विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए । दुईवटा शैक्षिक संस्थाहरुमा मैले पुर्ण पारिश्रमिक लिएर पेशागत सेवा गरे भने दुईवटै मण्डलीमा चाहि स्वयमसेवकको रुपमा विना पारिश्रमिक सेवा गरे र गर्दै पनि छु । मैले काम गरेका यी दुई संस्थाहरु यिनीहरुका कामका क्षेत्रको आधारमा, सेवाग्राहिको आधारमा र उनीहरुले भोग्ने चुनौतिहरुको आधारमा बिलकुलै फरक प्रकृतिका संस्थाहरु हुन । तर व्यवस्थापनको आधारभूत सिद्धान्त भने दुबै खाले संस्थाहरुमा उहि नै लागु भएको वा लागु हुन पर्ने रहेछ भन्ने मेरो अनुभवले बताएको छ । लिडरसिप एण्ड म्यानेजमेन्ट विषयमा स्नातकोत्तर र एम.फिल तहको अध्ययन र सोहि अनुसार कार्यक्षेत्रमा पनि दुई दशक जति सेवारत रहि अनुभवहरु बटुल्ने मौका पाएको कारण आफ्नो अनुभवहरु र शोधपत्रहरुको (अनुसन्धान) अध्ययन गरि यस विषयमा कलम चलाउँने कोसिस गरेको छु । अध्ययन गर्न मन पराउँने भए पनि लेखनमा खासै जागर नचल्ने भएकोले यस लेखमा सुधारका ठाउँहरु थुप्रै रहनेछन । यस लेखले मण्डली व्यवस्थापनको आधारभूत र सैद्वान्तिक ज्ञान तहको पाटोलाई मात्रै समेट्ने लक्ष्य राखिएको हुदा सीप निर्माणको पाटो र त्यसको अभ्यासलाई थाति राखेको छु । त्यो यहाँहरुले आफ्नो मण्डलीको आवश्यकता अनुसार तालिम वा कार्यगोष्ठिबाट प्राप्त गर्न सक्नुहुनेछ । नेपाली मण्डलीका आम अगुवाजनहरु र पाठकहरुले सहजै बुझ्न सकिने लेख बनाउँन कोसिस गरेको हुदा शोधपत्रहरुको (अनुसन्धान) श्रोत यहाँ उल्लेख गरिएको छैन । यस लेखको सम्बन्धित शोधपत्रहरु अध्ययन गर्न चाहने पाठकहरुलाई ईमेल मार्फत प्रदान गर्नेछु ।
मैले २०६४ सालको अन्त्यमा सेवा शुरु गरेको शैक्षिक संस्थामा मैले २०७४ मा बिदाई लिदा विद्यार्थीको संख्या तीन गुणा, कर्मचारीको संख्या तीन गुणा र वार्षिक आय चार गुणाले वृद्धि भएको थियो । त्यसैगरि मैले २०७४ को अन्त्यमा जीम्मा लिएको अर्को शैक्षिक संस्थामा पनि यो सात वर्षको अन्तरालमा त्यस्तै वृद्धि भईरहेको छ । यी दुबै संस्थामा काम गर्दै गर्दा मैले सामना गर्नु परेको चुनौतिहरु केहि मुद्दामा बाहेक प्राय उस्तैनै थिए र मैले अपनाएको व्यवस्थापनका उपायहरु पनि उस्तै थिए । एकै प्रकृतिको संस्थाहरु भएका कारण मैले अपनाएको व्यवस्थापनका उपायहरु र सीपहरुले दुबै संस्थामा सकरात्मक नतिजा आएको मेरो निष्कर्स छ ।
