अंकल हजूरलाई फूर्सद कस्तो ?
आउन फेन्जो केही कुरा गर्नु छ भने आऊ
अंकलको धेर हैन आधा घन्टा लिन्छु । लौ न अंकल …
आऊ आऊ फेन्जो फर्सद बनाइहाल्छु नि तिम्रो लागि ।
***
बस फेन्जो ।
धन्यवाद अंकल । त्यो केटीको कुरा गर्न आको अंकल । हजूर मेरो आफ्नै जस्तो लाग्छ ।
ए हो त फेन्जो साँच्ची के भो त्यो कुरो तिमीलाई मैले गिडियनको सानु नयाँ करार दे थे । उनलाई दिन्छु भन्थ्यौ ।
दिए अंकल, पढ भनें । तिमीले मलाई प्रेम गर्छु, लभ गर्छु भन्दैछौ । पहिले यहाँ यो पुस्तकमा भाको प्रभुलाई चिन अरू कुरा पछि गर्ने भनेथें अंकल । तिनलाई एउटा लोकल चर्च कता हो त्यो पनि बताइदिएँ, उनकै घर छेउछावको।
अंकल, किन ढाँटनु । उनले मलाई त हाकाहाकी भनेकी तपाईजस्तो व्यक्तिसँग जीवन बिताउनु मेरो लागि यो संसारमा स्वर्ग हो भनेकी । मेरो मुखैको अघि, मेरो आँखैमा हेरेर । म त निक्कै प्रभावित भए हौ अंकल ।
फेन्जो, तिमी उनीसँग प्रभावित?
उनको साहस र सत्यवादी कथनसँग लजाएर, जिब्रो निकालेर, कुरा चपाएर, मर्केर, औंलामा चुन्नी बाँध्दै, फुस्काउँदै हैन कि सीधै, ड्याँगै भनेकी ।
त कुरा अहिले कहाँ पुग्यो फेन्जो ? फेरि भेट भो भएन, वचन कस्तो लाग्यो उनलाई, चर्चमा कस्तो संगति ? दुई हृदयको कुरा कता पुग्यो ?
मैले सीताको लागि प्रार्थना गरे अंकल, वचन बुझून्, प्रभुलाई चिनून्, प्रभुले उनलाई भेट्टाऊन भनेर प्रार्थना गरिरहेँ ।
के भन्यौ फेन्जो ? उनले प्रभुलाई कि प्रभुले उनलाई भेट्टाउने ? अलिक सफा भन त कसले कसलाई भेट्टाउने ?
अंकल, भेटाउने त खोज्नेले हो नि । खोज्नेले हराकोलाई हैन र ?
(मनमनै सोच्न लागें । छाती ठोकेर मैले प्रभुलाई भेटे, भेट्टाएँ भनी भट्याउने समाजमा फेन्जोको भनाइ कति फरक र पक्का, मैले अझ खोतल्ने विचार गरेँ)
फेन्जो? अलिक स्पष्ट भनन । खै हौ अंकल मैले पनि अरूको जस्तै बाइबल पढेको हो । येशू प्रभुले भन्नुभो म असल गोठालो हुँ, उहाँले हराको भेडालाई खोजेको कथा नि भन्नुभो । म त मेरै चरनीमा, मेरै गोठमा, मेरै तास जुवा खेल्ने अड्डामम, मेरै बाटोमा, मेरै मित्रहरूको चिहाने घारीको बाटो, भिरमा हिँडिराथे । मस्त थे । उहाँ नै मलाई खोज्दै खोज्दै आउनुभो, मजस्तो पापीलाई ग्रहण गर्नुभो ।
फेन्जोले प्रभुलाई होइन प्रभुले पो फेन्जोलाई ग्रहण?
खै अंकल, मलाई त तेस्तै लाग्छ । म अधम पापी, अन्धँ, बैरो, अर्कै, अर्कै देवी देवता पुजेर पुस्तौ बिताको मान्छेमा कहाँ तेस्तो बुद्धि, क्षमता स्वर्गका मालिक, महान प्रधान पुजारी, मारिएका थुमा, बौरी उठ्नुभएको र स्वर्गको सिंहासनमा आसिन समस्त राजाहरूका महान सम्राटलाई ग्रहण गर्नु । म भुसुना, लामखुट्टेले उहाँलाई ग्रहण गर्नु ? मेरो तेत्रो ताकत छ त ? विश्वाससम्म चैं गरेको हो अंकल ।
तर फेन्जो, प्रभुले भन्नुभो नि, मलाई ग्रहण गर्नेले मेरा पितालाई ग्रहण गर्छ । मलाई ग्रहण पनि त भन्नु भो नि होइन ?
