५ साउन, २०८० l शुक्रबार
अमेरिकाको मेजर लिग सकर क्लबसँग अनु्बन्धित चर्चित फुटबलर लियोनल मेस्सीले पहिलो खेल जुलाई २१ अर्थात् आज शुक्रबार मेक्सिक्न क्लब क्रुज अजुल बिरुद्ध खेल्ने भएका छन् ।
फ्रान्सेली क्लब पीएसजी छाडेपछि इन्टर मायामीमा आवद्ध भएका विश्वकप विजेता मेस्सीले पहिलोपटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । साउदी अरबियन क्लब अल–हिलालले आकर्षक प्रस्ताव गरेता पनि मेस्सीले अमेरिकी क्लब छनौट गरे ।
एमएसएलको उद्घाटन खेलमा मेस्सी सम्मिलित इन्टर मायामीले मेक्सिकन क्लब क्रुज अजुलविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सोही खेलमा मेस्सीले अमेरिकी लिगमा डेब्यु गर्ने भएका हुन् ।
मेस्सी अमेरिका आउने भएपछि उनको स्वागतका लागि ईन्टर मायामीको जर्सी लगाएर फ्यानहरू डीआरभी पीएनके स्टेडियममा दैनिक उपस्थित भइरहेका छन् । उनीहरू मेस्सीलाई घरेलु मैदानमा स्वागत गर्न निकै आतुर छन् ।
भव्य स्वागतका लागि मायामीको विनवुडमा मेस्सीको ठूलो भित्ते चित्र बनाइएको छ । यसलाई विश्वचर्चित चित्रकार म्याक्सिमिलियानो बागनास्कोले बनाएका हुन् । मेस्सीले साढे दुई वर्षका लागि मायामीसँग सम्झौता गरेका छन् । उनले त्यहाँ प्रतिवर्ष ५० मिलियन अमेरिकी डलरदेखि ६० मिलियन अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।
आफूले निकै लामो समय बिताएको स्पेनिस क्लब बार्सिलोना छाडेर अमेरिकी व्यवसायीक लिग खेल्न इन्टर मियामीमा आबद्ध भएका ३६ वर्षीय मेस्सीको खेल हेर्न उनको क्लबका समर्थकमात्र होइन, अमेरिकी फुटबल पारखीहरु पनि उत्तिकै ब्यग्र प्रतीक्षामा देखिएका छन् ।
त्यसैले मेस्सीले ‘डेब्यू’ गर्ने भनिएको खेलको टिकटको मूल्य पनि आकासिएको छ । मेस्सीलाई नै पछ्याउँदै इन्टर मियामी पुगेका बार्सिलोनाका पूर्वखेलाडी सर्जियो बुस्केट्स र जोडी अल्बाबीचको तालमेल हेर्न पनि समर्थकहरु आतुर देखिएका छन् ।
त्यसमाथि अहिले इन्टर मियामीका प्रशिक्षक जेरार्ड मार्टिनो पनि बार्सिलोनाकै पूर्वप्रशिक्षक हुन् । प्रशिक्षक मार्टिनोले गत जुनमा इन्टर मियामीमा फिल नेभिलको स्थान लिएका हुन् । बार्सिलोनाका पूर्वप्रशिक्षक र खेलाडीहरुको बलियो उपस्थितिले अमेरिकी फुटबल पारखीसँगै इन्टर मियामीलाई पनि उत्साही बनाएको छ
Discussion about this post