आजको आवश्यकताः साम्प्रदायिक सदभाव र सहिष्णुता

[ 0 ] October 29, 2018 |

      Bidur Adhikari

अक्टोबर २७ तारिख  अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता दिवस पर्दछ। गत शनिवार यसै दिन, यहूदी मतप्रति गहिरो घृणा पाल्ने एक व्यक्तिले यहूदी सभाघरमा पसेर अन्धाधुन्द गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको घटनाले सारा विश्व स्तब्ध भएको छ।  साथै यस घटनाले, यस दिवसले सम्झना गराउने  धार्मिक स्वतन्त्रताको अवधारणा कति महत्वपूर्ण रहेछ भन्ने कुरा पनि स्पष्ट पारेको छ। यदि सबै जाति र आस्था मतलाई सम्मानपूर्व बाँच्न पाउने हक छ, यो असल कुरा हो भन्ने धारणा यस्ता अतिवादीहरूको समझमा घुसेको भए, उनीहरू सहिष्णु बन्ने थिए र यस्तो घात हुने थिएन कि, कल्पना मात्रै गर्न सकिन्छ।

स्थानीय समय अनुसार यही शनिवार बिहान १० बजेतिर अमेरिकाको पेन्सिल्भानिया राज्यको पिट्सबर्ग शहरमा अवस्थित एउटा यहूदी धार्मिक सभाघर अर्थात् सिनागगमा एक सनकी व्यक्तिले ११ जना व्यक्तिको हत्या गरेको दुःखद खबरले यतिखेर सारा यहूदी समुदाय र अमेरिका नै शोकमा डुबेको छ। यस घटनाले धार्मिक स्थलहरू जस्तै मन्दिर, मस्जिद, चर्च गुरूद्वारा लगायतमा कडा सुरक्षा जाँच र अन्तरिक रूपमा पनि सुरक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता फेरि पनि टड्कारो रूपमा अगि ल्याएको छ।

पिट्सबर्ग शहरको स्क्विरेल हिलमा अवस्थित ट्रि अभ लाइफ कन्ग्रिगेसन सिनागगमा पसी अत्याधुनिक पेस्तोलद्वारा आक्रमण गर्ने रबर्ट बाउर नामको उक्त व्यक्तिको विरूद्धमा मानव हत्याका ११ वटा मुद्दा र जातिय हिंसाका १३ वटा गरी जम्मा २९ वटा मुद्दा दाएर गरिएका छन्। उसमाथि नियतवश जातिय हिंसा तथा योजनाबद्ध रूपमा हत्याको स्पष्ट आरोपमा मृत्युदण्ड समेतको सजाय हुनसक्ने प्रबल सम्भावना छ। तर अपराध पछि कडाभन्दा कडा दण्डले भविषयमा फेरि त्यस्तो कार्मा संलग्न नहुन अरूलाई चेताउनी दिएने भएता पनि, भएको क्षतिमा कुनै सुधार ल्याउ सक्ने चाहिँ होइन। यसकारण यसता घटना नदोहोरिउन् भन्नका खातिर यसको जरामै पुगी सम्बोधन गर्नुपर्ने हुन्छ। अमेरिकामा नागरिकले न्युनतम कानुनी विधि पूरा गरी आत्म रक्षाका लागि पेस्तोल साथमा राख्न पाउने व्यवस्था छ, जसको बारेमा निकै बहस पनि हुँदै आएको पाइन्छ। तर कुनै बेला बृटेनको उपनिवेशका रूपमा रहेका अमेरिकीहरूलाई बलियो सरकार र कमजोर नागरिक हुँदाको खतरा थाहा भएको हुँदा सम्विधानमा दोस्रो संसोधन मार्फत नै हातहतियार राख्न पाउने प्रावधान गरिएको छ। अनि एक पक्षको बलियो तर्क के छ भने, गलत व्यक्तिको अर्थात मानिसक सन्तुलन गुमेका, कुनै जाति वा मतप्रति घृणा व्यक्त गर्ने, आपराधिक कृयाकलापमा संलग्न भएका आदि व्यक्तिहरूलाई हतियार राख्ने अनुमति नदिने व्यवस्थालाई कडाइका साथ लागु गर्ने हो भने, हतियार आफैमा समस्या होइन।