त्यसै गरि फेरि मेरो सेवाको अर्को पाटो, मण्डलीको नेतृत्व र व्यवस्थापन हो जुन २०६४ साल बाटै शुरु भएको थियो । यो दुई दसकको हाराहारीमा आईपुग्दा मण्डलीमा भएको वृद्धि, कार्यक्रमहरुको प्रभावकारिता, विश्वासीहरु विचको सम्बन्ध र भेटघाट जस्ता पक्षहरुमा सकरात्मक काम भईरहेको महशुस गरेको छु । यी सबै कुराहरु म पनि संलग्न भएको समूहको नेतृत्व र व्यवस्थापन कौशलको कारण सम्भव भएको भन्ने लागेको छ । मण्डलीको नेतृत्व र व्यवस्थापन चाहि मैले सेवा गरेको अन्य दुई संस्थाभन्दा यसको उद्देश्य र सेवाग्राहिको भिन्नताको कारण यसका चुनौतिहरु पनि फरक रहेको मेरो अनुभव रहृयो । तर अहिले फर्केर हेर्दा नेतृत्व र व्यवस्थापनको आधारभूत मुद्दाहरु र सिद्धान्त भने उहि नै प्रयोग भएको रहेछ जसलाई मैले यस लेखमा समेट्ने प्रयास गरेको छु ।
मण्डली चाहि सजिवहरुको जमघट मात्र नभई सामाजिक संघठन पनि हो जहाँ आत्मिक र भौतिक दुबै पक्षको व्यवस्थापन गर्न पर्ने हुन्छ । त्यसैकारण मण्डलीले सामना गर्ने चुनौतिहरु पनि आत्मिक र प्रशासनिक दुबै प्रकारका हुने गर्दछ । अझ अहिले गरिएका थुप्रै अनुसन्धानहरुले त मण्डलीका पाष्टरहरुले आत्मिक चुनौतिहरु भन्दा पनि प्रशासनिक चुनौतिहरु धेरै भोग्ने गरेको पाईएको छ । अनि मण्डली व्यवस्थापनको सैद्वान्तिक र व्यवहारिक ज्ञान र अनुभवको कमीको कारण कतिपय पाष्टरहरुले आत्मिक चुनौतिलाई व्यवस्थापकिय पक्षले र व्यवस्थापकिय चुनौतिलाई आत्मिक तवरले समाधान गर्न खोजिरहेका हुन्छन ।
मण्डलीको पाष्टरले निरन्तर आत्मिक र प्रशासनिक दुबै पक्षमा काम गरिरहेको हुन्छ र त्यसमा उक्त पाष्टर प्रभावकारी सावित हुन यी दुबै भूमिका सहि रुपमा निभाउँन सक्नुपर्दछ । मण्डलीको पाष्टर यी दुई मध्ये कुनै एकमा मात्र चुकेको खण्डमा पनि प्रभावहिन सावित हुन सक्छ । वर्तमान समयमा मण्डलीको व्यवस्थापन सामाजिक रुपान्तरण र कानुनी व्यवस्थाहरुको कारण झन धेरै चुनौतिपूर्ण र जटिल हुदै गईरहेको छ जसको कारण उहाँहरुले निभाउँन पर्ने जीम्मेवारीमा संघर्ष गरिरहेका छन ।
मण्डली व्यवस्थापन तीन पक्षबाट अत्यन्तै महत्वपूर्ण छ । पहिलो कुरा, मण्डली व्यवस्थापनले मण्डलीका अगुवाहरुलाई यसको उद्देश्य प्राप्तिका लागि प्रतिवद्व हुने र श्रोतहरुको उचित उपयोग गर्ने कुरामा एकजुट गराउँछ । दोश्रो कुरा, मण्डलीका अगुवाहरुले मानिसहरुको विचमा सेवा पु¥याउँछ किनकी मण्डली चाहि कार्यक्रम गर्ने ठाउँ मात्र नभई मानिसहरुको सेवा गर्ने ठाउँ हो । तर हरेक मानिसहरुको आफ्ना सबल र दुर्बल पक्ष, वरदानहरु र ईक्षाहरु हुदँछ जसको कारण उनीहरुलाई प्रभावकारी सेवा दिन मण्डलीका अगुवाहरुमा व्यवस्थापनको सीप हुन