आज हामी “शुभ शुक्रवार” (Good Friday) मनाउँदैछौं – एक यस्तो दिन जुन संसारका लागि कहाली लाग्दो लाग्न सक्छ, तर साँचो अर्थमा यो हामी सबैका लागि शुभ दिन हो। किनकि आजको दिन प्रभु येशू ख्रीष्टले हाम्रो पापको मूल्य तिर्नको लागि क्रूसमा मरण व्यहोर्नुभयो।
येशूले निर्दोष, निष्कलंक जीवन बिताउनुभयो। उहाँले कसैको बिरूद्ध पाप गर्नुभएन, तर उहाँ हामी जस्ता पापीहरूको ठाउँमा मरेर परमेश्वरको प्रेम देखाउनुभयो।
‘तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। ‘– यशैया ५३:५
प्रभु येशूको मृत्यु केवल ऐतिहासिक घटना होइन, यो दिव्य योजना थियो – जसमा हरेक मानिसका लागि छुटकारा र अनन्त जीवनको ढोका खोलिएको छ।
‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। ‘ – यूहन्ना ३:१६
क्रूसमा येशूको अन्तिम शब्द थियो – “पूरा भयो!” (यूहन्ना १९:३०) – जसको अर्थ, मुक्तिको योजना पूरा भयो। अब हामी आफैंको धार्मिक कार्यहरूद्वारा होइन, येशूको क्रूसमा गरिएको बलिदानमा विश्वासद्वारा उद्धार पाउन सक्छौं।
शुभ शुक्रवारले हामीलाई सम्झाउँछ कि पापको दण्ड मृत्यु हो, तर येशूले त्यो दण्ड आफैंमा लिनुभयो। आज, जो उहाँमाथि विश्वास गर्छ, उहाँले उसलाई नयाँ जीवन दिनुहुन्छ।
‘किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। ‘– रोमी १०:९
यो शुभ-समाचार तपाइकोलागी हि – येशू तपाईंलाई प्रेम गर्नुहुन्छ। उहाँ तपाईंको लागि मर्नुभयो, र तपाईंलाई अनन्त जीवन दिन चाहनुहुन्छ। आजको दिन, उहाँप्रति आफ्नो विश्वास अर्पण गर्नुहोस्, र नयाँ जीवनको यात्रा सुरु गर्नुहोस्।
शुभ शुक्रवार ( Good Friday) तपाईंलाई र तपाईंको परिवारलाई – क्रूसमा देखिएको प्रेमले तपाईंको हृदय छोओस् र जीवन रूपान्तरण गरोस्।
Discussion about this post