११ माघ, २०८० बिहिबार
काठमाडौँ ॥ जावलाखेल युथ क्लब पोखरामा जारी २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलको यात्रा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै तय गरेको छ ।
खेलको पहिलो मध्यान्तरको ३८औँ मिनेटमा निर्णायक गोल गर्दै जावलाखेलका हिसुब थपलियाले टोलीलाई जित दिलाए साथै ‘म्यान अफ दी म्याच’ पनि घोषित भए । उनले १० हजार पुरस्कारसमेत पाए ।
अब जाउलाखेलले आगामी १५ गते हुने क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।
सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगितामा भुटानको पारो एफसी, साबिक विजेता संकटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मर्स्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्री स्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता छ ।
प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार प्राप्त गर्ने छ ।
प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही २०–२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई ३०–३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई ५०–५० हजार प्रदान गरिने जनाइएको छ ।
२३ वर्ष देखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने सहारा क्लब पोखराले जनाएको छ ।
प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।
www.khabardainik.com
Discussion about this post