अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ- भाग २

[ 12 ] July 9, 2013 |
N D Lama

एन. डी. लामा, आशा चर्च (पास्टर) लुइभील, केन्टुक्की

“हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१०। तपाई परमेश्वरको अदुभूत सृष्टि हो र अर्थपूर्ण जीवन परमेश्वरको चाहँना हो। तर यो जीवन जिउनलाई इर्स्याले कसरी बाधा पुराउँछ भन्ने विषयमा हामीले भाग १ मा हेरेका थियौँ। हाम्रो जीवनमा भएको इर्स्याले के प्रमाणित गर्छ भने हामीले परमेश्वरबाहेक अरू केही कुराको आराधाना गरीरहेका छौँ। आजको यस खण्डमा हामीले इर्स्यालाई कसरी हाम्रो हृदयबाट कसरी हटाउन सक्छौ भन्ने विषयमा हेर्नेछौँ।

येशूले दाखबारीका खेतालहरूको विषयमा एउटा कथा बताउनुभयो। जुन मत्ती २०:१-१६ मा उल्लेख गरिएको छ।

“१ “स्‍वर्गको राज्‍य जमिनको एक जना मालिकजस्‍तो हो, जो बिहान सबेरै आफ्‍नो दाखबारीमा खेतालाहरूलाई ज्‍यालामा काम लाउन बाहिर निस्‍क्‍यो। २ खेतालाहरूसँग एक दिनमा पाउने ज्‍याला तोकेर उसले तिनीहरूलाई आफ्‍नो दाखबारीमा पठायो। ३ “जब ऊ नौ बजेतिर बाहिर निस्‍क्‍यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्‍यो, ४ र उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’ ५ अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्‍केर त्‍यसै गर्‍यो। ६ उसले पाँच बजेतिर बाहिर निस्‍केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’ ७ “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्‍यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्‍यो, हुन्छ त्यसोभए ‘तिमीहरू पनि दाखबारीमा काम गर्न जाओ।’ ८ “जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्‍नो कर्मचारीलाई भन्‍यो, ‘ल खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्‍मलाई तिनीहरूका ज्‍याला देऊ।’ ९ “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्‍याला पाए। १० जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए। ११ ज्‍याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। १२ तिनीहरू भन्‍न लागे, ‘यी पछिल्‍लाहरूले एक घण्‍टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्‍नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्‍याउनुभएको छ।’ १३ “तर उसले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्‍याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्‍यालामा काम गर्ने कबूल गरेका होइनौ? १४ तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु। १५ मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने? १६ “यसरी नै पछिल्‍ला पहिला हुनेछन्‌ र पहिला पछिल्‍ला हुनेछन्‌।” यो बाइबलको खण्डमा धेरै गहकिला शिक्षा लुकेको छ तर आज येशूले के सिकाउँन लाग्नुभएको हो, केही महत्वपूर्ण बुदाहरूलाई हेरौँ। हामीले हाम्रो जीवनलाई इर्श्याबाट उन्मुक्ति दिलाउँन निम्न ४ वटा बुदाहरूमा सजक बन्नुपर्छ।

१. कहिले पनि आफूलाई अरूसँग दाज्नु हुँदैनः

अरूसँग दाज्न छोड्नु इर्स्याको जरामा वनचरो लगाउनु हो। तपाईले दाज्ने बानी त्याग्न सक्नुभयो भने, इर्स्या तपाईको जीवनबाट अवश्य हट्नेछ। जहिले जहिले तपाईले आफूलाई अरूसँग दाज्नुहुन्छ तपाईले आफैलाई इर्स्याकोलागि तयार पार्नुहुन्छ। दाज्नु इर्स्याको जरा हो। त्यसैले प्रभुले भन्नुहुन्छ दाज्ने काम नगर। कहिले पनि दाजेर नहेर। ती खेतालाहरूको समस्याचाहिँ “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्‍याला पाए। जब पहिला ज्‍यालामा लागेकाहरूले सो देखे, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, मत्ती २०: ८-११क। जब ती पछि आउने खेतालाहरूले बढ्ता पाएँको देखे तब तिनीहरूलाई इर्स्या लाग्यो। उनीहरूले त्यो कुरालाई हेर्नु हुन्न थियो तर पनि हेरे।

