आजभोली कति मानिसहरूले इसाइ आस्थालाई डलरको आरोप लगाउन थालिएको छ। आफ्नो धर्म पैसामा बेच्ने भनी लान्छाना लगाउन थालिएको छ। पैसामा विक्री हुने आस्था कति सस्तो आस्था है? यो आरोपले उक्त समूहको आस्थालाई कसरी उदाङ्गो बनाउँछ सो म यहाँ व्याख्या गर्न चाहन्न। किनकि उक्त आस्थामा मेरो रतीभरको विश्वास नभएपनि म उक्त आस्थामा हुने मानिसहरूको कदर गर्दछु।
अब आउनुहोस् डलरको छोटो चर्चा गरौ। डलरलाई कसरी हेर्ने? हाम्रो हेराइले फरक पार्छ। नेपालको राज्य सम्यन्त्रदेदि लिएर कार्यपालिका, न्याय पालिका, लोक सेवा सबै क्षेत्रमा कसको पहुँच छ? देशको डाडु पुन्यु कसको हातमा छ? दातृ राष्ट्रहरूसँग सम्बन्ध कसले राख्छ? युरोपसँग हातेमालो कसले गर्छ? हाम्रो गाउँमा रहेको हलो जोत्ने पास्टरहरूले कि देशका ठालुहरूले? देशको अर्थतन्त्र नियन्त्रण कसले गरेको छ? सासाना विकासे संस्थाहरूले गाउँमा एउटा धारा बनाउनकालागि दातृ राष्ट्रको सहयोग ल्याउँन परे त समाज कल्याणले घाटी निचोर्छन् भने कताबाट आयो यति सस्तो डलर? कहिलेकाहि मलाई समाज कल्याणको नाम समाज घाटी थिचान भन्न मन लाग्छ। भनाइ छ नि “जो होचो उसकै मुखमा घोचो” एक किसिमले सही हो। अल्पमतमा हुने पेलिएका छन्। उनीहरूमाथि अन्याय अत्याचार गरेर बहुसंयकहरूकै ठूलो स्वर देखिन्छ। गाइ मार्ने जेलमा जान्छ अनि मान्छे मार्नेले सत्ता चलाउँछ। कहिले काहि भन्न मन लाग्छ हामीलाई किन जेल चाहिँयो?
वास्तव मै भन्ने हो भने डलर नखाने नेपालमा कोही पनि छैन। कहाँबाट आउँछ? सित्तैमा पोलियोको थोपा? भिटामिन ए को क्याप्सुल? किन लिनुहुन्छ कृषि विकासको रिन? किन लिनुहुन्छ विश्व व्यङ्कको रिन? कसले बढी खाएको छ डलर? सरकारले? कि चर्चले? कसरी भन्नुहुन्छ हिन्दुले डलर खाएको छैन भनेर? किन लिनुहुन्छ टिबीको चक्की सित्तैमा? देशको कुनचाहिँ संस्था पहिलो मुलुकहरूको सहयोग विना चलेको छ? कसले बनाएको नेपालको प्राय जसो राजमर्गहरू? कुनचाहिँ समूह डलरबाट अछुत छ? नागरिकता हुँदाहुँदै पनि अरबौ डलर पचाउन भरखरै मतदाता परिचय पत्र बनाउनुभएन र? सरकारले जुन डलर ल्याउँछ। बास्तवमा त्यो चर्चले पाएको भए हाम्रो देशको मुहार ५ वर्षमा फेरिने थियो। चर्च मात्र यस्तो सस्था हो जसका सदस्यहरूले सक्रिय भएर मेहेनत गर्न सिकाउँछ। मानिसहरूले आफ्नो कमाइको १० प्रतिशत चर्चलाई दिन्छन्। सोबाट जम्मा भएको पैसाबाट समाजमा भएको निर्धाह अनि असाहयलाई सहायता गर्छन् र चर्चमा सेवा गर्ने मानिसहरूलाई तलव दिन्छन्। अनि इमानदार भएर सरकारलाई कर तिर्न सिकाउँछन्। देशको असल नागरिक बन्न सिकाउँछन्।
८० प्रतिशत हिन्दु भनेर उफ्रेरमात्र के गर्ने? गन्ती मै नआउने ख्रीष्टियनले त देश कै प्रशिध्द अस्पतालहरू (पाटन असपताल, आनन्दवन अस्पताल, हरियो अर्क असपतान, टिम असपताल, आँप पिपल अस्पताल र अरू धेरै), स्कुलहरू चलाउन सक्छन् भने त्यत्रो बहुसंख्यक हिन्दुहरूले असल कुरामा बल लगाए, असल चेतना दिलाए देशको मुहार फेरिन्न र? त्यत्रो बुद्धिष्ट भिक्षुहरूको वलियो पाखुराहरू समाजको उत्थानमा बजाए देशको उन्नति हुँदैन र? चप्पलको भरमा साइकल चढीचढी दीनदूःखीको सेवामा जुट्नेहरूलाई कसरी डलर खाने देख्नुभयो? अनि केही नगरी डाडाको टुप्पोमा महल बनाएर तपस्याको नाममा चैन गर्नेहरूलाई कसरी डलर नखाने देख्नुभयो? यसरी आफ्नो मानिसहरूलाई अन्धो बन्न सिकाउनुको सट्टा असल तथा जिम्मेवारी नागरिक बन्न सिकाएमा देश दातृ रास्ट्रको दानमा नभइ हामी आफै सम्पन्न बन्दैन र? देशका उद्योग, व्यापारले इमानदार भएर कर तिरेमा देश सम्पन्न बन्दैन र? शैक्षिक नीतिहरू अरू वर्गलाई दबाउन नभइ सबैको भलो हुने खालको ल्याए सबैले उन्नती गर्दैन र? आफू अरूलाई दवाएर बस्ने अनि अरूले भलो गरे डलर डलर भनी कज्याउन खोज्ने, यो के भएको?
डलर खाने भनेर मात्र हुँदैन। कहाँबाट चुहेर कसले डलर खायो? कसरी कहाँबाट डलर चुहुन दिनुभयो? कुनचाहिँ चर्चले वा व्यक्तिले देशको नियम उलङ्घन गरेर डलर खायो औल्याउनु पर्यो अनि भन्नु पर्यो डलर खाने भनेर। आफ्नो लाज ढाक्नलाई के ती आफ्नो पक्षमा बोल्न असक्तहरूलाई वली बनाउनु पनि धर्म हो र? यो त आफू डलरमा टिल्ल मातेर अरूलाई डलरिया देखे जस्तो भएन र? जसरी जड्याहहरूले गर्छन् नि। कुरै नबुझी डलर खाने भन्दै उफ्रेर पनि भाइचाराको विकास होला र?
Discussion about this post