आवश्यक छ । तेश्रो कुरा, मण्डलीको आफ्नै दर्शन र उद्देश्यहरु हुन्छन जसलाई प्राप्त गर्न एकल प्रयासले सम्भब हुदैन । यो सामुहिक योगदानले मात्र सम्भब छ । यस्ता सहयोगका बाँधहरु निर्माण गर्न पर्दछ र जतन गरि जोगाउँन पर्दछ । भौतिक श्रोतहरु जुटाउँन पर्दछ, सेवकहरु छान्नुपर्दछ र तालिम दिन पर्दछ । अनि यी सबै प्रक्रियाको केन्द्रमा व्यवस्थापन आउँदछ जुन मण्डलीको सेवाको लागि अत्यावश्यक छ ।
विज्ञहरुका अनुसार मण्डली व्यवस्थापनका सीपहरु प्रभावकारी रुपमा सिक्न मण्डली व्यवस्थापनका आधारभुत सैद्वान्तिक ज्ञान लिने, त्यसलाई व्यवहारमा उतार्ने मार्गनिर्देशिका तयार गर्ने, उक्त सीपको विकासको अभ्यास गर्ने, पर्याप्त पृष्ठपोषण लिने र निरन्तर अभ्यास गर्ने कुरालाई जोड दिईएको छ ।
मण्डली व्यवस्थापनका आधारभुत कुरा गर्न भन्दा पहिला मण्डलीको पाष्टरहरुले वा अगुवाहरुले भोगिरहेका केहि चुनौतिहरु वा मुद्दाहरुलाई बुझ्न पाए अझ सहज सिकाई हुन सक्छ । तसर्थ विभिन्न अनुसन्धानहरुबाट आएको प्रमुख मुद्दाहरुलाई यहाँ उल्लेख गरेको छु ।
टेबल नं. १
दर्शनको अभाव |
मानव श्रोत व्यवस्थापन |
आत्मिकी खडेरी |
समय व्यवस्थापन |
शक्ति संघर्ष |
निर्दिष्ट लक्ष्यको कमी |
आर्थिक अभाव |
तालिमको अभाव |
अगुवाहरुको कमी |
अगुवाको विरोध |
अगुवाहरुमा प्रतिवद्धतामा कमी |
अगुवाको अधिकारमा प्रश्न |
सामूहिक भावमा कमी |
श्रोत व्यवस्थापन |
यी माथि उल्लेखित चुनौतिहरु वा मुद्दाहरु बुझ्नको लागि उदाहरण स्वरुप मात्र राखिएका हुन जुन अनुसन्धानमा आधारित छ । व्यक्तिगत रुपमा यी अनुभवहरु यो भन्दा धेरै, थोरै वा फरक पनि हुनसक्छन् । अनुसन्धानको अनुसार यी चुनौतिहरु चाहि पाष्टरअगुवाहरुको मण्डली व्यवस्थापनका सीपको अभावको कारण देखा पर्ने गरेको पाईएको छ ।
माथि उल्लेखित चुनौतिहरु वा मुद्दाहरु मध्य आत्मिक चुनौतिहरुलाई छुट्टाउँने हो भने, अन्य व्यवस्थापकिय चुनौतिहरुलाई मुख्य दुई पक्षमा विभाजन गरि हेर्न सकेमा सैद्वान्तिक रुपमा बुझ्न सहज हुन सक्छ । १. आर्थिक पक्ष २. प्रशासनिक पक्ष । व्यवस्थापनका विज्ञहरुले आर्थिक पक्ष प्रशासनिक जीम्मेवारीकै हिस्साको रुपमा लिने गरेको भएता पनि हाम्रो सिकाई सहजताको लागि मैले दुई पक्षमा राखेको छु । यी दुई पक्षमा हामी मण्डलीका व्यवस्थापकिय चुनौतिहरु वा मुद्दाहरुलाई समावेश गर्नेछौ जसमा निम्नानुसारका मुद्दाहरुलाई टेबलमा देखाएको छु ।
टेबल नं. २
आर्थिक पक्ष |
प्रशासनिक पक्ष |
श्रोत र सम्पत्ति व्यवस्थापन |