अब हाम्रो देशको सन्दर्भमा भन्ने हो भने, यहाँ यस्ता हातहतियार राख्न पाउने प्रावधान छैन, र राख्ने चलन पनि छैन। तर यसको अर्थ आपराधिक मानसिकताका व्यक्तिहरूले कसै गरी लुकार छिपाएर हातहतियारमा पहुाच बनाउन सक्दैनन् भन्ने हुँदैन। यसैकारण त यहाँ पनि हप्ता असुली, सुपारी लिएर गोली हान्ने, डन भएर गोली चलाउने घटना बारम्बार सुनिन्छन्।

तर यहाँ मेरो चिन्ता सबै प्रकारका हातहतियार चलाउने मानिसहरू वा डन वा डाँकाहरू भन्दा पनि अझै खतरनाक बन्न सक्ने असहिष्णु मानसिकताको बारेमा पो हो। य स्ता असन्तुलित वा अतिवादी, असहिष्णु व्यक्तिहरूले अक्सर आफ्ना असहिष्णु र हिंसात्मक विचार कुन न कुनै रूपमा सामाजिक सञ्जालहरूमा व्यक्त गरेका हुन्छन्, जसरी उक्त यहूदी सभाघरमा मृत्युको नाङ्गो नाच मचाउने व्यक्तिले पनि गरेको थियो। उसले उक्त सभाघरमा जानु केही समय अगि मात्रै म भित्र जाँदैछु भनी अर्को त्यति नाम नुसनिएको तर अतिवादी वा अश्लील वा जस्तोसुकै कुरा पोस्ट गर्दा पनि कुनै सेन्सर नगर्ने ग्याब नामक सञ्जालमा लेखेको थियो। उसको सामाजिक सञ्जालको इतिहास हेर्दा, उसले यहूदीहरूप्रति धेरै अगिदेखि नै घृणा र हिंसाको भावना पोख्दै अएको रहेछ।

अमेरिका जस्तो चुस्त सुरक्षा सुव्यवस्थाको कार्यान्वयन गर्न सक्ने राष्ट्रले त यस्ता कुरामा ध्यान पुर्याउन चुक्दा यतिका मानिसले अनाहकमा जीवन गुमाउनु पर्यो भने, अन्यत्र वा हाम्रै समाजमा पनि यस्तो दुर्घटना नघट्ला भन्न सकिन्न। यसकारण यस्ता व्यक्ति र प्रवृत्तिको विरूद्धमा हामी सबै सचेत रहनु अवश्यक छ। यसका लागि केही व्यावहारिक उपाय यी हुन सक्छन्ः

प्रहरी प्रशासनको दायित्वः साइबर क्राइमसम्बन्धी नियमको बारेमा व्यापक जनचेतना जगाउने, पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, फेसबुक, ट्विटर लगायका माध्यद्वारा हिसात्मक भावना, जाति र साम्प्रदायिक घृणा, धार्मिक असहिष्णुता र विद्वेष फैलाउने कुनै पनि प्रकारका लेखरचना, पोस्ट, फोटो वा चित्र आदि राख्ने व्यक्तिहरूमाथि निगरानी राख्ने।

समाज, घरपरिवार, साथीभाइको दायित्वः समाजका सबै क्षेत्रमा धार्मिक सहिष्णुता, साम्प्रदायिक सदभाव र मेलमिलापको वातावरण मलजल गर्नुपर्छ। स्वस्थ बहस, छलपफल, प्रश्न सोध्ने र बुझ्ने कृयाकलापलाई बढाव दिनुपर्छ, तर कुनै पनि प्रकारका नकारात्मक वा भड्काउने वा क्रियाकलापलाई प्रश्रय प्रोत्साहन दिनुहुँदैन। त्यस्तो प्रवृत्ति पाइएमा तुरून्त घर परिवार र स्थानीय प्रशासनमा खबर गर्नुपर्छ।