अंकलसँग डिसकस गरेको हैन अंकल तर महान मसिहाले यो पनि भन्नुभो मेरो पिताले नखिचेसम्म कोही मकहाँ आउन सक्दैन । धेरैको धारणा कस्तो छ भने ग्रहण भन्नाले प्रभुलाई ठूलो कृपा गरेको जस्तो, कसैले गिफ्ट दिँदा थ्यान्कयू भनेर गोजीमा हालेजस्तो प्रभुलाई ग्रहण अनि गोजीमा झोलामा हालेर आफ्नै, बानी–बेहोरा र चाहनामा मस्त । एकदुई जना मैले भेटेको साथीहरूको भनाइको तात्पर्य त कता कता, ग्रहण गरिदिएँ है तिमीहरूको प्रभु इसुलाई । बप्तिस्मा लिइदिए है भनेजस्तो। चर्चलाई गुन लाएजस्तो पो ।
फेन्जो तिम्रो व्यक्तिगत अनुभव, इतिहास यो ग्रहण सम्बन्धी के हो त?
अंकल, मेरो लागि त यूहन्ना ९:३४ नै हो, “येशूले त्यसलाई भेट्टाएर भन्नुभयो, के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ ?” अंकल, मेरो, पाप र छल, धोका र भक्तिहीन पारम्परिक पुजाआजाको जीवनको वीचमा मलाई खोजेर भेट्टाएर प्रभुले आफ्ना महान कलवरी वलिदानमा मलाई बचाउनु भएको हो, खोज्नु र धुनु भएको हो र मजस्तो क्षुद्रलाई ग्रहण गरेर स्वर्ग अधिकारी बनाउनु भएको हो ।
ओ के फेन्जो, अब विषय बद्लौं है । तिमीले केटीको कुरो भनेको थ्यौ । के हो त्यो कुरो ?
क्या मज्जा हामीलाई अंकल, तपाईंसँग नलजाई, नडराई केटीको, लभको, मनको, हृदयको छलफल गर्न सक्छौं । लभको, केटाको, केटीको कुरा हतपती हाम्रो समाजमा ठूला अंकलहरूसँग काँ हुन्छ?
ढुक्क बन फेन्जो, मलाई भन । म सुन्छु । केही जानेको छु भने सिकाउँछु । नत्र कम से कम तिम्रो कुरा मन लाएर चै सुन्छु । आफ्नो सम्झ मलाई ।
अंकल, के भो भने हिजो उसले, सीताले धेरै दिनपछि फोन गरिन् ।
धेरै दिन? मैले सोधेँ ।
हो अंकल । धेरै भन्नाले कुरा यस्तो छ । मैले उनलाई घरीघरी, दिनरातै फोन नगर्ने भनेको थिएँ। ऊ पनि सहमत । हप्तामा एकचोटी कुरा हुन्थ्यो । तर यसचोटी चैं तीन हप्तामा कुरा भएको । कल उनले नै गर्ने हाम्रो नियम थियो । मिस कल भए नि उनले कल गर्ने अनि मैले उनलाई कल ब्याक । तीन हप्ता पछि नि अंकल, म त विरामी हो कि भनी सुर्ता लागेको ।
अनि के भो त कुरा फेन्जो ?
त्यै त ताजुब भो नि अंकल । उनले फोनमा फस्ट कुरा के भनिन्, “ओ फेन्जो हाम्रो डेटिङ्ग मिलाउने होइन?” मैले अत्तालिएर “डेटिङ्ग?” भनें । उनले त खुब जान्ने लवज निकालेर भन्छे बा, “अँ डेट क्या डेटिङ्ग? तेती पनि थाहा छैन?” ए बा, हकारेको जस्तो पो अंकल मेरो त मनै दुख्यो । त्यस्ती लाटी, सोझी केटीले । जरूरी कुरा गर्नुछ भेटौं भनेकी रैछ ।
निर्धारित समयमा निर्धारित स्थानमा म पुगेँ र उसलाई पर्खें । केही मिनटमा अर्कै कोही अपरिचित केटीले मलाई हात उचालेर, लिपिस्टिकको ओठ तन्काएर, हात कुमसम्म उचालेर “हाइ” भनी । मैले अलिकता शिर हल्लाएर हाइ भनेँ । अति क्या अंकल, चिन्नु न जान्नु, हाइ भन्छिन्। हाइको पछि अर्को प्रश्न, “चिनेनौ मलाई?” अंकल म त दङ्ग । उही सीता पो । एउटा रेस्टुरेन्टमा गयौं । बस्यौं । उनलाई मैले सोधेँ यो सब के हो सीता? सीता धाराप्रवाह बोल्न लागी, “फेन्जो, सीता नाम मैले भुलिसकें, मेरो नाउँ सिल्भी हो । पूरा नाम भन्नुपर्दा सिल्भिया बुझ्यौ? अब हाम्रो कुरा आज छिनुफानु गर्नुछ । तिम्रो विचार के छ मेरो नयाँ स्टाइलमा, मेरो गेट अपमा?” अंकल उसको हाउभाउ देख्दा कुरा सुन्दा त तिँकोतिँ टेबलबाट गेट अप गरेर गो आउट गरूँ जस्तै लागेको ।
फेन्जोको फसटेसन, टेन्सन देखेर मलाई भारी दुःख लाग्यो । मैले भनें, सम्झाएँ, सरी फेन्जो, मलाई दुःख लाग्यो । तेस्ती सोझी केटी कसरी बद्लीई हँ?