आवश्यक सबै नीतिहरु, निर्देशिकाहरुको निर्माण |
तलब, भत्ता, सेवासुविधाहरु |
मानव संशाधनको व्यवस्थापन र परिचालन |
कोष संचय, निर्माण |
उपयुक्त तालिमको व्यवस्था |
भेटि, चन्दा, दान र अन्य आयको व्यवस्थापन |
समय, द्वन्द्व व्यवस्थापन |
अडिट |
संचार |
रणनीतिक योजना |
|
उपयुक्त कार्यक्रमहरुको निर्माण |
|
भौतिक संरचना निर्माण, मर्मत संभार |
|
जोखिम व्यवस्थापन |
|
प्रविधिको प्रयोग |
|
बोर्डको सुशासन |
|
लक्ष्य निर्धारण, अभ्यास र पृष्ठपोषण |
(माथि उल्लेखित बुँदाहरु केहि उदाहरणहरु मात्रै हुन । मण्डलीले आफुले भोग्दै गरेको चुनौति वा सम्भावित चुनौतिको आधारमा यस्ता क्षेत्रहरु निक्र्यौल गरि त्यसको व्यवस्थापन गर्न पर्दछ ।)
अहिलेको नयाँ अनुसन्धानहरुका अनुसार कुनै पनि संस्थाको व्यवस्थापनमा निम्न क्षेत्रहरुलाई प्राथमिकतामा राखेको देखिन्छ ।
१. रणनीतिक नेतृत्व र दर्शन
२. संस्थागत मूल्यमान्यताहरु र संस्कार
३. मानव संशाधन र वरदानहरुको व्यवस्थापन
४. प्राविधि र डिजिटल व्यवस्थापन
५. प्रशासनिक उत्कृष्ठता र प्रक्रिया व्यवस्थापन
६. संस्थागत लचकता र गतिसिलता व्यवस्थापन
७. संचार र सरोकारवालाहरुको व्यवस्थापन
८. कार्यसम्पादनको मापन र तथ्यपरक निर्णय प्रक्रिया
९. आर्थिक पारदर्सिता, व्यवस्थापन र सुशासन
मण्डली व्यवस्थापनका यी क्षेत्रहरु निक्र्यौल गरिसके पछि माथि पहिले नै उल्लेख गरिए अनुसार मण्डली व्यवस्थापनका सीपहरु प्रभावकारी रुपमा सिक्न र कार्यन्वयन गर्न मण्डली व्यवस्थापनका आधारभुत सैद्वान्तिक ज्ञान लिने, त्यसलाई व्यवहारमा उतार्ने मार्गनिर्देशिका तयार गर्ने, उक्त सीपको विकासको अभ्यास गर्ने, पर्याप्त पृष्ठपोषण लिने र निरन्तर अभ्यास गर्ने कुरालाई जोड दिईएको छ ।
यी विषयहरुलाई व्यवहारिक बनाउँन हामीले निम्न उल्लेखित कदमहरु चाल्न सक्छौ ।
१. व्यवस्थापनका आधारभुत सैद्वान्तिक ज्ञान : यस्ता ज्ञानहरु सामन्यतय किताबहरु, शोधपत्रहरु(अनुसन्धान) एकेडेमिक लेखहरुको अध्ययनबाट लिन सकिन्छ । बजारमा व्यवस्थापन सम्बन्धि थुप्रै किताबहरु पाईन्छन । अगुवाहरु अत्याधिक अध्ययन गर्ने व्यक्तिहरु हुन पर्दछ । Leaders are Readers भन्ने अंग्रेजी भनाईले पनि यसलाई पुष्टि गर्छ । छोटो छोटो तालिमहरुको व्यवस्था गर्दा अगुवा टिममा उर्जा आउँन सक्छ । यस्ता तालिमहरु प्राय नेपाली मण्डलीहरुमा अन्य कुनै मण्डलीकै पाष्टरहरुलाई बोलाई प्रवचन शैलिमा दिने गरिन्छ जसको वास्तविक मूल्य र दिगो प्रभाव हुदैन । त्यस्ता तालिम दिने