हाम्रो देशमा पनि विगत केही समयदेखि यस्ता व्यक्तिहरूको साहस बढेर गएको पाइएको छ। मेरो लेखको आशय कुनै अस्था मत वा कुनै व्यक्तिप्रति आक्षेप वा दोषारोपण गर्नु होइन, तर त्यसको विपरित यस्तो प्रवृत्तिको बारेमा सतर्क र सचेत रहौँ भन्ने मात्रै हो। यसकारण, पछि गएर धेरै ढिला हुन अगि, मैले देखे जानेअनुसार यस्ता केही समूहहरूको नाम यहाँ दिन चाहन्छु, जहाँ प्राय अमूक मत र त्यो मतका अनुयायीहरूप्रति घृणा र असहिष्णुता बढाउने पोस्टहरू राख्ने गरिन्छ।

एउटा समूहको नाम इसाइकरण विरुद्ध जनजागृती अभियान( People awareness campaign against Jhole) रहेको छ भने अर्को त्यस्तै तर संख्यामा सानो समूह जनजागरण अभियान people’s awareness campaign पनि छ। यी दुवै समूहमा अश्लील, घृणा जगाउने र असहिष्णु टीकाटिप्पणीहरूको कुनै अभाव हुँदैन।

यस सन्दर्भमा हामी सबै स्पष्ट हुनु अवश्यक छ भने, अभिव्यक्ति र विचार स्वतन्त्रतामा, वा समूह निर्माण गरी आफ्नो मत आस्थाको प्रचार प्रसारमा कुनै किसिमको रोकटोक लगाइनु हुँदैन। तर जब कुनै व्यक्ति वा समूहको नाम नै अर्को कुनै समूह वा आस्थाका विरूद्धमा भन्ने राखिन्छ, तब त्यहाँ विचार र चिन्तनमा केही गम्भिर समस्या छ भन्ने बुझ्नुपर्छ। कुनै मतको विरूद्धमा घृणा फैलाउनुलाई जनजागरण अभियान भनी स्वीकार गर्न सकिँदैन। कुनै सामाजिक विकृति जस्तै हत्या हिंसा, बलात्कार, अपहरण, बालबालिका वा चेलीबेटी वा मानव बेचबिखन, भ्रष्टाचार आदिका विरूद्धमा अवाज उठाउने, कार्य गर्ने भए त्यसलाई सही मानेमा जनजागरण वा जनचेतनाा अभियान मानिन्छ। त्यस्तो काममा हामी कसैको विमति हुँदैन, बरू हरप्रकारको साथ सहयोग र समर्थन रहन्छ। तर नाम इसाइकरणको दिएर सम्पूर्ण इसाइ मत र अनुयायीहरूको विरूद्धमा भडकावपूर्ण र हिंसात्मक भावना जगाउनुलाई किमार्थ जनजागरण अभियानको संज्ञा दिन मिल्दैन।

अब हाम्रो स्थानीय सरकार र प्रहरी प्रशासन अनि केन्द्रिय सरकारलाई पनि मेरो म जस्ता अन्य धेरै नागरिकक अनुरोध यही छः यस्ता हत्या हिंसाका घटना यहाँ पनि घट्नुअगि नै, सामाजिक सम्वाद र सञ्जालमा भद्र, सभ्य भाषा शैली प्रयोग गर्न गराउनुपर्छ। हिंसा र घृणा भड्काउने प्रकारका कमेन्ट र पोस्टहरूमाथि निगरानी राखी त्यस्ता व्यक्तिहरूलाई सम्झाइबुझाइ गर्ने पूर्वसक्रिय कदम चाल्नुपर्छ। सामाजिक सदभाव र सहिष्णुता कायम राखौँ, हरप्रकारका अतिवाद र असहिष्णुताको प्रतिवाद गरौँ, अनि हाम्रै माझमा रहेका यस्ता प्रवृत्ति र व्यक्तिहरूबारे बेलैमा सबैलाई सचेत गरौँ, स्थानीय प्रहरी प्रशासनलाई जानकारी पनि गराउँ।

विदुर अधिकारी

 

 

 

Facebook Comments

Category: Religious Freedom, Socio-political