आजको समस्याचाहिँ: वास्तवमा दाज्ने कुरा हाम्रो सबैभन्दा लोक प्रिय घरेलु खेलभएको छ। हामीले जहिले पनि जहाँ पनि दाज्ने खेल खेल्छौ। हामीले सबै कुरा दाज्छौ अनि दाजेर नै जिउँछौँ। हामी सबै कुरा दाजेर बस्छौः आफ्नो काम, परिवार, खुबी, सुन्दरता, भाडाकुडा। मेरो श्रीमति भन्दा तपाईको श्रीमति होचो, मेरो बाउँको साइकलभन्दा तपाईको बाउँको साइकल चिल्लो। मेरो चर्चको प्रशंसा तेरो चर्चकोभन्दा चर्को। हामी युग नै आफैले आफै वधाइ दिने युगमा जिइरहेका छौँ। सन २००९ मा संसारको सिनेमा उद्योगले पाएका ८ हजार पुरसकारमा ५ हजार पुरस्कार सिनेमा उद्योग आफैले आफैलाई दिएका थिए। हा हा, तपाईले हाम्रो सिने उद्योग अवार्ड कार्यक्रम त पक्कै पनि हेर्नुभएको होला।

तपाईले आफूलाई अरूसँग कहिले पनि दाज्नुहुँदैन। तपाईलाई अरूसँग दाज्न थाल्नु भनेको भालु र आलु दाज्नु जस्तै हो। उस्तै सुने पनि भालु र आलुमा आकाश पाताल फरक छ। तिनीहरू एक अर्कोसँग दाज्न मिल्दैन। आलु हाम्रो तरकारी अनि मौको परे हामी भालुको तरकारी। तपाईहरू उहाँको विशेष सृष्टि हो। आफैलाई अरुसँग दाज्ने काम मुर्खता हो भनी बाइबलले सिकाउँछ। “आफ्‍नो तारीफ आफैले गर्ने कुनै-कुनै व्‍यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्‍न, अथवा आफैलाई तिनीहरूसँग दाँज्‍न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्‍दा तिनीहरू बेसमझका हुन्‍छन्‌।” २ कोरिन्थी १०:१२।

हा हा हा, अनि बेसमझ भनेको समझ नभएको मुर्ख हो। जब तपाईले आफैलाई अरूसँग दाज्नुहुन्छ तब तपाई मुर्ख मुर्ख मुर्ख बन्दै जानुहुन्छ। मेरो प्राय पूरै बाल्यकाल यही मुर्खतामा विताए। जीवन छोटो छ। मैले गरेको मुर्खतामा तपाई जिइराख्नुपर्दैन। सबैकुरा आफैले अनुभव गरीराख्नुपर्दैन। अर्काको गल्तीबाट सिक्ने मानिस बुद्धिमानी मानिस हो। जब तपाईले आफैलाई अरूसँग दाज्नुहुन्छ, तपाई कि इर्स्या या घमण्डको पासो फस्नु हुन्छ। दाजेपछि तपाईले सधै नै, कि तपाईभन्दा असल या खराब, धनी या गरीव, सुन्दर या कम सुन्दर व्यक्तिहरू देख्नु हुन्छ। असल देखे इर्स्या लाग्छ। खराव देखे घमण्ड आउँछ। दुवै कुरामा तपाई गिर्नुभयो। तपाई लोट्नुभयो। तपाई परमेश्वरको विशेष सृष्टि हुनुहुन्छ। तपाईले आफूलाई अरूसँग दाज्नु मिल्दैन। बाइबलले भन्छ, “प्रत्‍येकले आफ्‍नै कामको जाँच गरोस्‌, तब मात्र त्‍यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्‍छ।” गलाती ६:४।

जब तपाई स्वर्गमा पुग्नु हुन्छ उहाँले तपाईलाई तँ किन पास्टर मंगलमान जस्तो भएनौ भनी सोध्नुहुन्न। परमेश्वरले तपाईलाई कुन समयमा, कहाँ जिउँनुभयो, जुन खुबी परमेश्वरले तपाईलाई दिनुभयो त्यसको आधारमा परमेश्वरले न्याय गर्नुहुन्छ। तपाईसँग नदिइएको अवसर र खुबीको लेखा उहाँले माग्नुहुन्न। जुनचाहिँ आजको समाजको विरुद्धमा हुन जान्छ। आजको समाजले सबै कुरा दाजेर हेर्न सिकाउँछ। कहिले पनि आफैलाई अरूसँग दाज्नु हुँदैन।

