नेपाली सुगम संगीत तथा ईसाई संगीतका अविस्मरणीय नाउँ दिव्य खालिङ्ग, जिउँदो परमेश्वरको साँचो आराधक पास्टर सामुएल कार्थक र परमेश्वरको बिनम्र सेवक र भजन रचनाकार पास्टर नगेन्द्र कुमार प्रधान जस्ता श्रदेय अग्रजहरूको सम्मानमा उहाँहरूको संगीत, आराधना तथा सेवकाइको जीवनको सम्झना गर्दै जीवनदान र वरदान दिनुहुने परमेश्वरलाई प्रशंसा दिन र अग्रजहरुद्वारा नयाँ पुस्ताका ख्रीष्टियन कलाकार तथा आराधकहरूलाई उत्साह र सन्देश दिन ख्रीष्टिय भजन क्वाएरद्वारा एक सांगीतिक सेवाको आयोजना गरिएको थियो । यो सेवा सम्मान सेवा मात्र नभएर, यी ३ स्रष्टाहरुका जीवनबाट परमेश्वरको महिमा भएको र उहाँहरुको ख्रीष्टिय समुदायमा रहेको योगदानलाई कदर गर्ने सेवा थियो । फागुन ७, २०७९, (फरवरी १९, २०२३) का दिन नेइम ज्ञानेश्वर मण्डलीमा राखिएको सो सेवामा काठमाडौं उपत्यकाका मण्डलीहरुका पास्टर तथा अगुवाहरु साथै मण्डलीका आराधना झुण्डका अगुवाहरुलाई बिशेष लक्षित गरी निमन्त्रणा गरिएको थियो । ५०० भन्दा बढीको सहभागिता रहेको सो सेवा, परमेश्वरको महिमामय उपस्थितीमा, अन्यन्तै आशिषमय भएको थियो।
Discussion about this post