व्यक्तिहरुको प्राय आफूले सिकाउँने गरेको विषयमा आफू स्वयमले गरेको अनुभव चाहि हुदैन । कतिजनाले गहिरो अध्ययन र अनुभवको अभावमा गुगलमा खोजिएका खुराकहरु पस्कने गर्छन । तसर्थ तालिमको आयोजना गर्दा सस्तो व्यक्ति र व्यक्तिको नामको पछाडि नलागि उस्को सम्बन्धित विषयमा अध्ययन, संस्था र मण्डली दुबैमा सेवा गरेको अनुभव र बाईबलको ज्ञान भएको व्यक्तिलाई छान्न सक्नुपर्छ किनभने यस्ता तालिमहरु चाहि रिसर्चहरुबाट प्रमाणित भएका, अनुभवले भरिएको र बाईबलले सिकाउँने तीनवटै कुराहरुको आधार मानि सिकाउँन पर्दछ, अनि मात्रै त्यस्तो सिकाई र ज्ञान आधिकारिक हुन्छ । सबै विषयमा एउटै व्यक्ति पोख्त पनि हुदैन त्यसैले फरकफरक शिर्षकमा विषय विज्ञहरुलाई बोलाई तालिम दिई आधारभूत ज्ञान हासिल गर्न सकिन्छ । टेबल नं. २ मा उल्लेख भएका मुद्दाहरु यदि तपाईको मण्डलीमा पनि छ भने त्यसको छुट्टाछुट्टै सिकाई वा तालिम हुन आवश्यक छ ।
२. व्यवहारमा उतार्ने मार्गनिर्देशिका : हाम्रा नेपाली मण्डलीका अगुवाहरुले तालिम लिदै नलिएको, ज्ञान हुदै नभएको भने पक्कै होईन । कति मण्डलीका अगुवापाष्टरहरु त झन आवश्यक भन्दा बेसी नै तालिम र सभासम्मेलनहरुमा सहभागि हुने गर्छन तर प्राय तालिममा एक्लै जाने र त्यहाँ सिकेर आएको कुरा प्रति जवाफदेहि हुन नपर्ने भएको हुदाँ सिकेका कुरा वा सैद्वान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने मार्गनिर्देशिका बनाउँदैनन् र विस्तारै ती कुराहरु दिमाग र प्राथमिकताबाट हराएर जादँछ । कतिपय तालिमहरु व्यक्तिगत सुधार र विकासको लागि लिन पर्ने भए पनि कति तालिमहरु चाहि संस्थागत हुन पर्ने हुन्छ । त्यसो गर्दा उक्त तालिमले तपाईकै मण्डलीलाई मध्यनजर गरि सिकाउँछ र सबै अगुवाहरु बसि सिक्ने भएको कारण जवाफदेहि हुन बाध्य गराउँन सक्छ । तालिम लिई सकेपछि तालिममा सिकेको कुरालाई तोकिएको समयबाट व्यवहारमा उतार्न आवश्यक मार्गनिर्देशिकाहरु बनाउँन पर्ने हुन्छ । त्यसका लागि तालिममा सहभागिहरु मध्यबाटै ४–५ जनाको कार्यदल बनाई आवश्यक मार्गनिर्देशिकाहरु बनाउँन सकिन्छ । त्यसलाई बोर्डबाट पारित गरि कार्यन्वयनमा लान आवश्यक छ ।