२. अरूमाझ परमेश्वरले गर्नुभएको भलाईको उत्सव मान्न सिक्नुपर्छ

मैले दाज्ने काम छोड्नुपर्छ र अरूको जीवनमा परमेश्वरले गर्नुभएको भलाईको उत्सव मनाउनुपर्छ। जब परमेश्वरले कसैको जीवनमा असल काम गर्नुहुन्छ, त्यसमा खुशी हुनुपर्छ। परमेश्वरले अरूलाई आशिष दिएको देख्नुभयो भने आनन्दित हुनुपर्छ। बाइबलले भन्छ, “आनन्‍द गर्नेहरूसँग आनन्‍द गर। रुनेहरूसँग रोओ।” रोमी १२:१५। अनि रुनेहरू सँग रून वा दुःखमा साथ दिन सजिलो हुन्छ। ओहो तपाई कस्टमा पर्नुभयो। तपाईले साह्रै दुःख पाउनुभयो तर एकदिन सबै ठीक हुन्छ भन्न सजिलो हुन्छ। तर अरूको उन्नती भएको हामी देख्न सक्दैनौ। हामीहरू अरुको सफल्तालाई राम्ररी सम्हान्न सक्दैनौ वा जान्दैनौ। हर्षित हुनुपर्ने ठाउँमा हामी अप्रसन्न हुन्छौँ। पछुताउछौँ। त्यसले त्यो सफल्ता नपाएको भए पनि हुन्थ्यो भनी कामना गर्छौ। वास्तवमा अरूको जीवनमा नराम्रो कुराहरू भएको होस भनी विचार गर्छौँ। म परीक्षामा असफल भएँ, मेरो मिल्ने साथी संगीता पनि परीक्षामा फेल भइदिए हुन्थ्यो भनी कामना गर्छौँ। अरू कोही पनि मेरो वरावर नआएमा म चम्किन्छु भनी विचार गर्छौ। तर त्यो सोचाइ गलत हो। परमेश्वरको अनुग्रह हामी प्रत्यकलाई प्रशस्त छ। उहाँले अरू कसैलाई बढ्ता दिनुभयो भने त्यसमा मैले किन टाउको दुखाउने। बरू हामीले आफूले पाएको कुरामा चिन्ता गर्नुपर्ने हो। त्यसैले अरूको जीवनमा भएको परमेश्वरको भलाईको काममा हामीले उत्सव मनाउनु सिक्नुपर्छ। तर हामीलाई गाह्रो हुन्छ किनकि यसले हामीलाई तर्साउँछ। बाइबलले भन्छ, “जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए। ११ ज्‍याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे।”

के तपाईले दाजेरै बस्नुहुन्छ र भन्नु हुन्छ? किन? किन उनका छोराहरू असल?, मैले पनि उत्तिकै मेहेनत गरीरहेको छु फेरि किन उसलाई त्यो कुरा मिलेको तर मसँग केही पनि छैन। के तपाई सधैभरी दाज्ने खेलाडी नै भएर बस्न चाहँनुहुन्छ? परमेश्वरले भन्नुहुन्छ, “मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने?” मत्ती २०:१०-११,१५ख। अनि याद गर्नुहोस्, दाज्ने काम नजिकको मानिसहरूसँग, साथीसँग, दाजुभाइसँग, दिदीबहिनीसँग हुन्छ। ट्रक ड्राइभरले आफूलाई शिक्षकसँग दाज्दैन। आमाहरूले आमासँग, व्यापारीहरूले व्यापारीसँग। विद्यार्थीले विद्यार्थीसँग, पास्टरहरूले पास्टरसँग, युथहरूले युथहरूलेसँग, संघस्थाका निर्देशकहरूले अर्को संस्थाको निर्देशकसँग दाज्छ।

जब दाज्नु हुन्छ तपाई इर्स्या को पासोमा पर्नुहुन्छ र तपाई बेखुशी बन्नुहुन्छ। यसले तपाईका खुशीहरू लुटेर लान्छ। तपाईले भन्नुहुन्छ। हँ, गोपालले विवाह गर्दै छ रे? हो र? मेरो विचारमा त्यो केटी अन्धो हुनुपर्छ। के तपाईको आफ्नो विवाह कस्ट पुर्ण बन्यो वा विवाह हुन सकेन भने तपाईले अरूको पनि विवाह नभए दिए हुन्थ्यो भन्ने कामना गर्नुहुन्छ। तपाईले आफ्नो सन्तान भएन, अनि अरूको छोराछोरीको वर्थडेमा मुर्मुरिन छान्नुहुन्छ कि परमेश्वरले दिनुभएको जीवन प्रति धन्यवादी हुन छान्नुहुन्छ? तपाईको मनमा नकारात्मक कामनाले ठाउँ लिन्छ। तर यदि तपाईले अरूको सफल्तामा रम्न सिक्नुभयो भने तपाईको जीवन उत्साह नै उत्साहले भरिएको हुनेछ। ती व्यक्तिहरू प्राय सधै प्रशन्न हुन्छ किनकि समाजमा कसै न कसैको जीवनमा तपाईले परमेश्वरको भलाइ देख्न पाउँनु हुन्छ। तर यदि तपाई आफ्नो सफल्तामा मात्रै खुशी हुने तपाईको बानी छ भने तपाईको जीवन दुःखदायी र निर्ह बन्ने छ। किनकि सफल्ताहरू हाम्रो जीवन एकदमै थोरैमात्र हुन्छ।