अंकल, मसँग यसको उत्तर छैन । मेरो इन्कम कति भनेर सोधी । अंकल मैले बताएँ चार ठाउँमा टिउसन चलाएर महिनामा यति हजार भनी बताएँ । उसले मुख ठुस्स बनाइँ अनि फोन निकालेर फोनको पर्दामा एउटा केटाको फोटो देखाई । “हेर फेन्जो यो मान्छेलाई प्यारसँग बोलाउने मेरो नाम हो बेस्ट गिटार । उसको एकदम पावरफूल कुरा चैं बेस गिटार हो । सायद नेपालकै नम्बरी बेस गिटार । तर म उसलाई प्राइभेटली ‘मेरो बेस्ट गिटार’ भन्छु।” अंकल, उसले ‘मेरो बेस्ट गिटार’ भन्दा चारओटा औंलाले आफ्नै छातीमा संकेत । मैले चाहेको थिएँ प्रभु त्यहाँ पसून्,, बसून् । उसको छाती त बेस गिटारको तारमा अल्झेछ क्यारे । अंकल म के गरूँ?
फेन्जो तिमीलाई यो सब कस्तो लाग्दैछ? के भयो? कहाँ के भयो होला? पहिले भनन ।
पहिलोचोटी मैले फेन्जोको मुखमा नियास्रो केही देखें । प्रार्थना त गरेकै हो अंकल । उसले प्रभुलाई पनि नजिकबाट चिनेको, नौलो कुरा देखेको कुरा पनि आफ्नो डायरीमा लेखेको देखाई एकदुईचोटी । उसको बेस गिटारले उसलाई बाइकमा राखेर संगतिमा लगेको रहेछ । त्यो संगतिमा बाइबल पाठ पाँच मिनेट अनि गफ, गान, जोक्स चैं पचास मिनेट हुँदो रैछ । एकजना केटीले उसलाई पार्लरमा आफ्नै खर्चमा लगेर भनिछे, तिम्रो जस्तो कपाल मेरो हुनु नि । अनि उसको कपाल छोटो, गाला स्याउ, अनि परेली झिमझिम बनाइदिइछ । सबले बिउटिफूल भनेछ उसलाई । बेस गिटारको बेस्ट फ्रेन्डले उसको फेसबुक आइ डि नि खोल्देछ अंकल । अनि तेस पछि सीताको उडान सुरु भएर सिल्भिया भन्ने एयरपोटमा ल्यान्ड गरेछ । अंकल सिर्फ दश दिनमा यो सब भएको । उसको मौनताको रहस्य त्यो रहेछ । रमझम ।
मेरो लागि प्रार्थना गरिदिनुहोस् प्लिज । फिलिप्पी ३:१३, १४ मेरो सहारा बनेको छ अहिले, पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर लम्किने कोसिस जारी छ । मैले मेरो बाइल पाठ डबल गरे, प्रार्थनाको समय पनि डबल बढाएँ । प्रभु बोल्नुहुँदैछ । मैले उसलाई गुमाएँ भन्ने एउटा दुःख छ मनमा अंकल, तर कस्तो बाटोमा उनी हिँड्नलागि त्यो हो मेरो चिन्ताको विषय । मैले उसलाई सधैं सम्झाको कुरा हो, युगको लागि तिमी मोडर्न नबन त्यसले हदै बनाए तिमीलाई मोडल बनाउँछ, नाम र दाम कमाउँछौ । तर प्रभुको निम्ति समर्पित बन सीता तिमीले युगलाई र तिमीजस्तै केटाकेटीहरूलाई हाँक्न र बाटो देखाउनसक्छौ । बाटोको बीचमा उभेर पोज देखाउनु एउटा कुरा, बाटोको बीच वा छेवमा पाल टाँग्नु र त्यतै झुलिनु, भुलिनु एउटा कुरा हो, तर गन्तव्य जान्नु, बाटोलाई बाटोमात्र भन्नु, चिन्नु र दुःख, कष्ट सहेर हिँडिरहनु र कहीँ पुग्नु ठूलो कुरो हो भन्थे म उसलाई । यस्तै भो अंकल । ***
Discussion about this post