरिसकेकाे छ। यस्ता अति संवेदनशील परिस्थितिहरूमा हामीले परमेश्वरको चरणमा एउटै मनकाे भएर, एउटै शरीरका अंगहरू भएर उभिने प्रयास गराैं, हामी आत्मामा जिउने भन्नेहरू, स्वर्गका हकदार र परमेश्वरको सन्तान भन्ने हामीहरू ।
(नितान्त व्यक्तिगत विचार)
Discussion about this post