३. सीप विकासको अभ्यास : मण्डली व्यवस्थापनका नाममा गरिने कतिपय तालिमहरु नामका मात्रै तालिम हुन्छन् जसमा मुलत सैद्वान्तिक ज्ञान र अनुभवको कुरा मात्रै गर्छन र तालिम अवधिभर होस वा तालिम पस्चात सेवाको क्षेत्रमा, व्यवस्थापन सम्बन्धि सिकेका सीपहरुको अभ्यास गर्ने मौका पटक्कै हुदैन । कुनै पनि तालिम लिई सकेपछि त्यसलाई अभ्यास गर्नुपर्दछ । कार्यदलले बनाएको मार्गनिर्देशिकाहरु अनुसार सिकेका सीपहरु जति सक्छ उति धेरै अभ्यास गर्न पर्दछ । अभ्यासले मात्रै हामीले सैद्वान्तिक रुपमा सिकेका कुरा वास्तविक कार्यक्षेत्रमा प्रभावकारी छ वा छैन भनि अनुभव लिन सक्दछौ । अभ्यास विना अनुभव हुदैन र अनुभवविनाको सिकाई परिपक्व हुदैन । हरेक मण्डलीको आफ्नै किसिमका सामाजिक, आर्थिक र कानुनी चुनौतिहरु हुने भएकोले त्यस्ता सीपहरुले वास्तवमा सकरात्मक नतिजा आउँछ कि आउँदैन वा काम गर्छ कि गर्दैन भनि थाहा गर्न अभ्यास नै गर्न पर्दछ । यस्ता सीपहरुको अभ्यास गर्दा व्यक्तिगत वा सामूहिक रुपमा जवाफदेहि हुन पर्ने प्रावधान मिलाए सजग हुने सम्भावना बढ्दछ । यसरी अभ्यास गर्दा अगुवाहरु नियममा बाधिन सक्छन, समय धेरै लाग्न सक्छ, निर्णयहरु एकल नहुन सक्छन तर अभ्यास गर्दै गएमा एकदिन त्यो सामान्य काममा परिणत हुदँछ ।
५. पृष्ठपोषण (Feedback): मण्डली व्यवस्थापनका सीपहरुको अभ्यास गर्दैगर्दा सबै कुरा ठिकठाक जान्छ भन्ने हुदैन । कसैले सिकेका सीपलाई काममा दुरुस्तै उतार्न सक्छन भने कोहिले संघर्ष गरिरहेको हुन सक्दछ । तसर्थ व्यवस्थापनका सीपहरुको अभ्यास गर्ने व्यक्तिले स्वयम आफ्नो विकासको लागि पृष्ठपोषणको अपेक्षा राख्न पर्दछ र त्यसको अभ्यास पनि गर्न पर्दछ । सटिक पृष्ठपोषण बिना व्यक्तिको क्षमता अभिवृद्धि हुदैन । हामी सबैलाई मेन्टरहरुको आवश्यकता पर्दछ । मण्डलीमा अभ्यास भईरहेका व्यवस्थापनका तरिकाहरु, नीतिनिर्देशिकाहरु र त्यसका नतिजाहरुको निरन्तर मूल्याङ्कन गरि पृष्ठपोषण दिन आवश्यक छ । पृष्ठपोषण एकदम सटिक, यथार्थपरक र ठीक समयमा नै गर्न पर्दछ अनि मात्रै यसबाट अपेक्षित नतिजा आउँन सक्छ । पृष्ठपोषणलाई कमजोरी मात्र केलाउँने साधन नभई सबल कुरालाई अझै बढवा दिई सुधार्नु पर्ने पक्षमा बैकल्पिक उपायहरु औल्याउँने उद्देश्यले गर्नुपर्दछ । उचित मूल्याङ्कन विना पृष्ठपोषण दिने गल्ति गर्नु हुदैन । कति कार्यक्षेत्रमा हाकिम जस्तो मान्छे वा पाष्टरलाई पनि के पृष्ठपोषण दिने भन्ने सोचाई रहेको पाईन्छ । तर हामीले याद गर्न पर्ने कुरा चाहि सटिक, यथार्थपरक र ठीक समयमा पृष्ठपोषण नपाएका पाष्टर अगुवाहरु तारन्तरकालमा गई प्रभावहिन, अहंकारी, निरास व्यक्ति बन्दछन् जसको असर पुरा मण्डली परिवारलाई नै पर्दछ । कति पटक चाहि मण्डलीमा प्रयोग भईरहेका व्यवस्थापनका सीपहरु वा उपायहरु पुराना भईसकेका हुन्छन जसको समयमा नै आवश्यक मूल्याङ्कन गरि पृष्ठपोषण दिनु पर्ने हुन्छ ।
