२०८० असार १७ आइतबार
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२ः ४५ मा सुरु हुनेछ ।
एसोसिएट यी दुई चर्चित टोलीबीचको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
नेपाल युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न चाहन्छ । तर लगातार नेपालसँगको हारले टोलीमा व्यापक परिवर्तन गरेको युएईलाई विदेशी भूमिमा हराउन यो पटक सहज हुने छैन ।
युएईले अभ्यास खेलमा नेपाललाई ३ विकेटले हराएको थियो । पछिल्लो समय युएई नेपालसँग लगातार पराजित हुँदै आएको छ । त्यसैको कारण टोलीमा युवा खेलाडीलाई बढी महत्व दिँदै विश्वकप छनोट खेल्न पुगेको थियो ।
नेपाल र युएईबीच कुल १४ खेल भएको छ । जसमा नेपाल ८ मा विजयी र ६ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा नेपाल ४ खेलमा विजयी भएको छ ।
Discussion about this post