मंगलबार, असार ५, २०८०
भीम सार्की र दीपेन्द्रसिंह ऐरी को उत्कृष्ट प्रदर्शनका कारण नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा अमेरिकालाई ६ विकेटले जितेको छ ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनाएको थियो । नेपालको प्रतिस्पर्धात्मक जितमा तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले महत्त्वपूर्ण योगदान गरे । उनले अविजित ७७ रन बनाए । लामो समय क्रिजमा टिकेका भीमले एक सय १४ बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरे ।
नेपालका बलर करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए । करणले नौ ओभरमा तीन मेडन राख्दै ३३ रन खर्चिए । गुल्सनले १० ओभरमा ५२ रन खर्चिए । दीपेन्द्रले पाँच ओभरमा १५ रन दिएका थिए । ललितले भने १० ओभरमा केवल २० रन खर्चिएका थिए । अमेरिकाविरुद्घ नेपालले सातजना बलर प्रयोग गरेको थियो । सन्दीप लामिछाने, आरिफ शेख र कुशल मल्लले भने विकेट लिन सकेनन् ।
यो जितसँगै नेपालले सुपर ६ मा पुग्ने सम्भावना कायम राखेको छ। पहिलो खेल जिम्बावेसँग हारेको नेपाललाई दोस्रो खेल जित्नैपर्ने चुनौती थियो।
Discussion about this post