६. निरन्तर अभ्यास : निरन्तर मूल्याङ्कन र पृष्ठपोषणबाट आएका सुझावहरु, उपायहरु र मौकाहरुको प्रयोग गरि व्यवस्थापनका सीप र तरिकाहरुलाई निरन्तर अभ्यास गरिरहन पर्ने हुन्छ । सीपहरु जति प्रयोग ग¥यो उति प्रभावकारी हुने भएको हुदा आफ्नो मर्जिको मालिक नबनि, मन लाग्दा गर्ने मन नलाग्दा नगर्ने वा आफ्नो स्वार्थको लागि मात्रै प्रयोग गर्ने नभई निरन्तर अभ्यास गरेमा मण्डली व्यवस्थापनका सीपहरुमा निपुण हुन सकिन्छ । निरन्तर अभ्यासले बानी बसाल्छ र यस्तो अभ्यासको बानी बसेमा व्यवस्थापनका सीपहरु स्वतस्फूर्त रुपमा आउँने र सहज हुन जान्छ ।
निष्कर्शमा भन्नुपर्दा मण्डलीका अगुवा पाष्टरहरुले आफ्नो मण्डलीमा भएका सुधारका क्षेत्रहरु प्हिचान गर्ने, त्यस विषयमा आफूले गहिरो अध्ययन गर्ने, विषय विज्ञहरुबाट आवश्यक तालिमहरु लिने र तालिममा सिकेका कुराहरुलाई माथि उल्लेखित ६ वटा बुँदाहरु अनुसार व्यवहारमा उतार्न सके मण्डली व्यवस्थापन प्रभावकारी हुने कुरामा विश्वास लिएको छु ।
यस्ता सीपहरुको प्रयोग भावि पुस्ताहरुको लागि रोल मोडल बन्न एक मात्र उपाय भएको कारण अगुवापाष्टरहरुले निरन्तर अभ्यास गर्न आवश्यक छ । यी उल्लेख गरिएका कदमहरु चक्रजस्तो (Cycle) भएको हुदा आवश्यक सिकाई र परिमार्जन सहित निरन्तर चलिरहे हाम्रा मण्डलीहरु चुस्त र प्रभावकारी मण्डली सावित हुनेछ । यी कामहरुको लागि हाम्रा ख्रीष्टियन समुदायले नै थुप्रै राम्रा तालिम दिने संस्थाहरु पनि खोलेका छन । आफ्ना मण्डलीको आवश्यकता अनुसार त्यस्ता संस्थाहरुसँग हातेमालो गरे अझ उत्कृष्ट हुन्छ ।
मलाई आशा छ यस लेखले तपाईको मण्डलीमा तपाईलाई व्यवस्थापनको कुन पक्षमा काम गर्न पर्ने छ वा सुधार ल्याउँन आवश्यक छ भन्ने कुरामा र त्यसको लागि आवश्यक रणनीति चयन गर्न सहयता पुरयाउँनेछ । मेरो आशा र प्रार्थना यहि छ कि हामीले एक अर्काको मण्डलीमा भईरहेका व्यवस्थापन सम्बन्धिका अभ्यासहरु, प्रावधानहरु, उपायहरुबाट सिकी हाम्रा मण्डलीहरुलाई व्यवस्थित मण्डलीको रुपमा निर्माण गर्नेछौ र जीवित परमेश्वरको महिमा र उहाँको राज्य विस्तारमा हाम्रा सीपहरुलाई प्रयोग गर्नेछौ । ।
Writer: Raj Kumar Yonjon
Email: rajkumar.yonjon25@gmail.com
(Writer is a practitioner and researcher on Educational Leadership and Management. He holds a Master’s Degree from TU and an MPhil Degree from KU in Educational Leadership and Management.)
Discussion about this post