बाइबलले भन्छ, “प्रेमले डाह गर्दैन।” १ कोरिन्थी १३:४। वास्तवमा इर्स्या गर्नु प्रेम होइन। इर्स्या हामीले आफ्नो नजिककोहरूसँग गरिने सबैभन्दा निर्दयी काम हो। कहिले पनि आफैलाई अरूसँग दाज्नु हुँदैन। अरूको सफल्तामा खुशी हुन सिक्नुपर्छ

३. जे छ त्यसमा धन्यावादी हुन सिक्नुपर्छ

सबैकुरा परमेश्वरले दिनुभएको हो। तपाईको फोक्सो र फोक्सोकोलागि चाहिने ताजा हावा पनि परमेश्वर कै हुन्। तपाईले जन्मदा केही पनि लिएर आउनुभएन, तपाईसँग जति छ सबै परमेश्वरले दिनुभएको हो। बाइबलले भन्छ, “अरूहरूभन्‍दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्‍यो पाएका छौ भने त्‍योचाहिँ वरदान होइनजस्‍तै गरी किन तिमीहरू घमण्‍डले फुल्‍दछौ?” “तिमीहरू तृप्‍त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्‍चै राज्‍य गरेका भए हुन्‍थ्‍यो, ताकि हामी पनि तिमीहरूसँगै राज्‍य गर्न सकौं!” १ कोरिन्थी ४:६-९। त्यसैले हामी सबैले भन्न सिकौँ, मैले पाउँनुपर्ने भन्दा बढी पाइसकेको छु।

इर्स्याले किन तिनीहरूले भन्न सिकाउँछ। किन उसलाई त्यो कुरा मिल्यो। किन बहिनीलाई त्यो लुगा किनी दिएको?, किन उसँग iPod छ, किन उसँग क्यामारा छ। किन उसलाई? तर प्रेमले किन मैले भन्न सिकाउँछ। किन आज मैले वाँच्न पाएँ। किन मसँग आङमा लगाउने लूगा अनि बास बस्ने घर छ? किन मैले तातो चिसो आउने घरमा बस्न पाएँ। किन मैले यो काम गर्ने मौका पाएँ? किन म आजसम्म बाँच्न पाएँ?

मानिसहरूले विचार गर्छन् कि धेरै भयो भने खुशी हुन सकिन्छ। मेरो ल्यापटप भयो भने म खुशी हुन्छु होला। मेरो आफ्नै घर भयो भने म खुशी हुन्छु होला। मेरो सबैभन्दा पछिलो मोडलको गाडि भयो भने म खुशी हुन्छु होला। तर धेरै हुँदैमा खुशी हुन सकिदैन। संसारमा कति धेरै खरवपत्ति बेखुशी छन्। खुशी त तपाईले छान्ने कुरा हो। खुशी हुन तपाईले छान्ने चीज हो। खुशी हुन तपाईले रोज्नु पर्छ। म खुशी हुन्छु भनेर निर्णय गर्नुपर्छ। म हवकुक जस्तै हुन निर्णय गर्छु भन्नुपर्छ। बाइबलले भन्छ, “आफूसँग जे छ त्‍यसमा सन्‍तुष्‍ट हुनु अरू कुराको लोभ गरिरहनुभन्‍दा असल छ।” उपदेशक ६:९। यसलाई भनिन्छ सन्तुस्टी। नानीहरू सन्तुस्ट हुँदैन। तर वढीसकेका बृद्ध मानिसहरू सन्टुस्ट हुन्छन्। म एउटा कुरा स्पस्ट पारौँ है, जीवनमा कुनै लक्ष्य तथा उद्देश्य लिनु, चाहँना राख्नु इर्स्या होइन। हामीले जीवनमा लक्ष्य उद्देश्य लिएर जिएको परमेश्वर परमेश्वर चाहनुहुन्छ। तर अरूसँग भएको वा अरूले पाएको कुरामा दुःखी हुनुलाई इर्स्या भनिन्छ।

कहिले पनि आफैलाई अरूसँग दाज्नु हुँदैन। अरूको सफल्तामा खुशी हुन सिक्नुपर्छ। जे छ त्यसमा धन्यावादी हुन सिक्नुपर्छ

४. अनुचित लागेको खण्डमा पनि प्रभुमा भरोसा राख्न सिक्नुपर्छ

तपाईले निरन्तर इर्स्या गर्नुको एउटा कारणचाहिँ सायद तपाईले “उचित” भन्ने शब्दसँग सम्बन्ध गास्नुभएको हुन सक्छ। यसलाई तपाईले आफ्नो हितैषी मित्रको रूपमा लिएको हुन सक्छ। मैले पनि उस्तै परिश्रम गरेको तर मैले पाइन उनले पाइरहेको छ। यो त उचित भएन। उनले भन्दा मैले धेरै मेहेनत गरेको छु तर उसले इनाम यायौ यो त उचित भएन, ममाथि अन्याय भयो। यो काममा मैले वढी परिश्रम गरे तर उनले स्यावासी पाए, यो उचित भएन। मभन्दापछि आएको कर्मचारी अहिले उसले त्यो सुविधा पाइरहेको छ, यो त उचित भएन। बाइबलले भन्छ, “तिनीहरू भन्‍न लागे, ‘यी पछिल्‍लाहरूले एक घण्‍टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्‍नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्‍याउनुभएको छ।” मत्ती २०:१२।

यस्तो जीवन जिउँदाको समस्याचाहिँ तपाईले परमेश्वरमाथि भरोसा गर्न छोड्नु हुन्छ। सबै कुराको दोष परमेश्वरमाथि नलगाउनुहोस्। कतिवटा कुरा तपाईको अल्छिपनको कारण वा तपाईको मुर्खाइको कारण पनि हुन सक्छ। तपाईको गलत छनौटको कारण हुन सक्छ। इर्स्या ज्वरो हो भने परमेश्वरमाथि संका गर्नु रोग हो। परमेश्वर तपाईले ममाथि अन्याय गर्नुभएको छ। तपाईले मलाई मैले चाहेको शरीर, आँखा, नाक दिनुभएन। मैले चाहेको इच्छाहरू पूरा गर्नुभएन। बाइबलले भन्छ, “तर उसले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्‍याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्‍यालामा काम गर्ने कबूल गरेका होइनौ? १४ तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु। १५ मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने?” मत्ती २०:१३-१५क।

जीवन जाग्नुहोस्। गनगन गर्ने बानीलाई त्याग्नुहोस्। परमेश्वरले तपाईको जीवनमा राख्नुभएको योजना पत्ता लगाउनुहोस्। कसैले तपाईको जीवनको दौड दौडन मिल्दैन न त तपाईले अरूको दौड दौडन सक्नुहुन्छ। परमेश्वरले तपाईकोलागि राखिदिनुभएको दौड दौडेर उहाँलाई खुशी पार्ने कि आफैले बनाएको दौड दौडेर धेरैलाई खुशी पार्न खोज्ने त्यो तपाईको हातमा छ। बाइबलले भन्छ, “यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।” हिब्रू १२:१। वास्तवमा तपाईले अरूको इर्स्या गर्दै विताएका क्षणहरू खेर फालिएका क्षणहरू हुन्। एकदिन सबै कुरा उल्टिन्छन्। बाइबलले भन्छ, “यसरी नै पछिल्‍ला पहिला हुनेछन्‌ र पहिला पछिल्‍ला हुनेछन्‌।” मत्ती २०:१६। जब हामी न्यायको दिनमा उहाँको अघि उभिन्छौ सबै कुराले अर्कैले रुप लिनेछ। तपाईले यहाँ इर्स्या गरेका कतिजना मानिसहरू पछि पर्नेछ। अरूको इर्स्या गरेर समयलाई खेर नफाल्नुहोस्। हामी आफ्नो दौड दौडिन थालौँ। इर्श्याको जरामा वनचरो लगाऔँ। कहिले पनि आफैलाई अरूसँग दाज्नु हुँदैन। अरूको सफल्तामा खुशी हुन सिक्नुपर्छ। जे छ त्यसमा धन्यावादी हुन सिक्नुपर्छ र अनुचित लागेको खण्डमा पनि प्रभुमा भरोसा राख्न सिक्नुपर्छ।

गीत यहाँ हेर्नुहोस्- भिडियो लम्बाइ ३ मिनेट।

भिडियो यहाँ हेर्नुहोस् – भिडियो लम्बाइ २७ मिनेट।

रुप रेखा यहाँ हेर्नुहोस्- भिडियो लम्बाइ २ मिनेट।

Related video

Facebook Comments

Category: Articles, Bible Study & Teaching